लहानको मेयरमा चुनाव लड्ने सरिता गिरीको घोषणा


appharu

५ श्रावण २०७८, मंगलवार १८:३० मा प्रकाशित

जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा)की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लहानको मेयरमा चुनाव लड्ने घोषणा गरेकी हुन् । लहानका वर्तमान मेयर मुनी साहबाट जनता पीडित रहेको भन्दै उनको अधिनायकवादलाई जनताले परास्त गर्ने उल्लेख गरेकी छन् ।

उनले अब ५ वर्ष स्थानीय स्तरमा जनताको सेवा गर्ने उल्लेख गर्दै आजको दिनदेखि सहयोग र सम्पर्कका लागि सबैमा अपिल गरेकी छन् । स्थानीय स्तरमा लोकतन्त्र र पारदर्शिता नभइ सबैको विकास हुन नसक्ने उनको भनाइ छ ।

नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएको आरोप लगाउँदै जसपाले गिरीलाई साँसद र पार्टीबाट समेत हटाएको थियो । उनी मेयरमा लड्ने घोषणा गरेपनि स्वतन्त्र कि अन्य कुनै पार्टीबाट भन्ने विषयमा केही उल्लेख गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्