जसपाको आधिकारिकता उपेन्द्र–बाबुराम पक्षलाई

५१ जनाको कार्यकारिणी समितिमा ठाकुर पक्षमा १६ जना मात्र, ठाकुर पक्षका सांसदको पद धरापमा


appharu

११ श्रावण २०७८, सोमबार १३:२० मा प्रकाशित

पालिका पत्र, काठमाडौं ।
जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले पाउने निश्चित भएको छ ।

पार्टीमा विवाद बढेपछि पार्टी आधिकारिकताको दावी गर्दै उपेन्द्र–बाबुराम पक्ष निर्वाचन आयोग पुगेको पुगेको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिको हेड काउन्टमा वहुमत पु¥याउने पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो ।

सोही अनुसार जसपाको आधिकारिकता उपेन्द्र–बाबुराम पक्षलाई दिनुपर्ने पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् ।

यसअघि महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका नेताहरु राजकिशोर यादव, मनिष सुमन र गोविन्द चौधरीले उक्त समूह छोडेर उपेन्द्र–बाबुरामको पक्षमा हस्ताक्षर गरेका छन् ।

यस्तै जेलमा रहेका रेशम चौधरी तटस्थ बसेका छन् । महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।


५१ जना केन्द्रीय कार्यकारिणी सदस्य मध्ये २६ जनाले वहुमत पुगेर आधिकारिकता पाउने भएपनि त्यो भन्दा धेरै ३४ जना – दुई तिहाई कार्यकारिणी सदस्य उपेन्द्र–बाबुरामको पक्षमा उभिएका छन् ।

निर्वाचन आयोगले आजै आधिकारिकताको औपचारिक निर्णय जानकारी गराउने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । २६ जना भए वहुमत पुग्ने र आधिकारिकता पाउने अवस्था हो, ३४ जनाको हस्ताक्षर सनाखत भइसकेकाले उपेन्द्र–बाबुराम पक्षले आधिकारिकता पाउने निश्चित भइसकेको श्रेष्ठले बताए ।

ठाकुर पक्ष हेड काउन्ट रोक्न माग गर्दै सर्वोच्च गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएन, र छलफल गर्न १५ गते दुबै पक्षलाई बोलाएको छ । ठाकुर पक्षले साउन १५ पछि के गर्ने भन्ने टुंगो लगाउने सो समूहका नेता जितेन्द्र सोनलले बताए ।
आफ्नो पक्षले आधिकारिकता सुनिश्चित भएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ । निर्वाचन आयोगले यादवलाई आधिकारिकता दियो भने ठाकुरलाई अर्को दल दर्ता गर्ने मौका दिन्छ । तर, ४० प्रतिशत पुगेन भने सांसद पद धरापमा पर्ने अवस्था हुन्छ र ठाकुर अझ कमजोर हुन्छन् । जसपाका ३२ सांसदमध्ये १९ जना यादव पक्षमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्