वैशाखमै निर्वाचन गर्न सत्ता गठबन्धन सहमत


appharu

५ माघ २०७८, बुधबार ०८:५५ मा प्रकाशित

काठमाडौं ।
सत्ता गठबन्धनका दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बसेको बैठकमा गठबन्धनका पाँचै दल समयमै निर्वाचन गर्न सहमत भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार थप छलफल र निर्णयका लागि माघ ६ गते गठबन्धन समन्वय समितिको बैठक पुनः बस्नेछ ।

निर्वाचन आयोगले वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई कसरी सुनिश्चित गर्ने र समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भएको बताए ।

‘समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल केन्द्रित भएको छ । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुन्छ । संविधानमा जे व्यवस्था छ, सोही अनुसार नै स्थानीय तहको चुनाव हुन्छ,’ कार्कीले भने, ‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ, समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघीयतालाई मजबुत बनाउन सरकार प्रतिबद्ध छ ।’

संविधानमा भएको व्यवस्थाअनुसार आगामी वर्षको वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नको लागि माघ पहिलो साताभित्र निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले आग्रह गरेको थियो । निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि चुनावको मिति प्रस्ताव गर्दै मिति घोषणा गर्न सर्वदलीय बैठक राखेर आग्रह गरेको थियो ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार भएको छलफलमा संविधानको व्यवस्थाअनुसार नै तीनवटै तहको चुनाव गर्ने सहमति भएको थियो । प्रतिपक्षी दल नेकपा एमालेले भने सत्ता गठबन्धनले स्थानीय तहको चुनाव नगर्ने षड्यन्त्र गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्