तुल्सीपुरका मेयरका छोरामाथि डेढ करोड ठगीको मुद्दा


appharu

१७ माघ २०७८, सोमबार ०९:११ मा प्रकाशित

दाङ ।
दाङका एकजना निर्माण व्यवसायीमाथि झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरीमा परेको छ । घोराही९१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोड बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

उनले घोराही तुलसीपुर फोरलेन सडकमा आफ्ना टिपर लगाएकाले त्यसको भाडा र इन्धनबापतको रकम १ करोड ४४ लाख रूपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध ठगी मुद्दामा जाहेरी दिएको बताए ।

तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा अनुप फोरलेनका ठेकेदार पनि हुन । तथ्य इन्जिनियरिङले जिम्मा लिएको फोरलेनको नेपालको मुख्य व्यक्ति पाण्डे नै रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय दाङले पाण्डेविरुद्ध ठगीमा जाहेरी आएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले पाण्डेविरुद्ध पीडित व्यवसायीबाट जाहेरी आएको र जाहेरी दर्ता हुने बताए ।

उनले अन्य व्यवसायीहरूबाट पनि पाण्डेसहित मुख्य ठेकेदारविरुद्ध जाहेरी आउनेक्रममा रहेको जानकाररी दिए । उनले अदालतबाट पक्राउ पुर्जी आउनासाथ पक्राउ गरेर कानुनी दायरामा ल्याइने पनि बताए ।त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङले पनि पाण्डेविरुद्ध प्रशासनमा दैनिकजसो उजुरी आइरहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले मजदुरदेखि व्यवसायीले पैसा नपाएको गुनासोसहित उजुरी आइरहेको र उजुरी संकलनपछि कानुनी दायरामा जाने बताइन् । उनले पाण्डेविरुद्ध उजुरीको प्रशासनमा चाङ नै रहेको बताइन् । मुख्य ठेकेदार भने भारतीय कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्