तिलोत्तमा-५ सुशासनयुक्त र सहज सेवाको नमूना वडाः जनप्रतिनिधि


appharu

२२ माघ २०७८, शनिबार ०९:५१ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा ।
साविक आनन्दवन गाविसका वडा नं ३, ४ र ५ मिलेर बनेको तिलोत्तमा नगरपालिकाको वडा नंं ५ नगरपालिकाकै मुख्य व्यवसायिक केन्द्र पनि हो । करिब ९ हजार जनसंख्या, ८ वटा टोल विकास संस्था रहेको यो वडामा बाहुन, क्षेत्री, थारु, दलित, दशनामी गुरुङ, मगर आदि समुदायको बसोबास छ ।

यहाँसरस्वतीपाञ्चायन मन्दिर, शिवालय मन्दिर, ब्रम्हकुमारी विश्वविद्यालयको शाखा, राधा स्वामी सत्संग, ओम साईराम र चर्च जस्ता धार्मिक सम्पदा पनि छन् ।

मणिग्राम बजारको व्यवसायिक केन्द्रसंगै यो वडामा फ्लोर मिल,दाल, खाद्यान्न, चिउरा, प्लास्टिक, गार्मेन्ट, पाइप आदि उद्योग सञ्चालनमा छन् । स्थानीय जनप्रतिनिधिले कार्यकाल पुरा गर्नै लाग्दा यो ५ वर्षमा के के काम भए भन्ने विषयमा हामीले जनप्रतिनिधिसंग कुराकानी गरेका छौं । हेरौं, उहांहरुको भनाई ।

चेतनारायण भण्डारीः वडा अध्यक्ष
हामीले चुनावी घोषणापत्रमा गरेका प्रतिवद्धता अनुसार वडालाई सुशासनयुक्त वडा बनाउने वाचा गरेका थियौं । त्यसको करिब ९० प्रतिशत सूचक पूरा गरेका छौं । वडाबाट हुने सेवा प्रवाहलाई पारदर्शी ढंगले काम नरोकी तुरुन्तै सेवा दिएर नगरका अन्य १६ वडा भन्दा सबैभन्दा बढी सुशासनयुक्त वडा बनाएका छौं । यस्तै वडालाई हरियालीयुुक्त, स्वच्छ, सरसफाइयुक्त बनाउन पनि हामीले महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । फोहोर व्यवस्थापन, विद्युत, खानेपानी, भत्केको सडक मर्मत, सडक ग्राभेल र नहरहरु पक्की बनाउने काममा पनि हामी अरु वडा भन्दा अगाडि छौं । जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा सुविधा दिने,सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने काममा पनि हामी अगाडि रह्यौं । विद्यालयहरुको नियमित अनुगमन, विद्यालयको भौतिक पुर्वाधार निर्माण र आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरी सञ्चालनमा लयाउन पनि हामी सफल भयौं ।
वडावासीलाई ६० देखि ८० प्रतिशत छुटमा फलफूलका बिरुवा वितरण ग¥यौं । कृषि, बिउ र दुधमा अनुदानको व्यवस्था ग¥यौं जसले किसान र पशुपालकहरुलाई राहत पुगेको छ ।

हामी आएपछि वडामा ५ किलोमिटर सडक कालोपत्रे, ८ किलोमिटर मर्मत, १० किमी ग्राभेल र ५०० मिटर सिंचाई कुलो स्तरोन्नति ग¥यौं । विद्युतको सहज आपुर्तिमा पनि पहल ग¥यौं । वडावासीलाई सहजरुपमा सेवा दिएर, करदातालाई खुशी बनाएर कर तिर्नु नागरिकको कर्तव्य हो भन्ने बोध गराएका छौं । समग्रमा चुनावी प्रतिवद्धता ७० देखि ७५ प्रतिशत पूरा ग¥यौं । वजेट अभावमा बांकी पुरा हुन सकेनन् ।

सेवाग्राहीलाई धेरै सहज र छिटोछरितो सेवा प्रवाह गरी सिंहदरबार गाउँगाउँमा भन्ने नारालाई पूर्ण कार्यान्वयन गरेका छौं । कोभिड नियन्त्रणमा रात दिन नभनी काम ग¥यौं । वडावासीको स्वास्थ्य नै सबैभन्दा ठूलो ठान्यौं । घरदैलो पुरेर समस्या बुझ्यौं । अस्पताल लैजाने, अक्सिजन, बेड मिलाउने । आइसोलेसन सञ्चालन । विपन्नलाई राहत दिनेदेखि खोप शिविर चलायौं । स्थानीय तहको निर्वाचनपछि वडामा ४ सय ५६ व्यवसायिक प्रतिष्ठान नयां दर्ता भएका छन् । पांच वर्षे कार्यकालबाट पाठ सिकेर आउँदा दिनमा वडावासी र नगरवासीका लागि अझ धेरै समर्पित भएर काम गर्ने संकल्प गरेको छु ।

गायत्री पाण्डेः वडा सदस्य
पांच वर्षे कार्यकालमा वडाले जनचेतना र महिलालाई तालिममार्फत महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम गरेका छौं ।

सुमन नेपालीः वडा सदस्य
आफ्नो कार्यकालमा दलितहरुलाई राजनीतिक पहुंचमा ल्याउन, चुलो चौकोबाट बाहिर ल्याउन, उद्यमी र आत्मनिर्भर बनाउन भूमिका खेल्ने कामसंगै दलित अधिकार स्थापित गर्ने सवालमा धेरै कामहरु वडाबाट भए ।

हरि पौडेलः वडा सदस्य
चुनावी प्रतिवद्धता अनुसार इमान्दारीपूर्वक काम गरेका छौं । कार्यालय व्यवस्थापन, सेवाग्राहीलाई सहजरुपमा सेवा दियौं । कार्यालय समयमा जनप्रतिनिधि सधै उपस्थित भएर सेवा दियौं । कहिल्यै जनप्रतिनिधि कार्यालय समयमा नभएर काम नभएको भन्ने गुनासो आउन दिएनौं । खेलकुदमा पनि सक्दो काम ग¥यौ । दलीय घेराभन्दा माथि उठेर साझा भावनाले काम ग¥यौं । कसैप्रति भेदभाव गरेनौं । समाजसेवाका रुपमा काम ग¥यौं । यति हुँदाहुँदै पनि नगरपालिकाले वडालाई दिने वजेट अपुग हुंदो रहेछ, केन्द्रसम्म पहुंच स्थापित गर्न सक्नुपर्दोरहेछ । आगामी दिनमा यो कुरालाई पनि मनन् गरेर वडाको विकासमा क्रियाशील हुनेछौं ।

दिलप्रसाद तिवारीः वडावासी
जनप्रतिनिधि आएपछि वडा कार्यालयबाट धेरै सहजरुपमा सेवा पाइयो । कर्मचारीको शासनकालमा जनताको समस्या बुझ्नु भन्दा प्रकृयामा अल्झाउने र टार्ने, समयमा काम नगरिदिने र दुख दिने प्रवृत्ति थियो अहिले जनप्रतिनिधिले ब्यवहारिकता हेरेर समस्या बुझेर काम गरिदिएको छन् ।

सांच्चिकै गाउँगाउँमा सिंह दरबार आएको जस्तो अनुभूति भएको छ । कतिपय स्थानीय तहका जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएको र बद्नाम भएको समाचार पनि आइरहेका छन्, तर हाम्रो वडामा त्यस्तो सुन्नुपरेको छैन ।

प्रतिक्रिया दिनुहोस्