स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दल दर्ता


appharu

22 February, 2022 12:14 pm मा प्रकाशित

काठमाडौं ।
स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका हुन् ।

नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनअनुरूप आयोगमा नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टीसहित आयोगमा हालसम्म दर्ता भएका राजनीतिक दलको संख्या १०९ पुगेको छ ।

मतदाता नामावली संकलन अन्तिम तथा मतदाता नामावाली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सूचना सम्पादनका लागि आइतवार पठाइएको आयोगद्वारा सोमवार आयोजित पत्रकार भेटघाटमा सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक कार्यअन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटि भए सच्याउन वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसअघि मतदाता परिचयपत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचय पत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा फागुन २० गतेभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आयोगले प्रतिस्पर्धात्मक आधारमा २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि आइतवार बोलपत्र सम्बन्धी सूचना प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्