नेकपा (एस) बाट शुक्लाफाँटाको मेयरमा माधव पन्त उम्मेद्वार


appharu

२५ चैत्र २०७८, शुक्रबार २०:०१ मा प्रकाशित

कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा माधव पन्तले उम्मेद्वारी दिनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) को नगर कमिटी बैठकले पन्तलाई सर्वसम्मत मेयर पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो । नगर कमिटीको सर्वसम्मत निर्णयसंगै पन्त शुक्लाफाँटाको उम्मेद्वार बन्न सफल हुनुभएको उक्त पार्टीले जनाएको छ ।

अनेरास्ववियूका केन्द्रीय कमिटी उपाध्यक्ष समेत रहनुभएका पन्त एकीकृत समाजवादीको सुदुरपश्चिम प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।

पढाईमा पिएची गर्दै गर्नुभएका पन्तले अंग्रेजी विषयमा एमफिल गर्नुभएको छ । राम्रो वाक कला रहेको पन्त पार्टी भित्रको बैचारिक युवा नेतामा पर्नुहुन्छ । शुक्लाफाँटा नगरबासी रहनुभएका पन्त अनेरास्ववियूबाट राजनीतिमा उदाउनुभएको हो । कञ्चनपुर जिल्लाको अनेरास्ववियू अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको अध्यक्ष हुँदै उहाँ संगठनको केन्द्रीय उपाध्यक्ष रहि काम गरिरहनुभएको छ ।

नगरबासीको माया र सद्भावले आफु पार्टीबाट सर्वसम्मत रुपमा मेयर पदको उम्मेद्वार बनेको उहाँले मायादेवी अनलाइनलाई बताउनुभयो । युवाको माग र नगरबासीको चाहना अनुसार आफु मेयरको उम्मेद्वार रहेको भन्दै नेता पन्तले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

विभिन्न सम्भावनाले भरिपूर्ण शुक्लाफाँटा नगरको विकासका लागि आफु मेयर पदको उम्मेदवार रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । केही दिनमै नगरको घोषणापत्र जारी गरि चुनावी अभियान घरघरसम्म लैजाने उहाँले जनाउनुभयो ।

बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि पार्टीको शुक्लाफाँटा नगर कमिटीले झलारीस्थित पार्टी कार्यालयमो निर्वाचनका सम्बन्धमा विगतको समीक्षा र भावी रणनीतिका विषयमा छलफल गरेको थियो ।

सोही छलफल क्रममा आसन्न निर्वाचनमा पार्टीका युवा नेता पन्तलाई शुक्लाफाँटाको मेयरको उम्मेदवार बनाउँदा पार्टीले एक्लै पनि निर्वाचन जित्ने आकंलन गरिएको नगर कमिटी अध्यक्ष हरिश विष्टले बताउनुभयो ।

केन्द्रमा भएको सत्ता गठबन्धन अनुसार आगामी निर्वाचनमा सहकार्य गर्ने तर समानताको आधारमा मात्रै गठबन्धन अगाडि बढाइने नेताहरुले तर्क राखेका छन् । सहभागीमध्ये अधिकांश नेताले समाजवादी एक्लैले निर्वाचन जित्नेमा ढुक्क रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्