तिलोत्तमा ५ को वडा अध्यक्षमा हरि पौडेलको दावेदारी

एमालेबाटै ५जना आकांक्षी


appharu

२७ चैत्र २०७८, आईतवार १०:२१ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं ५ को वडा अध्यक्षमा एमालेबाटै आधा दर्जन बढी आकांक्षी देखिएका छन् । हालका वडा अध्यक्ष चेतनारायण भण्डारीले अहिले एमाले विरुद्ध ५ दलको गठबन्धन भएकाले चुनावी परिस्थिति कठीन भएकाले आफू सर्वसम्मत सिफारिस भए मात्र उम्मेदवार हुने बताएका छन् । वडा सदस्य हरि पौडेलले भने ५ दलको गठबन्धन भएपनि आफूले चुनाव जित्ने दावी सहित अध्यक्षमा उम्मेदवार हुने बताएका छन् ।

‘म युवा पुस्तादेखि पाको पुस्तासम्मको भावनालाई समेटेर अघि बढ्न सक्ने भएकाले पार्टीले टिकट दिए एमालेलाई जिताउंछु भन्ने विश्वासका साथ वडा अध्यक्षमा दावी गरेको छु’– पौडेलले भने–‘ वडा पार्टीले उचित निर्णय गर्नेछ भनेर प्रतीक्षा गरेको छु ।’ वडा अध्यक्षमा एमालेबाटै वडा सदस्य गायत्री पाण्डेलेले पनि आकांक्षा व्यक्त गरेकी छन् ।

यस्तै एमालेबाटै कृष्ण भट्टराई, मनिष भट्टराई पनि वडा अध्यक्षका आकांक्षी छन् । यस्तै नेपाली कांग्रेसबाट अघिल्लो निर्वाचनमा चेतनारायण भण्डारीसंग पराजित रमेश डुम्रे उम्मेदवार बन्ने भएका छन् ।

माओवादी केन्द्रबाट डायमण्ड गिरीको नाम चर्चामा छ । नेकपा (एकीकृत समाजवादी), जसपा, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलका उम्मेदवारका आकांक्षीले भने अझै मुख खोलेका छैनन् । तिलोत्तमा ५ नगरपालिकाको प्रमुख व्यवसायिक केन्द्र मणिग्राम क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्