कांग्रेसबाट वाणगंगाको मेयरमा भुसाल आकांक्षी


appharu

२७ चैत्र २०७८, आईतवार ११:१६ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
नेपाली कांग्रेसका वाणगंगा नगर उपसभापति रमेशचन्द्र भुसालले मेयरमा आकांक्षीको संकेत दिनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक सन्देश लेख्दै नेता भुसालले वाणगंगा नगरको नेतृत्व गर्ने आकांक्षा देखाउनुभएको हो ।

आगामी बैशाख ३० गते देशैभर स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसको लागि पार्टीहरु आफ्ना उम्मेदवार चयन गर्ने शिलशिलामा छन् ।

कपिलवस्तु कांग्रेसले पनि अब १० वटै पालिकामा उम्मेदवारहरुको छिनोफानो गर्ने तयारी गरिरहेको छ । यसै सन्दर्भमा वाणगंगा नगरपालिकामा कांग्रेस भित्रबाट विभिन्न व्यक्तिहरुको मेयरमा चर्चा हुन थाल्दा भुसाल सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘समृद्ध, जनमुखी, सुरक्षित र सुशासनयुक्त बाणगंगा नगरको परिकल्पना गरीरहेको छु । युवा र वायुमा समान २ शब्दहरू छन्, युवाले वायु जतिकै तेज रफ्तारमा नगरलाई गति दिन सक्ने ठम्माईको प्रतीक्षामा बाणगंगा नगर छ भन्न सकिन्छ ।’

यसको आशय कांग्रेस भित्र भुसाल पनि मेयरका आकांक्षी हुनुहुन्छ भन्ने बुझिन्छ । कांग्रेसले उम्मेदवार चयन गर्दा युवालाई प्राथमिकता दिनुपर्छ भन्ने आशयसहितको स्टाटस भुसालले लेखेपछि उहाँ अप्रत्यक्ष रुपमा उम्मेदवार हुन इच्छुक हो भन्ने बुझ्न सकिन्छ ।

पालिकापत्र संगको कुराकानीमा पार्टीले अब युवाको भावना बुझ्नु पर्ने बताउनुभयो । भुसालसंगै वाणगंगामा मेयरको चर्चामा मंगल प्रसाद थारु, ध्रुव नेपाल,बिष्णु थापा, सुर्य बराल, डोलकराम घिमिरे, गशेण बहादुर क्षेत्री चर्चामा हुनुहुन्छ भने अरु केही नेताले पनि कांग्रेस भित्र आकांक्षा देखाउनुभएको छ ।

यद्यपि पार्टीले कसलाई टिकट दिन्छ त्यो भने प्रतिक्षाको विषय छ । आफुलाई मेयरको टिकट दिए सजिलै नेतृत्व गर्न समक्ष रहेको उहाँले बताउनुभयो ।

भुसाल कोरोना कहरका बीच वाणगंगा नगरपालिकाले गरेको कार्य विरुद्ध असन्तृष्टि जनाउँदै चर्चामा आउनुभएका पात्र हुनुहुन्छ । वाणगंगाको आइसोलेसन स्थलमा गएर व्यवस्थापकीय कमजोरीको बारेमा फेसबुक लाइभ गरेपछि जनसमर्थन बटुल्नुभएको थियो ।

तर नगरपालिकाले भने आफ्नो कमजोरी लुकाउँदै उहाँ विरुद्ध नगरपालिकाले विज्ञप्ति नै निकाल्नु परेको थियो ।
यस संगै जेसिज अभियान्ताको रुपमा पनि भुसाल चिनिनु हुन्छ । उहाँ जेसिजको कार्यकारिणी राष्ट्रिय उपाध्यक्ष भैसक्नुभएको छ भने हाल लायन्स क्लब अफ वाणगंगाको अध्यक्ष हुनुहुन्छ ।

यस्तै सामाजिक संघ संस्था र व्यवसायमा पनि उहाँको संलग्नता छ । अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ सिद्धार्थ क्याम्पसमा उप प्रध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँको स्थायी घर वाणगंगा नै हो ।

प्रतिक्रिया दिनुहोस्