कपिलवस्तु बाणगंगाको मेयरमा काँग्रेसभित्र ध्रुव नेपाल बलियो उम्मेदवार


appharu

२८ चैत्र २०७८, सोमबार १५:४१ मा प्रकाशित

पालिकापत्र वाणगंगा ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाको नगर प्रमुख ९मेयर० मा काँग्रेसमा तिन जनाको नाम चर्चामा छ । पार्टीले उम्मेदवारको टुङ्गो नलगाए पनि बाहिर नगर प्रमुख मंगल प्रसाद थारु, वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री र व्यवसायी तथा समाजसेवी ध्रुव नेपालमध्येबाट एक जना मेयरमा उठ्ने पक्का छ ।
अन्य केही युवा नेताले पनि मेयरमा आकांक्षा देखाए पनि चर्चामा आएका यी तिन जनामध्ये एक जनालाई पार्टीले मेयरको टिकट दिने विश्वसनीय श्रोतले मायादेवी अनलाइनलाई जानकारी दियो । यी तिन जनामध्ये अहिले मेयरमा ध्रुव नेपालले नै टिकट पाउने सम्भावना रहेको सो विश्वसनीय श्रोतले बतायो । एमालेको पनि पकड रहेको यस नगरको मेयर पदमा टिकट पाउने प्रबल सम्भावनामा रहेका ध्रुव नेपाल को हुन् त ?

परिचय र पृष्ठभूमि

ध्रुव नेपालको स्थायी घर वाणगंगाको वडा नम्बर ११ चेतियामा पर्दछ भने वडा नम्बर १० को पटनामा पनि उहाँको घर छ । उमेरले ५४ बर्ष पुग्नु भएका ध्रुव नेपाल त्यहाँका पुराना बासिन्दा मानिनुहुन्छ । पढेलेखेको र शिक्षित व्यक्तिमा पर्ने उहाँको अहिलेसम्मको छवि सहयोगी र इमान्दार छ ।

उहाँले पृथ्वी नारायण क्याम्पस पोखराबाट ब्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको थियो । लामो समय काठमाण्डौँ, पोखरा लगायतमा ब्यवसायिक, सामाजिक र मानवीय कार्यमा लाग्नु भएका उहाँ अहिले हेमराज मावि हथौसाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । ओदारीमा उहाँकै ठुलो लगानीमा पाइपहरु उत्पाद गर्ने नेपाल ब्रदर्स इण्ड्रष्टिज पनि संचालित छ । बिभिन्न युवा क्लव, सामाजिक संघसंस्थालाई आर्थिक लगायतको सहयोग गर्दै आउनु भएका उहाँ निर्माण ब्यवसायीको रुपमा पनि चिनिनुहुन्छ । पोखरामा हुँदा उहाँ निर्माण ब्यवसायीको नेता हुनुहुन्थ्यो ।

उहाँको पारिवारिक पृष्ठभूमि पनि काँग्रेसमय नै छ । बुबा कृष्ण प्रसाद नेपाल पाल्पामा पंचायतमा उप-सभापतिको उम्मेदवार हुनुहुन्थ्यो भने दाजु भरत नेपाल हथौसाको पहिलो गाविस सभापति बन्नुभएको थियो । पहिलेदेखि बुबा, दाजु, ठुलोबुबा, दाजु रमेश नेपाल काँग्रेसको राजनीतिमा जन्मे, हुर्केको हुनाले आफ्नो आस्था पनि पहिलेदेखि नै काँग्रेसमा रहेको उहाँले बताउनु भयो ।

यस्तो छ जित्ने आधार

बाहिर त्यति चर्चामा नआए पनि पार्टीभित्र भने ध्रुव नेपाल पुरानो र चर्चित नाम हो । पार्टीभित्र पनि उहाँ प्रख्यात र सबैको प्रिय मानिनुहुन्छ । पार्टीमा जुनसुकै गुट भए पनि सबै नेताले उहाँलाई मान्ने गर्दछन् । पछिल्लो १० बर्ष कपिलवस्तुमा सक्रिय राजनीतिमा देखिनु भएका नेपाल यस अगाडी काँग्रेसको मनोनित जिल्ला सदस्य हुनुहुन्थ्यो भने अहिले पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

ध्रुव नेपालको वडा नम्बर ११ र १० मा राम्रो पकड छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मंगल प्रसाद थारुले जित हासिल गर्दा थारु समुदायको मत निर्णायक थियो । अधिकांस थारु समुदाय पनि तिनै वडामा छन् । ध्रुव नेपाल भन्नुहुन्छ ‘यी वडाबाट मलाई थारु मत त मनग्यै आउँछ नै एमाले, माओवादी र अरु दलका साथीहरुले पनि सहयोग गर्नुहुने निश्चित छ । मंगल जिले जित्दा बटुलेको थारु समुदायको भावना मैले पनि समेट्न सक्छु । थारु मत पनि मेरो पक्षमा उहाँलाई जत्तिकै आउनेमा विश्वस्त छु । त्यसैले पार्टीले टिकट दिएको खण्डमा आफ्नो जित निश्चित भएको उहाँ सुनाउनुहुन्छ ।’

नेपालले नगरका अरु ९ वडामा पनि आफ्नो ब्यक्तिगत प्रभाव राम्रो भएकोले आफ्नो पक्षमा जनाधार भएको दावी गर्दै मत आउने दावी गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘नगरमा पार्टीको पकड राम्रो छ । त्यहीमाथि मैले टिकट पाए अरु पार्टीका जो आए पनि भारी मतान्तरले जित्छौँ ।’ पार्टीले टिकट नदिएको खण्डमा पनि आफू निरास भने नहुने उहाँको भनाई छ । ‘जो उठाए पनि पार्टीले सक्षम र जित्ने उम्मेदवार उठाउँदा म पनि खुसी हुन्छु’, उहाँले थप्नु भयो । यसअघिका निर्वाचनमा कपिलवस्तुका केही पालिका र वडामा काँग्रेसले हार्दा अन्तरघात भएको थियो । त्यस्तो खालको अन्तरघात आफ्नो पक्षमा कोही कसैबट नहुने उहाँले बताउनु भयो । अन्तरमुखी स्वभावका उहाँले अबका नेताले कुराभन्दा काम गर्नुपर्ने बताउनु हुन्छ ।

काँग्रेसका जिल्ला सदस्य रवि बहादुर काफ्लेले पनि आर्थिक रुपमा सबल, ब्यक्तिक रुपमा दागरहित र भिजन भएको नेतालाई पार्टीले उम्मेदवार बनाउनु पर्ने भन्दै नेपालको समर्थन गर्नुहुन्छ । तर पार्टी भने कसलाई टिकट दिनेमा अझै निर्णयमा पुगेको छैन । पार्टीले टिकट दिएमा बाणगंगाको विकास निर्माण, भौतिक पूर्वाधार, स्वास्थ्य शिक्षा, बासस्थानको ब्यवस्थापन, रोजगारी सिर्जना, अव्यवस्थित र सुकुम्बासी समस्या समाधानमा उलेख्य काम गर्ने उहाँले बताउनु भयो । बाणगंगाको मेयरमा एमालेबाट झविलाल पोख्रेल, चक्र अर्याल, जंजिर प्रसार चौधरी, कृष्ण पौडेलको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्