यी हुन् एमाले वाणगंगाबाट मेयरका प्रमुख दावेदार


appharu

२८ चैत्र २०७८, सोमबार १५:४६ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
आसन्न बैशाख ३० को स्थानीय निर्वाचन नजिकिदै जादा एमाले वाणगंगामा मेयरको चर्चा चुलिन थालेको छ । कपिलवस्तुमा सबैभन्दा बढी मतदाता रहेको वाणगंगामा एमालेले उठाउने मेयरको चर्चा चलिरहदा उक्त पार्टीका आकांक्षीहरु पनि बढ्न थालेका छन् । कुनै पनि उम्मेद्वारले औपचारिक रुपमा मेयर पदको उम्मेदवारी सार्वजनिक नगरे पनि पार्टीका कार्यकर्ता माझ अनौपचारिक रुपमा इच्छा जायर गर्दै आएका छन् ।

आसन्न चुनावमा एमाले वाणगंगाबाट तीन नेता मेयर पदको प्रमुख दाबेदार मानिएका छन् । निवर्तमान एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मेयर पदमा उम्मेदवारी दिने बताइ रहदा हालका उप-मेयर समेत रहेका चक्र अर्याल पनि प्रमुख दाबेदारका रुपमा देखा परेका छन् ।

पोख्रेलले पार्टीका नेतालाई यस पालि आफु मेयरमा उठ्ने बताउँदै आएका छन् भने आफ्ना नजिकका कार्यकर्तालाई प्रष्ट रुपमा चुनावी प्रचार थाल्न निर्देशन दिएका छन् । लामो समय पार्टीको जिल्ला अध्यक्ष भएर काम गरेको र आम कार्यकर्ताको भावना अनुसार आफु वाणगंगाको मेयरमा उठ्ने पोख्रेलको भनाई छ ।

अध्यक्षमा वहाल रहदा कुनै पनि चुनावमा उम्मेदवार हुने खासै चासो नदेखाएका पोख्रेलले यस पालि वाणगंगाको मेयरमा उठ्न खोज्नुलाई विभिन्न कोणबाट हेरिएको छ । पटक पटक अरुलाई अवसर दिए पनि अब आफुले त्यो अवसर पाउनुपर्नेमा पोख्रेल देखिन्छन् ।

यता अर्याल भने ०७४ को निर्वाचनमा मेयर पदको प्रमुख दाबेदार हुँदा हुँदै उप-मेयरमा उठ्नु परेकाले यसपालिका मेयर हुनुपर्ने बताउँदै आएका छन् । वाणगंगामा मेयर पदमा पराजित भएपनि अर्याल उप मेयरमा विजयी भएका थिए ।

आफु उप-मेयर भएको कारण सोचे जस्तो काम गर्न नसकेको उनी स्विकार गर्छन् । मेयरबाट नै नगरको थुप्रै काम गर्न सकिने भन्दै उप-मेयरलाई काम भएन भनेर आरोप लगाउनु गलत हुने उनी बताउँछन् । आफुले पाएको जिम्मेवारीलाई भने कुशलता पूर्वक सम्पन्न गरेको उनको दाबी छ । एकपटक वाणगंगाको नेतृत्व गर्ने इच्छा रहेको भन्दै पार्टीले आफ्नो भावना बुझ्नेमा उनी ढुक्क छन् ।

पोख्रेल र अर्याल जस्तै वाणगंगाको मेयरमा अर्को प्रमुख दाबेदार जञ्जिर प्रसाद थारुको पनि छ । गएको चुनावमा पनि मेयरमा दाबी गरेका थारु यसपालि पार्टीले न्याय गर्नेमा उनी विश्वस्त छन् ।

विगतमा आफ्नो प्रमुख दाबेदारी मेयरमा हुँदा हुँदै पार्टीले अर्को निर्वाचनमा टिकट दिने शर्तमा छाडेको भन्दै यो पालि आफु प्रमुख दाबेदार भएको उनी बताउँछन् । वाणगंगामा थारु समुदायको बाहुल्यता रहेको कारण मेयरमा आफ्नो बलियो सम्भावना रहेको उनको तर्क छ । विगतमा भोगेको पराजयबाट पाठ सिक्दै पार्टीले उचित निर्णय गर्नेमा उनी ढुक्क छन् ।

यस्तै नगरको मेयरमा एमाले नेता कृष्ण प्रसाद पौडेलको पनि तीव्र इच्छा छ । पौडेल पनि मेयरमा आफु उठ्ने बताउँदै आएका छन् ।

पार्टी विभाजनको असर वाणगंगामा खासै नदेखिए पनि माओवादी केन्द्रका नेताहरु एमालेमा प्रवेश गरेपछि नगरमा चुनाव जित्नेमा एमाले ढुक्क देखिन्छ । यद्यपि एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले पछिल्लो समय वाणगंगामा उपस्थित दह्रो पार्दै लगेको छ । नेकपा एस ले वाणगंगामा नगर कमिटीसंगै ४ वटा वडामा वडा कमिटी समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्