एमालेबाट बुद्धभूमिको मेयरका आकांक्षी आधा दर्जन


appharu

५ बैशाख २०७९, सोमबार १०:०६ मा प्रकाशित

पालिकापत्र, बुद्धभूमि ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पदहरुमा उम्मेद्वारीको चाहना राख्ने होडबाजी नै चलेको छ ।

जतिजति चुनाव नजिकिदै छ, त्यति त्यति दलहरु उम्मेदवार चयन गर्न सकस देखिन्छन् । स्थानीय तहको नेतृत्व गर्ने आकांक्षीहरु सोचे भन्दा पनि बढी हुँदा दलहरुलाई उम्मेदवार चयन गर्न हम्मे हम्मे परेको हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पनि एमालेलाई त्यस्तै जटिलता देखिएको छ । विगतमा भएको ०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा एमाले बुद्धभूमिमा झिनो मतले पराजित भएको थियो । त्यो हारको पीडालाई जसरी पनि खुसीमा परिणत गर्दै बुद्धभूमिमा जित्नै पर्ने दबाबमा एमाले छ ।

०७४ सालमा एमालेले रुपेश कुमार श्रेष्ठलाई मेयरको रुपमा उठाएको थियो । ०५४ को स्थानीय निकायको निर्वाचनमा साविक बुड्ढी गाविसको अध्यक्ष भएर काम गरेका श्रेष्ठलाई एमालेले उम्मेदवार बनाए पनि १ सय ३७ मतले उनी कांग्रेस उम्मेदवार केशव कुमार श्रेष्ठसंग पराजित भएका थिए ।

त्यति बेला खाएको त्यो हालको बदला अहिलेको चुनावमा फेरि उठेर जित्ने गरि पूर्ती गर्न रुपेश कुमार श्रेष्ठ लागि गरेका छन् । त्यसैले श्रेष्ठ एमाले बुद्धभूमिका बलिया उम्मेदवार हुन् । पार्टी भित्र मेयरको दाबी गरेर जनताको बीचमा अघोषित रुपमा चुनावी प्रचारमा लागेका श्रेष्ठ टिकट पाउनेमा ढुक्क देखिन्छन् । आफु निकटकालाई श्रेष्ठले टिकट पाउनेमा आशावादी रहेको सुनाउँदै आएका छन् ।

जनता माझ लोकप्रिय हुँदा हुँदै ०७४ मा विभिन्न प्राविधिक कारण पराजय हुनुपरेको भन्दै यसपालि पार्टीले उम्मेदवार बनाएर न्याय गर्नेमा उनी विश्वस्त छन् । तत्कालिन नेकपा विभाजनका बेला बामदेव गौतमको कित्तामा उभिएका श्रेष्ठ अन्ततः एमालेमा फर्किएका थिए ।

बुद्धभूमिमा एमालेबाट मेयरका अर्का प्रमुख दाबेदार हुन् पिताम्बर खनाल । लामो समय एमालेको राजनीति गर्दैै आएका खनाल पार्टीको पूर्णकालिन नेता हुन् । कुनै पेशा, व्यवसायमा आवद्ध नरहेका खनाल पार्टी काममा निरन्तर खटिदै आएका छन् । हाल एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका खनाल एमाले जिल्लाका सिनियर नेतामा पर्छन् । गएको चुनावमा पनि मेयरको तीव्र आकांक्षा देखाएका खनाललाई पार्टीले टिकट दिएन् । पार्टीले टिकट नदिए पनि पार्टीका उम्मेदवारलाई विजयी बनाउन गाउँ गाउँ खटिएका थिए खनाल । यो पालि पार्टीले आफुलाई टिकट दिनेमा उनी विश्वस्त छन् । गोरुसिंगे निवासी खनालले यो चुनावमा आफुलाई उम्मेदवार बनाएर सघाउन सबै आकांक्षी उम्मेदवार समक्ष आग्रह गरेका छन् ।

यस्तै एमालेबाट टेकराज पौडेलले पनि मेयरको आकांक्षा देखाएका छन् । वडा नं। ४ निवासी पौडेलको बुद्धभूमि मेयरको चर्चा अघिल्लो बर्षबाटै चल्दै आएको हो । डिभी परेर अमेरिका पुगेका पौडेल दुई बर्ष अगाडि आफ्नै भूमिमा फर्किएका थिए । लामो समय कपिलवस्तुमा एमालेको राजनीति गरेका पौडेल १० बर्ष जति अमेरिका बसे । अमेरिकाको पीआर नै प्राप्त गरेका पौडेलले त्यसलाई परित्याग गरि नेपाल फर्किएका हुन् । आफ्नै जिल्लामा केही गर्ने सोच बनाएर नेपाल फर्केका पौडेल नेकपा मात्र होइन् एमाले भित्रको अन्तर संघर्षका बेला पनि केपी ओलीको कित्तालाई निरन्तर समर्थन गरेका थिए । जिल्लाभित्र ओली पक्षका कडा नेता मानिने पौडेल पनि आफुले टिकट पाउनेमा आशावादी छन् । लामो समय भूगोलको राजनीति गरेको र सिंगो नगरको रुपरेखा परिवर्तन गर्न सक्ने योजना रहकाले मेयरको आकांक्षा राखेको उनी बताउँछन् ।

एमालेबाट मेयरका अर्का दाबेदार हुन् कृष्ण भट्टराई । साविक जयनगर गाविसमा ०५४ सालमा चुनाव जितेर अध्यक्ष भएका भट्टराई नगर भित्र लोकप्रिय छन् । जनताको बीचमा तुरुन्त घुलमिल हुन सक्ने स्वभाव भएका भट्टराईले यो चुनावमा मेयरको तीव्र चाहना राखेका छन् । पार्टी भित्रको वातावरण मिलाउन सक्ने क्षमता आफुमा भएकाले स्थानीय तहको चुनाव स्वभाविक जित्ने उनी बताउँछन् । कुनै गुट उपगुटमा खुलेरै नलागेको कारण सबै पार्टी कार्यकर्ताको मन जितेको उनको दाबी छ । समग्र बुद्धभूमिको विकास र जनताको चाहना पूरा गर्ने उद्धेश्य अनुरुप आफुले मेयरको दाबी गरेको उनी बताउँछन् ।

यस्तै बुद्धभूमिबाट मिनराज बेल्वासे, राजेन्द्र सुवेदी लगायतका नेताले पनि मेयरमा दाबी गरेका छन् । सबैले विभिन्न नेतालाई सम्पर्क गरी आफ्नो पक्षमा टिकट लिन प्रयास गरिरहेका छन् । एमालेको विधानतः प्रदेश कमिटीले स्थानीय तहको प्रमुख, उप-प्रमुखमा टिकट बाड्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्