एमाले रुपन्देही ४ का क्षेत्रीय अध्यक्ष यादव सहित दुईदर्जन नेताले छाडे एमाले, मर्चवारमा रित्तियो एमाले


appharu

१० बैशाख २०७९, शनिबार १७:१२ मा प्रकाशित

पालिकापत्र
सम्मरीमाई । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पदबाट राजीनामा दिएका छन् । उनी स्थानीय तह निर्वाचनमा रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवारका आकांक्षी थिए । पार्टीले अन्यायपूर्ण व्यवहार गरेको, विधि, विधान, सिद्धान्त भन्दा बाहिर गएर उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको भन्दै यादवले पदबाट राजीनामा दिएको बताए ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी यादवले एमालेको साधारण सदस्य समेत नरहने गरी सबै पदबाट राजीनामा घोषणा गरेका हुन् । यादवसहित एमाले सम्मरीमाई र मर्चवारी गाउँपालिकाका २३ जना स्थानीय नेताले पनि सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा गाउँपालिकाका सहसचिव, सदस्यहरु, वडा कमिटी अध्यक्ष तथा सदस्यहरु, युवा संघका नेता तथा सदस्यहरु छन् । यादव एमाले रुपन्देही क्षेत्र नम्बर चारको इन्चार्ज समेत थिए ।

सम्मरीमाईमा एमालेबाट यादवसहित मुस्लिम खानको नाम गाउँपालिका अध्यक्ष उम्मेदवारका लागि जिल्ला कमिटीमा सिफारिस भएको थियो । तर, यादवको नाम हटाएर पूर्व कर्मचारीसमेत रहेका खानको नाम जिल्ला कमिटीले उम्मेदवारका लागि प्रदेश कमिटीमा सिफारिस गरेको यादवले बताए ।

‘म २०५४ सालदेखि पार्टीको क्रियाशील सदस्य भएर काम गर्दै आएको थिएँ, २५ वर्ष जुन पार्टीमा योगदान गरेँ, त्यो पार्टी छाड्दा आफैमा नरमाइलो लागेको छ’, उनले भने, ‘तर, जिल्ला कमिटीका केही नेताका कारण मलाई सधै नराम्रो नजरले हेरियो । मेरै कारणले मर्चवारमा पार्टी बलियो भएन र अन्य कार्यकर्ताले पार्टी छाडे भन्ने आरोपसमेत लगाइयो ।’

यादव मर्चवारमा एमालेका पूराना नेता मानिन्छन् । उनकै सक्रियतामा मर्चवारमा एमालेका संगठित सदस्य बढीरहेको बताइन्छ । अन्य दल भन्दा एमाले मर्चवारमा कमजोर छ । यादवले पार्टी त्यागेपछि झनै कमजोर हुने देखिएको छ । एमालेबाट राजीनामा दिएका यादवले अब आफू स्वतन्त्ररुपमा मर्चवारको विकासमा लाग्ने जनाए । आफू तत्काल स्थानीय तहमा कुनै पार्टी वा स्वतन्त्ररुपमा उम्मेदवार नहुने बताए । र, अन्य पार्टी पनि प्रवेश नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्