यस्तो छ लुम्बिनीका बाह्रै जिल्लामा गठबन्धनको हिसाब


appharu

१४ बैशाख २०७९, बुधबार ०८:५० मा प्रकाशित

बुटवल ।
२०७८ चैत २८ गते लुम्बिनी प्रदेशमा रहेका सत्तारुढ पाँच दलका मुख्य नेताहरु बसेर प्रदेशका १०९ पालिकाका सबै वडा तहमै गठबन्धन गरेर जाने निर्णय गरे । यो दिन उनीहरुले यी पाँच दलबाहेक कुनै पनि अन्य दलसँग गठबन्धन नगर्ने निर्णयसमेत गरेका थिए । तर सत्तारुढ पाँच दलको निर्देशनसहितको घोषणा एमालेलाई तर्साउनका लागि मात्रै भएको देखिएको छ ।

१२ जिल्ला रहेको प्रदेशमा पाल्पाबाहेक अन्य कुनैपनि जिल्लामा गठबन्धनले पूर्णता पाउन सकेको छैन । पाल्पामा पनि जसपाको पूरै सहमति छैन तर पनि यहाँ वडातहसम्म नै भागबण्डा मिलाएर दलहरुले उम्मेदारी दिएका छन् । अन्य ११ जिल्लामा गठबन्धनले पूर्णता पाउनै सकेन ।

गठबन्धनको बलियो पक्षधर रहेको नेकपा एसले रुपन्देहीको बुटवलमा बाहेक अन्य पालिकामा गठबन्धन भंग भएको र अन्य पालिकामा आफ्नो पार्टीले उम्मेदारी दिएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले बताए ।

जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलका अनुसार प्रदेशका कुनै पनि पालिकामा पाँच दलीय गठबन्धन भएको छैन । ‘जसपाको जनमतलाई बुझ्ने प्रयास नै भएन, अनि कसरी हुन्छ गठबन्धन रु दाङको घोराही र बाँकेको नेपालगन्जमा मेयर उठाइएन अन्त सबै ठाउँमा हाम्रा उम्मेदार मैदानमा छन्, प्युठानको प्युठान नगरपालिकामा एमाले र जसपा, तथा रुपन्देहीको सैनामैना नेकपा एस र जसपाको गठबन्धन भएको छ’, उनले भने ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन नसकेको साना दलका नेताहरुको आरोप छ ।

कांग्रेस लुम्बिनी कोषाध्यक्ष प्रकाश रानाका अनुसार जिल्लागत हिसाबले सबै पाँच दलको गठबन्धन पूर्ण हुन सकेको छैन । ‘कहाँ को असन्तुष्ट छ, कहाँ को असन्तुष्ट छ, अलग अलग उम्मेदारी परेको छ, अब आजबाट मिलाउने हो, धेरै समस्या रहेछ भागबण्डा मिलाउन, एउटै दलभित्र त कति समस्या हुन्छ अब यति धेरै दलमा कसरी सजिलो होला’, रानाले भने ।

सबै दलबीच गठबन्धन गर्दा भागबण्डामा आफ्ना दलका नेताहरु व्यवस्थापन गर्न चुनौती देखिएपछि कांग्रेस र माओवादी केन्द्र धेरै ठाउँमा मिलेर नेकपा एस, जसपा र जनमोर्चालाई बाइपास गरेको आरोप साना दलहरुको छ । उनीहरुले मनोनयनको अन्तिम समयसम्म सहमतिका नाममा साना दललाई अल्झाएर नेताहरुलाई उम्मेदारीको तयारी गर्नसमेत नदिएर राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।

कांग्रेस नेताहरु भने गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादी भर्खरै स्थापित नयाँ दल, जनता समाजवादी पार्टीको पहाडी जिल्लाहरुमा जनाधार नभएको र राष्ट्रिय जनमोर्चाको प्युठान र अर्घाखाँचीबाहेकका जिल्लामा संगठन नभएकाले पाँचै दलबीच सबै पालिकामा गठबन्धन हुन नसकेको बताउँछन् ।

प्रदेशका ४ उपमहानगरमा केन्द्रबाट भागबण्डा भएपनि बुटवल र तुल्सीपुरमा मात्रै गठबन्धनअनुसार ४ दलको सहमतिमा उम्मेदवारी दर्ता भएको छ । बुटवलमा जसपाले मेयर र उपमेयरमा उम्मेदारी दिएको छ । दाङको घोराही र बाँकेको नेपालगन्ज उपमहानगरमा पाँच दलको गठबन्धन कायम हुन सकेन ।

कुन जिल्लामा कुन दलले गरे मनोनयन ?

रुपन्देही

१६ पालिका रहेको रुपन्देहीको बुटवलबाहेक नेकपा एसले सबै पालिकामा उम्मेदारी दिएको जनाएको छ । भागवण्डा मिलाउन नसकेपछि दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकामा गरी ६ पालिकामा गठबन्धनमा आवद्ध दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेपनि बाँकी पालिकामा पनि त्यो सहमति कायम हुन सकेन । बुटवलमै जसपाले मेयरउपमेयरको उम्मेदारी दिएको छ ।

तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन भएको छ । मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सैनामैनामा जसपा र नेकपा एसले गठबन्धन गरेको छ । गठबन्धनको मर्म अनुसार सम्मानजनक सिट दिन नचाहेपछि बुटवलबाहेक अन्य पालिकामा गठबन्धन नभएको नेता सिद्धिचरण भट्टराईले बताए ।

बुटवलमा कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एसका चीनबहादुर गुरुंग उपमेयरमा उम्मेदार बनेका छन् । २ वडा माओवादीले पाएको उसलाई पनि रुख चिन्ह लिएर उठ्न बाध्य बनाइएको छ । अन्य वडामा माओवादीबाटै उम्मेदारी परेको छ । जसपाले पनि सबै पालिकामा उम्मेदारी दिएको छ ।

पाल्पा

गठबन्धनको पालना गरिएको पाल्पाका १० स्थानीय तहमध्ये ६ कांग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन् । यहाँ पनि जसपा सहमत छैन । यहाँ वडातहमै ४ दलले गठबन्धन गरेर उम्मेदारी दिएका छन् ।

गुल्मी

१२ पालिका रहेको गुल्मीमा अनौठो गठबन्धन बनेको छ । सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ मेयर र उपमेयर तथा वडा अध्यक्षहरु कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले वडा सदस्यमा चित्त बुझाएको छ । गुल्मीदरवार गाउँपालिकामा गठबन्धन भएको छैन । यहाँ एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।

दुवै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन् । सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको छ । चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ । मुसिकोट नगरपालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ प्रमुख कांग्रेसले र उपप्रमुख समाजवादीले पाएको छ । इस्मा गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ प्रमुख÷उपप्रमुख कांग्रेसले र वडा सदस्यमा माओवादीले उम्मेदवारी दिएका छन् । मालिका गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ । यहाँ माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

माओवादी कांग्रेसको विवादले गठबन्धन नभएको धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
मदाने गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

कपिलवस्तु

कपिलवस्तुमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलमध्ये कांग्रेस बाहेकका चार दलको अलग्गै गठबन्धन बनेको छ । १० वटा पालिका रहेको जिल्लामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ ।

वाणगंगाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । शिवराज नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको छ । एकीकृत समाजवादीबाट मेयर र उपमेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको छ । दक्षिणका पालिकामा भने जसपाले आफ्नो उम्मेदारी दिएको छ । कांग्रेसले सबै पालिकामा अलग उम्मेदारी दिएको छ ।

बर्दिया

आठवटा पालिका रहेको बर्दियामा दुईवटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । अन्य सबै पालिकाहरुमा गठबन्धनका दलहरुबीच अलग–अलग उम्मेदवारी दर्ता भएको छ । बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल छ । तर यी दुवै पालिकामा प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष पद माओवादी केन्द्रले लिएको छ । एकीकृत समाजवादीले बाँसगढीका २ वटा वडा र गेरुवाका ३ वटा वडा लिएको छ ।

गुलरिया नगरपालिकामा माओवादी केन्द्रका गेहेन्द्र ढकालले मेयरमा र इन्दिरा सुवेदीले उपमेयरमा उम्मेदवारी दिएका छन् । वडा तहमा भने जसपासँग मात्रै तालमेल गरिएको छ । बढैयाताल गाउँपालिकामा सुरुमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भए पनि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । बारबर्दिया, मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा पनि गठबन्धनका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

दाङ

दुई उपमहानगरसहित १० पालिका रहेको दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति जुट्न सकेन । गठबन्धनका शीर्ष नेताले केन्द्रबाट घोराही र तुलसीपुर उपमहानगरको भागबण्डा गरेका थिए । घोराहीको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस तथा तुलसीपुरको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

केन्द्रको गठबन्धनले गरेको भागबण्डाअनुरुप घोराहीको प्रमुख पदमा हेमराज शर्मा डायमण्ड, उपप्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुरको प्रमुखमा कांग्रेसबाट गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

तुलसीपुर उपमहानगरबाहेकका पालिकामा गठबन्धन नमिलेपछि अलग अलग मनोनयन भएको छ । कांग्रेसले जिल्लाका सात वटा पालिकामा एक्लै उम्मेदवारी दिएको छ । मनोनयनको अन्तिम दिन घोराही र बंगलाचुली गाउँपालिकाको गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले अलग्गै तालमेल गरेका छन् । नेकपा माओवादी केन्द्रले लमही नगरपालिका र राजपुर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका गरी पाँच पालिकामा अलग्गै उम्मेदवारी दर्ता गरेको छ । लमही नगरपालिकाको मेयरमा माओवादी केन्द्रले बसन्तराज शर्मा ९विक्रान्त० र उपमेयरमा गंगा पाण्डेलाई उम्मेदवार बनाएको छ ।

लमहीमा कांग्रेसले जोगराज चौधरीलाई मेयरमा र लक्ष्मी योगीलाई उपमेयरमा उम्मेदवार बनाएको छ । गढवामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जसपाले तालमेल गरेका छन् ।

गढवामा माओवादी केन्द्रले अध्यक्षमा यमनारायण पोख्रेललाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले शान्ति चौधरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । गढवामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन । कांग्रेसले गढवा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । अध्यक्षमा सर्वजित डीसी र उपाध्यक्षमा शारदा चौधरी कांग्रेसबाट उम्मेदवार छन् । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन ।

दाङकै राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तथा राजपुरमा माओवादी, जनमोर्चा र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । बबई गाउँपालिकामा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । शान्तिनगर गाउँपालिकामा भने कांग्रेस, माओवादी, एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेदवारी दिएका छन् । राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तालमेल गरेका छन् भने शान्तिनगर गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

बाँके

जसपा, कांग्रेस र माओवादीको इगोको लडाइँ भएको छ बाँकेको नेपालगन्ज उपमहानगरमा । सत्ता गठबन्धनबाट नेपालगञ्जको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रले आफूले मेयर र उपमेयर केही नपाएको जनाउँदै गठबन्धनबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट टंक धामीले मेयरमा र तारा रोकायाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

एक उपमहानगरसहित आठ वटा पालिका रहेको बाँकेमा ६ वटा पालिकामा गठबन्धन भएपनि अलग अलग उम्मेदारी छ । पहिले विवाद गरेको जसपा मिलेपछि नेपालगञ्जमा सत्ता गठबन्धनभित्र माओवादीबाहेक कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कोहलपुर नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ मेयरमा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने र उपमेयरमा एकीकृत समाजवादीका नारायणी वलीले उम्मेदवारी दिएका छन् । तर कांग्रेसले पूर्ण आचार्यलाई मेयर बनाएपछि बलराम शर्मा बागी उम्मेदवार बनेका छन् । यसले पार्टीको आन्तरिक कलह बाहिरिएको छ ।

जानकी गाउँपालिकामा माओवादी केन्द्र र जसपाबीच गठबन्धन भएको छ । खजुरा गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन बनेको छ । अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु मल्लले उम्मेदवारी दिएका छन् । नरैनापुर, राप्तीसोनारी र डुुडुवा गाउँपालिकामा गठबन्धन भएको छैन । नेपालगन्जमा मिलेको जसपा अन्य पालिकामा मिलेको छैन ।

रुकुम पूर्व

तीन गाउँपालिका रहेको रुकुम पूर्वका गठबन्धन छैन । माओवादी केन्द्रले तीनवटै पालिकामा एक्लै उम्मेदवार उठाएको छ ।

यहाँका दुई पालिका केन्द्रको निर्देशन विपरीत एमाले र कांग्रेसबीच गठबन्धन गरेका छन् । सिस्ने र भूमे गाउँपालिकामा नेकपा एमालेले र नेपाली कांग्रेसले तालमेल गरेका हुन् । पुथा उत्तरगंगा गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले एक्लाएक्लै उम्मेदवार उठाएका छन् ।

रोल्पामा माओवादी एक्लै

माओवादीले आधार इलाका मानेको रोल्पाका १० पालिकामध्ये अधिकांशमा माओवादीको एकल उम्मेदारी परेको छ । एउटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेका हुन् । रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकामा एक्लाएक्लै भिडेका दलहरुले अन्य ६ स्थानीय तहहरुमा भने फरक गठबन्धन गरेका छन् ।

परिवर्तन गाउँपालिकामा कांग्रेसलाई अध्यक्षमा अन्य दलले सघाउने निर्णय गरेको छ । त्रिवेणीमा एमालेलाई अध्यक्षमा कांग्रेसले सघाउने र उपाध्यक्षमा एमालेले कांग्रेसलाई सघाउने सहमति भएको छ । सुनिलस्मृति गाउँपालिकामा कांग्रेसलाई अन्य दलले अध्यक्षमा सघाउने गरी गठबन्धन भएको छ । सुनछहरीमा विप्लव नेतृत्वको नेकपा र कांग्रेसबीच गठबन्धन भएको छ ।

यहाँ माओवादी केन्द्रविरूद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाबीच माडी, परिवर्तन, त्रिवेणी गाउँपालिकामा गठबन्धन बनेको हो ।

प्युठान

जनमोर्चाले आफ्नो बलियो आधार बनाएको प्युठानका ९ पालिकामध्ये एमालेले जितेका ३ पालिकामा सत्ता गठबन्धनका ४ वटा दलबीच गठबन्धन भएको छ । स्वर्गद्वारी नगरपालिका तथा सरुमारानी र माण्डवी गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो र जसपा एक भएर उम्मेदवारी दिएका छन् । माण्डवीमा त विप्लव नेतृत्वको नेकपा पनि गठबन्धनमा छ । अन्य पालिकामा कतै कांग्रेस र राष्ट्रिय जनमोर्चा, कतै माओवादी र कांग्रेसबीच गठबन्धन भएको छ । ऐरावती, मल्लरानी र झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।

प्युठान नगरपालिका, गौमुखी र नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । झिमरुकमा माओवादी केन्द्रले पनि अध्यक्षसहित पदहरुमा उम्मेदवारी दिएको छ । ऐरावतीमा कांग्रेसले पालिका अध्यक्ष र राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष पाउने सहमति छ । मल्लरानीमा पनि गाउँपालिका अध्यक्ष राजमोले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति छ ।

यहाँ राष्ट्रिय जनमोर्चाका कृष्ण खड्काले अध्यक्षमा र कांग्रेसका रमेश श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनलाई विप्लवको पनि साथ छ । गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ । सरुमारानी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनाबी तालमेल गरेका छन् ।

पश्चिम नवलपरासी

७ पालिका रहेको पश्चिम नवलपरासीमा दलबीच तालमेल छैन । सुनवल र बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । त्यहाँ दुवै प्रमुख पद कांग्रेसले लिएको छ । उपमेयर माओवादी केन्द्रलाई दिइएको छ ।

गठबन्धनको अर्को घटक जसपा र माओवादी केन्द्रले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर लिएको छ ।

अर्घाखाँची

अर्घाखाँचीमा सत्ता गठबन्धनको जसपबाहेकका चार दलको गठबन्धन छ । यहाँ नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमा मात्रै चित्त बुझाएको छ ।

शीतगंगा नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसबाट छविलाल पौडेल र उपप्रमुखमा माओवादी केन्द्रका टीका रेश्मीको उम्मेदवारी दर्ता भएको छ । भुमिकास्थान नगरपालिकाको प्रमुखमा गठबन्धनबाट जनमोर्चाको झविलाल थापा र माओवादी केन्द्रका बालकृष्ण बन्जाडेको उम्मेदवारी दर्ता भएको छ ।

सन्धिखर्क नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसकी शान्ता भण्डारी र उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालको उम्मेदवारी दर्ता भएको छ । मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ । छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्