एमाले र भ्रष्टाचार एक सिक्काका दुई पाटा : रामकृष्ण खांण, तलब भत्ता छात्रवृत्ति र सामाजिक काममा खर्च गर्ने घोषणा


appharu

१४ बैशाख २०७९, बुधबार १६:२८ मा प्रकाशित


पालिकापत्र
तिलोत्तमा । नेपाली कांग्रेसरुपन्देहीका सभापति रामकृष्ण खांणले नेकपा एमाले र भ्रष्टाचार एक सिक्काको दुई पाटा भएको बताएका छन् । एमाले सरकारमा हुंदा हरेक क्षेत्रमा भ्रष्टाचारले सीमा नाघेको र नीतिगत भ्रष्टाचारलाई एमालेले संस्थागत गरेको उनले बताए । स्थानीय चुनावको संयुक्त प्रचार अभियान तिलोत्तमाको उद्घाटन कार्यक्रममा नगर प्रमुखका उम्मेदवार समेत रहेका खांणले तिलोत्तमा नगरपालिकाले दुई वर्ष अघि गरेको लगानी सम्मेलनको छानवीन गर्न माग गरेका छन् । तिलोत्तमा लगानी सम्मेलनका नाममा एक करोड ५० लाख बढी खर्च भएपनि प्रतिफल शुन्य भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गर्नुपर्ने माग गरेका हुन् । लगानी सम्मेलनमा करोडौं खर्च भएपनि एउटा मात्र परियोजनामा सम्झौता भएको भन्दै लगानी सम्मेलनका नाममा राज्य कोषको दुरुपयोग भएकाले छानवीन हुनुपर्ने माग गरे । सो कार्यक्रममा उनले आफू निर्वाचित भएपछि राज्यबाट पाउने तलब भत्ता विपन्न विद्यार्थीलाई छात्रवृत्ति र सामाजिक काममा खर्च गर्ने घोषणा गरे ।
तिलोत्तमामा एमालेले चुनावका बेला जारी गरेको घोषणापत्र अनुसारका काम नगरेको सस्तो प्रचारबाजी मात्र गरेको खांणले बताए । गठबन्धनले जितेमा सडक बनाउदा स्थानीयबाट पैसा नउठाई केन्द्रबाट वजेट ल्याएर बनाउने, फोहोर मैला शुल्क घटाउने, जेष्ठ नागरिक लाई घरमै स्वास्थ्य चेकजांच सुबिधा दिने लगायतका प्रतिवद्धता जनाए ।
माओवादी केन्द्रका इन्चार्ज जीसीले एमालेले जितेका पालिकाहरुमा नीतिगत भ्रष्टाचार र प्राकृतिक स्रोतको मनपरी दोहन भएको उल्लेख गर्दै तिलोत्तमा लगानी सम्मेलनको छानवीन गर्न अख्तियारसंग माग गरे । राप्रपासंगको तालमेलले एमाले २०४७ को संविधान ब्युताउने र फेरि प्रतिगमन दोहो¥याउने योजनामा रहेकाले गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताए । कार्यक्रममा कांग्रेस नेता अब्दुल रज्जाकले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन भएको भन्दै दुबै पार्टी इमान्दार भए मात्र चुनाव जित्न सकिने बताए ।
कार्यक्रममा कांग्रेस नगर सभापति हरिलाल पौडेलको संयोजकत्वमा ५ हजार एक सदस्यीय प्रचार प्रसार समिति, रामचन्द्र ढकाल संयोजक र रोमणी पाठक लगायत सदस्य रहेको सल्लाहकार समिति र दुबै पार्टी नेताहरु रहेको चुनावी सचिवालय गठन भएको छ । कार्यक्रममा माओवादी नगर अध्यक्ष बेलप्रसाद शर्मा,कांग्रेस सचिव प्रदीप थापा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्