बुटवलमा एमालेका अधिकांश प्रतिवद्धता पूरा भएनन्, स्मार्ट र स्याटेलाइट सिटीको गफ दिएर धुलो–हिलो र फोहोरको सास्ती


appharu

१९ बैशाख २०७९, सोमबार ०७:३८ मा प्रकाशित

पालिकापत्र, बुटवल ।

२०७४ सालको स्थानीय चुनावमा बुटवल उपमहानगरको एमालेका उम्मेदवार शिवराज सुवेदीको चुनावी घोषणापत्रको पहिलो मुद्दा थियो–बुटवललाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन सशक्त र प्रभावकारी पहल गर्ने । राजधानीको निर्णय गर्ने अधिकार र कार्यक्षेत्र प्रदेश सभाको भएपनि सुवेदीले मतदातालाई प्रभावित पार्न आफ्नो अधिकार क्षेत्र बाहिरको नारा अघि सारेका थिए ।

आम मतदाताले घोषणापत्रलाई विश्वास गरेर सुवेदीलाई जिताए पनि । तर प्रदेशको राजधानी दाङ बनाउन पार्टी नेतृत्वले गरेको निर्णयमा मेयर सुवेदी चुंइक्क बोलेनन् बरु राजधानी दाङ बनाउन अगुवाई गरेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा मौन समर्थन जनाए । अन्य ६ वटा प्रदेशको स्थायी राजधानी पुर्ववर्ती सरकारले तोकेका अस्थायी मुकाममै कायम हुदा लुम्बिनी प्रदेशको मात्रै बुटवलबाट दाङ निर्णय हुंदा मेयर सुवेदी मतदाता सामु गरेको वाचा र देखाएको सपनामा चुकेको बुटवलवासीको बुझाई छ ।

सुवेदीले चुनावी घोषणापत्रमा देखाएको अर्को सपना थियो – बुटवललाई धुंवा,धुलो र हिलोमुक्त स्मार्ट सिटी तथा बुटवलकै सेमलार र मोतिपुरलाई स्याटेलाइट सिटी बनाउने । यी दुबै सपना नारामै सीमित भएका छन्, कार्यान्वयनमा मेयर सुवेदी असफल भएका छन् । बरु सुवेदीको कार्यकालमा बुटवल स्मार्ट होइन, धुलो,धुंवा, हिलो,फोहोर र खाल्डाखुल्डीको शहरको रुपमा पहिचान बनाएको नगरवासीको गुनासो छ ।

एशियाली विकास बैंकसंग सम्झौता भई अघि बढेका ७१ करोड लागतका खानेपानी, फोहोर मैला व्यवस्थापन र अटो भिलेज परियोजना सुवेदी निर्वाचित भएर आएपछि फिर्ता भए । यी तीनवटै परियोजनालाई कार्यान्वयनमा ल्याउन मेयर सुवेदीले सरोकारवाला निकायसंग समन्वय गरी सुझबुझपूर्ण र उचित निर्णय लिन चुकेको स्थानीय बताउंछन् । तीन ठूला परियोजना गुम्दा बुटवलको विकास १० वर्ष पछाडि धकेलिएको बुटवल सुख्खानगरका युवा रोनिश श्रेष्ठ बताउंछन् ।

चुनावी घोषणापत्रको प्राथमिकतामा मेयर सुवेदीले २ वर्षभित्र झुम्सा खानेपानी आयोजना र एक वर्षभित्र फोहोरमैला प्रशोधन केन्द्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए । तर पांच वर्ष बितिसक्दासम्म यी दुबै आयोजनाको काम नै शुरु हुन सकेको छैन । फोहोर व्यवस्थापन केन्द्र बन्न नसक्दा बुटवलमा दैनिक उत्पादन हुने करिब ६० टन फोहोर तिनाउ नदी किनारमा फ्यांक्ने गरिएको छ जसले शहरको वातावरण प्रदुषित बनेको छ । मेयर सुवेदीले चुनावमा गरेको अर्को वाचा हो–बुटवललाई महानगर बनाउन विकास परिषद गठन गरी प्रकृया अघि बढाउने । तर यो पनि चुनावी नारामै सीमित छ ।

मेयर सुवेदीले स्थानीय सरकारको अधिकार क्षेत्र बाहिर गएर गरेको अर्को वाचा थियो– ७० वर्ष नाघेकालाई सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार बनाउने । यो पनि कार्यान्वयन भएन ।

यस्तै पांच वर्षभित्र तिनाउ–दानव कोरिडोर सडक बनाउने चुनावी घोषणापत्रमा उल्लेख गरेका थिए । तर यो कोरिडोर सडक करिब १५ प्रतिशत निर्माण हुंदा अहिले विवादमा तानिएको छ । कोरिडोर प्रभावित बासिन्दाले उचित ठाउंमा स्थानान्तरण र क्षतिपुर्तिको माग गर्दै आन्दोलित भएका छन् । केही जग्गाधनीले अदालतमा मुद्दा समेत दायर गरेका छन् । आयोजनाका सम्बन्धमा मेयर सुवेदीले सडक डिभिजन कार्यालयलाई कोरिडोर क्षेत्रमा जग्गासम्बन्धी विवाद छैन भनेर झुठो विवरण दिएर आयोजना अघि बढाएको भन्दै स्थानीयहरु रुष्ट छन् ।

मेयर सुवेदीले राजधानी जस्तै प्रदेश र संघको अधिकार क्षेत्रमा पर्ने कालिगण्डकी तिनाउ डाइभर्सनको एजेण्डालाई पनि आफ्नो चुनावी घोषणापत्रको प्राथमिकतामा पारेर ५ वर्षभित्र पूरा गर्ने वाचा गरेका थिए । ५ वर्षसम्म कामै शुरु हुन नसकेको यो विषयमा अहिले अदालतमा मुद्दा परेको छ भने गण्डकी प्रदेश सरकारले कुनै हालतमा डाइभर्सन हुन नदिने अडान लिएको छ ।
चुनावी घोषणापत्रमा ५ वर्षभित्र विपन्न परिवारलाई आवास सुविधा उपलब्ध गराउने, अव्यवस्थित बसोबास आयोग गठन गरी सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाण पुर्जा दिने वाचा पनि सुवेदीले गरेका थिए । तर यी वाचा पनि नारामै सीमित भए, कार्यान्वयन हुन सकेका छैनन् ।

काम भन्दा मुक्काले चर्चामा
बुटवलका मेयर सुवेदीलाई गएको वर्षायाममा बुटवल ज्योतिनगरमा पहिरो जांदा घरमा क्षति पुगेका परिवारको व्यवस्थापनमा बेवास्ता गरेको भन्दै एमालेकै कार्यकर्ताले मुक्का प्रहार गरे । लुम्बिनी बाणिज्य क्याम्पसमा अनेरास्ववियूको कमिटीमा आवद्ध स्नातक युवाले आफ्नै पार्टीका मेयरलाई सार्वजनिक स्थानमा थुप्रै मान्छेको सामुन्ने मुक्का हानेको त्यो घटनाले निकै ठूलो चर्चा पायो । सामाजिक सञ्जालमा मुक्का खाने मेयर सुवेदीप्रति सहानुभूति भन्दा मुक्का हान्ने युवाको समर्थनमा प्रतिक्रियाहरु आए । ‘राम्रा काम गरेको भए आफ्नै कार्यकर्ताले मुक्का हान्ने थिएनन्’–एमालेकै एक कार्यकर्ता भन्छन्–‘वर्षायाममा बुटवलवासी पहिरोको त्रासमा बांच्न र तिनाउको धमिलो पानी पिउन वाध्य छन् ।’ मेयर सुवेदीको दम्भी कार्यशैलीले यो ५ वर्षमा उनी लोकप्रिय हैन बद्नाम भएका र एमालेकै कैयौं नेता कार्यकर्ता उनको कार्यालयमा पाइला नटेकेको ती कार्यकर्ताले बताए ।

मेयरका उम्मेदवार कांग्रेसका नगर सभापति खेलराज पाण्डे मेयर सुवेदी आफ्ना चुनावी प्रतिवद्धताहरु पूरा गर्न पूर्णरुपमा चुकेको दावी गर्छन् ।

‘बुटवललाई स्थायी राजधानी, महानगर, सुकुम्बासीलाई लालपुर्जा,कालिगण्डकी डाइभर्सन,तिनाउ दानव कोरिडोर सडक लगायतका महात्वाकांक्षी सपना देखाएर भोट मागियो तर जितेपछि यी कुनै कुरा पूरा भएनन्’– पाण्डे भन्छन्–‘बुटवल उपमहानगरलाई सबैको साझा बनाउनुको साटो एमालेको पार्टी कार्यालय जस्तो एकलौटी बनाइयो ।’ योजना तर्जुमा, वजेट र विकास निर्माणमा मेयर सुवेदीले फरक दल र फरक विचारलाई पूर्णतः उपेक्षा गरेर एकलौटी ढंगले अघि बढेको पाण्डेको भनाई छ । मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरका नाममा वर्षौंदेखि बसोबास गरेका सयौं परिवारलाई वैकल्पिक व्यवस्थापन नगरी विस्थापित बनाउने गरी मेयर सुवेदीले भूमिका खेलेको पाण्डे आरोप लगाउंछन् । बुटवल उपमहानगरको प्रशासनिक भवन निर्माणको लागत अन्यत्रको तुलनामा अत्यधीक धेरै भएको भनेर गम्भीर प्रश्न उठेको र यसबारे दलहरुबीच छलफल भइरहेको पाण्डेले बताए । उक्त भवन ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँमा विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले बनाएको हो ।

यी वाहेक चुनावमा वाचा गरिरएका थुप्रै प्रतिवद्धताहरु मेयर सुवेदीले पूरा नगरेका पाण्डेको दावी छ ।

के के प्रतिवद्धता भएनन् पूरा ?
चक्रपथ निर्माण, एक वर्षभित्र अटो भिलेज निर्माण, ४ स्थानमा विद्युतीय शव दाह गृह निर्माण, बन्द रहेको बुटवल धागो कारखाना सञ्चालन, दुई वर्षभित्र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालन, माध्यमिक तहको शिक्षा निशुल्क, (नाम चलेका सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा चन्दाका नाममा झण्डै निजी सरह शुल्क असुलेका छन्), बृद्धबृद्धाको स्याहार सुसार गर्न हस्पिक केयर सेन्टर,जेष्ठ नागरिकलाई उपचार गर्ने जेरियाटिक हस्पिटल, निःशुल्क नगर एम्बुलेन्स, ७० वर्ष नाघेकालाई सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार बनाउने, (अधिकार क्षेत्र बाहिरको वाचा) । एक टोल एक सार्वजनिक शौचालय तथा महत्वपूर्ण स्थानमा सार्वजनिक शौचालयहरुको ब्यवस्था, नगर क्षेत्रका सडकहरु आधुनिक उपकरणहरुको प्रयोगद्धारा दैनिकरुपमा सफाई, सिद्धवावा, तिनाउ पुल र मघरघाट क्षेत्रमा बाँध बाँधी जल पर्यटनको विकास,बुटवल बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार समयानुकुल बनाई सामाजिक र विज्ञान विषयको अनुसन्धान केन्द्रको रुपमा विकास गरिने,दुर्घटनाका कारण घाइते हुनेहरुका लागि सिघ्र उपचारको ब्यवस्था गर्न ट्रमा सेन्टरको स्थापना, उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण सार्वजनिक स्थानहरुमा फ्री वाइफाइ जोन तथा विभिन्न स्थानमा आधुनिक सुचना केन्द्रको स्थापना, विद्युत तथा टेलिफोनका तारहरुको प्रसारण तथा विस्तार गर्दा भूमिगत प्रणाली अवलम्वन गरिने,हिंसा पीडित महिलाका लागि सेफ हाउस, गरीब परिचय पत्र र विशेष सुविधा । यस्तै बुटवल–भैरहवा–लुम्बिनी–तिलौराकोट पर्यटक बस सञ्चालन, ट्रलि बस र मोनो रेल चलाउन पहल, हरेक वनमा अलग–अलग सफारी पार्क, कालोपत्रे सडक किनारमा बृक्षारोपण लगायतका वाचा पनि पूरा नभएको पाण्डे बताउंछन् ।

बुटवल गोलपार्क निवासी वहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसी मेयर सुवेदीको ५ वर्षे कार्यकाल राम्रा कामले सम्झनलायक नरहेको टिप्पणी गर्छन् । ‘एमालेका जिल्ला अध्यक्ष समेत रहेका सुवेदीले मतदाता समक्ष १७ वटा शीर्षक र १२१ वटा बुंदामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेका थिए’–चुनावी घोषणापत्र सम्झिंदै केसी भन्छन्–‘अधिकांश महत्वपूर्ण प्रतिवद्धता जस्ताको तस्तै छन्, कामै भएको छैन, साना तिना नियमित विकास त जनप्रतिनिधि नहुंदा कर्मचारीले पनि गरेकै थिए ।’ घोषणापत्रमा स्मार्ट र स्याटेलाइट सिटीको सपना बांडेर नगरलाई धुलोधुंवा, फाहोर र खाल्डैखाल्डाको पहिचान दिलाएको केसीको टिप्पणी छ ।

मेयर सुवेदीको कार्यकालमा नगरपालिकालाई एमाले कार्यकर्ता भर्ती केन्द्र र नीतिगत भ्रष्टाचार गर्ने अखडा बनाइएको प्राध्यापक केसीको टिप्पणी छ । वर्षेनी वैठक भत्तामा ३५ लाख बढी रकम बांडेको, चुनावलाई प्रभावित पार्न पत्रकारलाई बांड्न चालु आर्थिक वर्षमा २५ लाख रुपैयां छुट्टाइएको र विना मापदण्ड एकैपटक डेढदर्जन पत्रकारलाई सम्मानका नाममा पैसा बांडेर सुशासनको धज्जी उडाएको प्राध्यापक केसीले बताए । छाडा पशु चौपायाहरुको ब्यवस्थापन प्रभावकारी नभएको, पुराना घर भवनका निर्माण सम्पन्नता दिने कार्यमा ब्यापक भेद्भाव गरिएको, एकिकृत सम्पत्ति करको नाममा सम्पत्तिको अनावश्यक मूल्यांकन बढाई धेरै मात्रामा कर उठाउने गरिएको र मृत्यू तथा जन्मदर्ता आदि विभिन्न सिफारिस पत्रको दस्तुरको नाममा चर्को शुल्क असुलेको केसीको गुनासो छ । नगर कार्यपालिकाको विभिन्न समिति, उपसमितिको गठनमा चरम राजनीतिकरण गरी फरक दलका ब्यक्तिहरुलाई स्थान नदिई एकलौटी बनाइएको र उपभोक्ता समिति गठन,कार्य प्रक्रिया तथा फर्छयौट गर्दासम्म आपारदर्शि भएको केसीको गुनासो छ ।

बुटवल वडा नंं १३ का वडा अध्यक्ष नारायणप्रसाद पुनले मेयर सुवेदीले वार्षिक वजेटमा वडाहरुलाई अति कम वजेट दिने गरेको तर अबण्डा शिर्षकमा धेरै वजेट राख्ने गरेको बताए । ‘उपमहानगरका वडाहरुलाई नगरपालिका र गाउंपालिका सरह न्यून वजेट सिलिङ निर्धारण गरेर खुम्चाउने काम भयो’– पुनले भने–‘आफू अनुकुलका मान्छेलाई ठेक्का दिएर त्यसबाट लाभ लिन अबण्डा शीर्षकमा वजेटको ठूलो हिस्सा राख्ने गरियो ।’ मेयर सुवेदीले आफ्नै दलबाट निर्वाचित कार्यपालिका सदस्यहरुले राख्ने विचार र प्रस्तावलाई सधैं नजरअन्दाज गरेर एकलौटी ढंगले अघि बढ्ने प्रवृत्तिले मेयरसंग धेरै कार्यपालिका सदस्य असन्तुष्ट रहेको वडा अध्यक्ष पुनले खुलाए । उपमहानगरले निजी कम्पनीलाई ठेक्का दिएर गोलपार्क–योगीकुटी सडकमा जडान गरेको सौर्यवत्ती पनि पूर्णतः असफल भएर राज्यको करोडौं वजेट नोक्सान भएको पुनले बताए ।

अघिल्लो चुनावमा गरेका अधिकांश वाचा पूरा नभएकाले यो चुनावमा एमालेलाई मत नदिने मतदाता अत्यधीक बढेको बुटवलको सुकुम्बासी वस्तीका समस्या समाधानमा अगुवाई गर्दै हिंड्ने जसपा नेता हरिबहादुर घर्तीको विश्लेषण छ ।
‘एमालेका नेता विष्णु पौडेलले बुटवलका सुकुम्बासीको हातमा लालपुर्जा नदिई सुकुम्बासी वस्तीमा पाइला टेक्दिन भनेर भाषण गर्दै झुक्याएर चुनाव जिते,मेयरले पनि त्यस्तै गरे तर खोइ त लालपुर्जा’–घर्तीले भने–‘बरु एमाले नेतृत्वले मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरको नाममा हजारौं सुकुम्बासी अव्यवस्थित बसोबासीलाई बिचल्ली बनाउने काम गरेको छ, यसको हिसाबकिताब जनताले बैसाख ३० गते गर्दैछन् ।’

अघिल्लो चुनावमा स्मार्ट सिटी र स्याटेलाइट सिटी बनाउने, बुटवललाई प्रदेश राजधानी बनाउने,सुकुम्बासीलाई लालपुर्जा दिने कुरा सुन्दा सांच्चै गर्छन् कि भनेर भोट दिएको हो, तर ५ वर्षसम्म कुर्दा सबै झुठा आश्वासन रहेछन भन्ने भएपछि अब एमालेप्रति पटक्कै विश्वास नभएको बुटवल प्रगतिनगरका नरबहादुर भण्डारीले बताए । उनी भन्छन्–यसपटक गफ गर्ने र जनता झुक्काउनेलाई हैन, काम गर्नेलाई भोट दिइन्छ ।

तर बुटवलका मेयर सुवेदी भने चुनावी घोषणापत्रमा वाचा गरे भन्दा धेरै काम सम्पन्न भएको दावी गर्छन् । वडा भवन निर्माण, प्रमुख प्रशासकीय भवन निर्माण, नगर शिक्षा योजना, सहरी विकास गुरुयोजना निर्माण,सहयोगापेक्षी सडक मानवमुक्त र लैंगिक हिंसामुक्त सहर घोषणा,जितगढी सम्पदाको संरक्षण र विस्तार, ढुवानीग्राम निर्माण, वधशाला निर्माण,सिमसार क्षेत्र संरक्षण,बसपार्कमा बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माण, आन्तरिक वाइपास सडक निर्माण आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धी रहेका सुवेदी बताउंछन् ।

प्रतिक्रिया दिनुहोस्