पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस


appharu

२० बैशाख २०७९, मंगलवार १४:०५ मा प्रकाशित

पालिकापत्र, बुटवल । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ ।
बुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो भन्दै प्रेस स्वतन्त्रता सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, शान्ति समाजका केन्द्रिय सचिव एवं पत्रकार मिना ढकाल, रुपन्देही शाखा सभापति डिपी खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै शान्ति समाज दाङ शाखाको आयोजनामा दाङको तुलसीपुरमा वैशाख २० गते प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न भएको छ । शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपसभापति एवं पत्रकार सुशिल बस्नेतले सञ्चारक्षेत्रमा क्रियाशील ब्यक्तिहरुको मनोवल उच्च बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो । ब्यवसायिक पत्रकारिताका लागि पेशागत सुरक्षा चुनौतिपूर्ण रहेको धारणा व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले पेशागत तथा भौतिक असुरक्षाका कारणले केही पत्रकारहरु पेशाबाट बिस्थापित हुन पुगेको र त्यो क्रम अझै बढदै गएको र राज्यले तोकेको न्युनतम पारिश्रमिक समेत उपलब्ध गराउन संचार संस्थाहरुले नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अन्तराष्ट्रिय सम्बन्ध बिभागका सदस्य गोपाल शर्मा भट्टराई, नेपाल पत्रकार महासंघका सदस्य उमा भण्डारी र दिपक बोहरा, पत्रकार आशिष केसी, जितसागर जिएम, शान्ति समाजका सचिव निर्मल नेपाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय मजदुर दिवस १ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा २०७९ वैशाख १८ गते ‘श्रमिकहरुको सामाजिक सुरक्षाको प्रत्याभूति’ बिषयक बिचार गोष्ठी तुलसीपुरमा सम्पन्न भएको थियो ।
साथै शान्ति समाज कास्की शाखाको आयोजनामा वैशाख १८ गते पोखरामा ‘श्रमको सम्मान ः सम्मृद्विको आधार ः श्रमिकको अधिकार मानव अधिकार’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो । शान्ति समाज कास्की शाखा सभापति तिर्थराज न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्