बुटवलका उद्योगी व्यवसायी भन्छन् : प्रदेश राजधानी दाङ सार्ने र चर्को कर थोपर्नेलाई भोट दिइन्न


appharu

२० बैशाख २०७९, मंगलवार १६:२५ मा प्रकाशित

पालिकापत्र, बुटवल ।

बुटवलका उद्योगी व्यवसायीहरुले यो पटक प्रदेश राजधानी दाङ लैजान भूमिका खेल्ने र चर्को करको भार थोपर्नेलाई भोट नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । अघिल्लो पटक एमाले उम्मेदवारलाई भोट दिएर जिताएपनि प्रदेशको राजधानी दाङ लगेको र बाचा विपरित चर्को कर थोपरिदिएको भन्दै अहिले नगरपालिकामा नेतृत्व परिवर्तन गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट मंगलबार बुटवलमा आयोजना गरिएको उद्योगी व्यवसायी भेलामा सहभागि भएका उनीहरुले काँग्रेस प्रति आफूहरुको आशा र भरोसा बढेको बताएका हुन् । उनीहरुले काँग्रेस नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई जिताउने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले नगरपालिकालाई उद्योगी व्यवसायीको साझा थलो बनाउने र उद्योग–व्यवसायमैत्री नीति लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवलमा लगानीको वातावरण बनाउने र लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साना व्यवसायलाई संरक्षण गर्ने नीति लिईने बताउँदै मेयर उम्मेदवार पाण्डेयले ठूला उद्योगी व्यवसायीलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै लिईँदै आएको करलाई घटाउने र वैज्ञानिक प्रणाली लागु गरेर कर निर्धारण गरिने उहाँको भनाई छ । त्यस्तै कर निर्धारणमा पनि उद्योग व्यवसायीको राय सुझाव लिईने र सोही अनुसार निर्धारण गरिने उहाँले बताउनु भयो ।

कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योगी व्यवसायीलाई संरक्षण गर्ने गरी नगरपालिकाले नीति बनाउने बताउँदै गठबन्धनको तर्फबाट बनेका उम्मेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गर्नुभयो ।

त्यस अवसरमा गठबन्धनको तर्फबाट खिमनारायण पराजुली, पदम श्रेष्ठ लगायतले यो पटक गठबन्धनको पक्षमा जनलहर देखिएकोले जीत सुनिश्चित भएको बताउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, उद्योगी व्यवसायी समन्वय समितिका संयोजक खिमबहादुर हमाल, बिमलराज भट्टराई लगायतले भनाई सहित गठबन्धनका उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्