बुटवलमा नगरवासीलाई राहत पुग्ने पाँच दलको संकल्प पत्र (पूर्ण पाठसहित)

कर घटाउने, स्वास्थ्य बिमा, नगर अस्पतालदेखि महानगर हुँदै मेगासिटी बनाइने पनि प्राथमिकतामा


appharu

२१ बैशाख २०७९, बुधबार ०८:१८ मा प्रकाशित

पालिकापत्र, बुटवल ।
पाँच दलीय गठबन्धनले बुटवल उपमहानगरमा बैसाख ३० गतेको स्थानीय तह चुनावका लागि नगरवासीलाई प्रत्यक्ष राहत पुग्ने खालका कार्यक्रमहरु समेटेर संकल्पपत्र सार्वजनिक गरेको छ ।

मेयरका उम्मेदवार खेलराज पाण्डेय र उपमेयर उम्मेदवार चिनबहादुर गुरुङसहित पाँच दलका नेताहरुले संयुक्त रुपमा सार्वजनिक गरेको संकल्प पत्रमा जनप्रतिनिधिहरु शासक होइनन्, असल सेवक हुन् भन्ने कुरालाई व्यवहार मै प्रमाणित गर्न उपमहानगरले हाल लिंदै आएको पांच थरि कर र सिफारिस शुल्क घटाउने देखि सबै नगरवासीको स्वास्थ्य वीमा गर्ने प्रतिवद्धता गरिएको छ । हाल लिइंदै आएको घर बहाल कर, हाटबजार वैठकी कर, ई रिक्सा सवारी कर र सिफारिश शुल्क घटाउने संकल्प गरिएको छ ।

उपमहानगरपालिका कार्यालय परिसरमा २४ घण्टे स्वास्थ्य सेवा कक्ष सञ्चालन तथा नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याइने उल्लेख छ । यस्तै जनप्रतिनिधिहरुले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग गर्ने परिपार्टी अन्त्य गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने संकल्प गरिएको छ । संकल्पपत्रमा बुटवललाई छिमेकी ५ वटा पालिकासंग जोडेर महानगर बनाउने र भविष्यमा मेगासिटी बनाउन पहल गरिने लगायत उल्लेख छ ।

मेयर्स युथ एड्भाइजरी बोर्ड र प्रबुद्ध व्यक्ति परिषद्’ गठन गरिने
नगर प्रमुखसहित जनप्रतिनिधिलाई युवाहरुबाट राय सुझाव लिन मेयर्स युथ एड्भाइजरी बोर्ड र बुटवल उपमहानगरपालिकासँग सम्बन्धित देश तथा विदेशमा रहेका बुद्धिजिवी तथा उच्च पेशागत क्षेत्रमा क्रियाशील अनुसन्धानविदहरु सम्मिलित ‘बुटवलका लागि प्रबुद्ध व्यक्ति परिषद्’ गठन गरिने संकल्प गरिएको छ । यस्तै नेपाल मेडिकल एशोसिएसन, रिजनल एन्ड अर्बन प्लानर्स सोसाइटी,नेपाल ईन्जिनियर्स एशोसिएसन जस्ता प्राविधिक पेशागत संघसंस्थासंग नियमित अन्तरक्रिया गरी आवश्यक नीति तथा कार्यक्रम निर्माण गरिने संकल्प गरिएको छ ।

फेसलेस, पेपरलेस र क्यू फ्रि
उपमहानगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाहरुलाई फेसलेस,पेपरलेस र क्यू फ्रि (लाइन बस्न नपर्ने) बनाइने संकल्पपत्रमा उल्लेख छ । विशिष्ट सार्वजनिक सेवामा द्रुत सेवा फास्ट ट्रयाक प्रणालीे अवलम्बन गर्दै सेवाको होम डेलिभरीको व्यवस्था गर्ने र सार्वजनिक प्रशासनलाई भ्रष्टाचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गरिने संकल्पपत्रमा उल्लेख छ । सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजतजस्ता सेवाहरुलाई डिजिटलाइज र झन्झटमुक्त बनाइने संकल्प छ ।

हेल्लो मेयर डेस्क स्थापना
कर्मचारी नियुक्तिलाई राजनीतिक हस्तक्षेप र दलीय प्रभाव–दवावरहित बनाउने,सेवाग्राहीको गुनासो तथा समस्या सुनुवाई गर्न हेल्लो मेयर डेस्क स्थापना गरिने छ । चौमासिक कार्यप्रगती विवरणसहित सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन, आर्किटेक इन्जिनियर, शहरी योजनाविद्लगायत उच्च प्राविधिक जनशक्तिको आवश्यक दरबन्दी सिर्जना गरी भवन तथा पूर्वाधार निर्माणमा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउने गरिने संकल्पपत्रमा उल्लेख छ ।

महानगर हुंदै मेगासिटी बनाइने
पांच दलीय गठबन्धनको संकल्पपत्रमा बुटवल उपमहानगरपालिकालाई छिमेकी ५ वटा पालिकाहरु जोडेर महानगर बनाउन प्राथमिकताका साथ पहल गर्ने प्रतिवद्धता जनाइएको छ । संकल्पपत्र अनुसार सैनामैना,तिलोत्तमा,देवदह र सिद्धार्थनगर नगरपालिका तथा शुद्धोधन गाउंपालिकालाई समेटेर महानगर बनाउन प्राथमिकताका साथ पहल गरिने छ । यस्तै नवलपरासीको बर्दघाटदेखि कपिलबस्तुको शिवपुरसम्मका उपयुक्त पालिका र क्षेत्रहरुलाई जोडेर मेगासिटी बनाउन सम्भाव्यता अध्ययन र नगरपालिकाका काम कारवाहीका सूचनालाई सहजरुपमा जनतामाझ लैजानका लागि मिडिया डेस्क स्थापना गर्ने, कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा पुरस्कृत गर्ने प्रतिवद्धता गरिएको छ ।

दुईवटा नगर अस्पताल,निःशुल्क एम्बुलेन्स सेवा
पांच दलको संकल्पपत्रमा उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण, लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नती गर्ने र नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने उल्लेख छ ।
यस्तै जेष्ठ नागरिक, एकल महिला एवं अपाङ्गता भएका नागरिकहरुका लागि थप आर्थिक सुविधा उपलब्ध गराउने, एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र स्थापना, सबै वडाको सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिवद्धता छ । यस्तै सहकारीलाई विकास साझेदारका रुपमा सहभागी गराउन नीति तर्जुमा, हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने गरिने उल्लेख छ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याड,स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई निशुल्क औषधी दिने उल्लेख छ ।

आम्दा अस्पताललाई मेडिकल कलेज बनाइने
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गर्ने, मधुमेह, उच्च रक्तचाप, मुटु, मृगौला, दम, टी.बी., क्यान्सर तथा कलेजो रोगहरुको परीक्षण तथा उपचारका लागि विशेष प्रबन्ध मिलाउने र रगतमा लाग्ने सेवा शुल्क नलिने प्रतिवद्धता छ ।

झुम्सा खोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने तथा सामुदायिक भवन, पार्क, यात्रु प्रतीक्षालय जस्ता सार्वजनिक स्थानमा स्वच्छ खानेपानी व्यवस्था गर्ने , तिनाउ नदीलाई प्रदूषणमुक्त बनाई नदी क्षेत्रको सौन्दर्यकरण गर्दै अन्तर्राष्ट्रिय पर्यटक समेत आकर्षित गर्ने, सरोकारवाला निकाय र विभागहरुसँगको समन्वयमा राष्ट्रिय गौरवको एकीकृत विकास परियोजना तयार गरी कार्यान्वयन प्रकृया अगाडि बढाइने संकलपपत्रमा उल्लेख छ । ५ आर अवधारणा अन्तर्गत फोहोर व्यवस्थापन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने, फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ । घरेलु फोहोर संकलन वापत लिइदै आएको दस्तुर घटाइने छ ।
बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।
वार्षिक तीनसय घर हस्तान्तरण
यस्तै बाढी तथा पहिरोबाट प्रभावित एवम् अल्पसंख्यक, सीमान्तकृत, न्यून आय भएका, पिछडिएका, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी नगर आवास कार्यक्रममार्फत वार्षिक तीनसय घर निर्माण गरी हस्तान्तरण गर्ने संकल्प पत्रमा छ । भूउपयोग नीतिमार्फत् थोरै क्षेत्रफल भएका जग्गाको उचित व्यवस्थापन गर्ने उल्लेख छ ।
युवा स्वरोजगार केन्द्रको स्थापना गरी ‘एक घर एक उद्यमी’ कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र प्राविधिक ज्ञानको उपयोग गर्न विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।

पुरानो बुटवल सम्पदा क्षेत्र : पुरानो बुटवल (पारी बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गर्ने, ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरी पर्यटक आकर्षित गर्ने, आदिमानव रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कहरुको विस्तार तथा स्तरोन्नति गर्ने, सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गर्ने संकल्पपत्रमा उल्लेख छ
सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलो धुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गर्न पहल गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्ति सहित पुनस्र्थापना गर्ने संकल्प छ ।
बुटवल–भैरहवा विकास प्राधिकरण स्थापना
बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाको पहल गर्ने, सार्वजनिक भवन एवम् पूर्वाधारहरु अपाङ्गतामैत्री बनाउने ,सार्वजनिक पार्कहरुलाई पर्खालरहित बनाइने, अव्यवस्थित ट्रान्समिसन लाइन र दूरसञ्चारका तारहरुलाई उचित व्यवस्थापन गर्ने, महत्वपूर्ण शहरी पूर्वाधारहरुको नक्सा डिजाइन एवं योजना अवधारणा खरिद गर्न सहभागितामूलक डिजाइन प्रतिस्पर्धाको नीति अवलम्बन, अन्तर्राष्ट्रिय स्तरको एकीकृत डेटा सेन्टरको स्थापना गर्ने संकल्पपत्रमा छ ।

एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम सञ्चालन
कक्षा १२ सम्मको शिक्षा निःशुल्क
,निजी शैक्षिक प्रतिष्ठानहरुको लगानीको ग्यारेन्टी गर्ने, निजी शिक्षण संस्थामा विपन्न, दलित, एकलमहिला परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,सबै सामुदायिक विद्यालयमा न्यायोचित भौतिक सुविधा र पूर्वाधारको विकास, स्थानीय रोजगार र सिपमूलक व्यावसायिक पठनपाठनको व्यवस्था, बुटवल बहुमुखी क्याम्पसलाई प्रदेशकै उच्चस्तरीय शैक्षिक प्रतिष्ठान,‘एक कक्षाकोठा एक स्मार्ट बोर्ड’ र ‘एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
तिनाउ नदीलाई सम्पदा नदीका रुपमा विकास गरी सन्ध्याकालीन आरती र छठ पूजा गर्ने व्यवस्था मिलाउने, नयां उद्यमका लागि इन्नोभेसन सेन्टर स्थापना, सास्कृतिक संग्रहालय स्थापना,सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकूद, प्रविधिलगायतका क्षेत्रहरुमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई ‘बुटवल रत्न’का रुपमा सम्मान गर्ने संकल्पपत्रमा छ ।

रात्रिकालीन सार्वजनिक यातायात सेवा
अन्तर्राष्ट्रिय विमानस्थल सेवालाई मध्यनजर गर्दै रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन, हाट बजारलाई व्यवसायी र उपभोक्ता मैत्री बनाउने,सहायक सडकहरुमा साना व्यावसायीहरुलाई निश्चित समयमा व्यवसाय सञ्चालन गर्न दिने, आईटी पार्क निर्माण गरी सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने,स्थानीय तथा राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न विशिष्टीकृत मेला महोत्सवको आयोजना,बहुतले पार्किङ् भवन निर्माण, ‘एक गृहिणी एक उत्पादन, बुटवलको स्वाभिमान’ कार्यक्रम सञ्चालन,उत्पादित वस्तुलाई आर्थिक अनुदानसहित बजारीकरणको व्यवस्था गर्ने उल्लेख छ ।
पशुपालक कृषकलाई लक्षित गरी पशुबिमा कार्यक्रम र भेटेरिनरी सेवासहित निःशुल्क औषधी उपलब्धता, वडा नंं १४ देखि १९ वडासम्मका मोतिपुर÷सेमलार क्षेत्रलाई कृषि जोनका रुपमा विकास गर्ने र सुविधा सम्पन्न कोल्ड स्टोर स्थापना गर्ने,सहुलियतपूर्ण कृषि कर्जा,प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता,आधुनिक कृषि थोक बजार स्थापना गर्ने प्रतिवद्धता छ । प्रत्येक वडामा एक बहुउद्देश्यीय कभर्ड हल र सामुदायिक व्यायामशाला निर्माण,परम्परागत खेललाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम, सामुदायिक विद्यालयमा खेल प्रशिक्षकको व्यवस्था,खेल मैदानहरुलाई वर्गीकरण र स्तरोन्नती,उजिरसिंह रंगशाला यथाशिघ्र निर्माण,एन्फा टेक्निकल सेन्टर परिसरको क्षेत्रलाई अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई स्पोटर््स भिलेजका रुपमा विकास,वडा नं. १६ डहरगाउँस्थित खेल मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने संकल्प छ ।
संकल्पपत्र सार्वजनिक गर्दै नगरप्रमुखका उम्मेदवार खेलराज पाण्डेयले गएको पाँच बर्ष एमालेको नेतृत्वले आफैले वाचा गरेका अधिकांश प्रतिवद्धता पूरा नगर्दा नगरवासीले कुनै राहत महसुस गर्न नसकेकाले आफूहले नगरवासीलाई प्रत्यक्ष राहत पुग्ने योजनाहरु ल्याएको बताए । उनले जनप्रतिनिधिहरु शासक होइनन्, असल सेवक हुन् भन्ने मान्यतालाई व्यवहारमै प्रमाणित गरिने र बुटवल उपमहानगर चुनाव जित्ने दलको मात्र एकलौटी नभई सबै दलको अपनत्व हुने साझा चौतारी बनाइने प्रतिवद्धता जनाए । उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले आफू निर्वाचित भएपछि उपमेयरका लागि प्राप्त सवारीसाधन एम्बुलेन्सका रुपमा विरामी बोक्न प्रयोग गर्ने घोषणा गरे । बुटवलमा नेपाली कांग्रेसबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार छन् । उनीहरुलाई माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साथ दिएका छन् ।

हेरौं पूर्णपाठ
स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर पाएता पनि नगरका समस्या र नागरिकका सरोकारप्रति उदासीन बनेका कारण अनन्त सम्भावना सहितको सुन्दर बुटवल नगर आज कुरुप सहर बनेको छ । गएको पाँच बर्ष नेकपा एमालेको विकासप्रतिको दृष्टिकोणको अभाव र अकर्मण्य नेतृत्वको कारण नगरवासी निरीह साबित भएका छन् । कार्य सम्पादनका आधारमा विगतमा अग्रपंक्तिमा रहेको बुटवल उपमहानगरपालिका एमाले नेतृत्वमा पुगेपछि पछाडि मात्र परेन प्रतिस्पर्धा गर्न लायकसम्म नहुनु बुटवलबासीका निम्ति लज्जास्पद बिषय बनेको छ । नेपाली काँग्रेस नेतृत्वको संघीय सरकारले बुटवललाई यस प्रदेशको राजधानी कायम गरेकोमा प्रदेश सभाको बहुमतको दम्भका आधारमा नेकपा एमालेले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सारेर यहाँका बासिन्दामाथि अन्याय मात्र होइन घोषणापत्रमा आफैले गरेको प्रतिबद्धतालाई समेत लत्याएको छ । बुटवलको प्रशस्त सम्भावनालाई निस्तेज गरेर आउने पुस्तालाई समेत अवसरबाट वञ्चित गराएको छ । करको दायराभन्दा करको प्रतिशत बढाउने कामले नागरिक थलिएका मात्रै होइनन् उद्योगी व्यवसायीहरु विस्थापित समेत भएका छन् । सस्तो लोकप्रियता र राजनैतिक पूर्वाग्रहमा गरिएको बजेट विनियोजनले वडाहरुको विकासमा असन्तुलन पैदा भई नगरपालिका नगरबासीको साझा चौतारी बन्न सकेको छैन । बुटवल धुवाँधुलो र हिलोसहितको प्रदूषित, अव्यवस्थित एवम् असुरक्षित सहरमा रुपान्तरित भएको छ ।
बुटवललाई समानता, स्वाभिमान र अवसर सहितको बस्नयोग्य सहरका रुपमा रुपान्तरण गर्ने संकल्पका साथ यस संकल्प पत्र सहित नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरूका तर्फबाट नगरप्रमुख (मेयर) पदमा खेलराज पाण्डेय (नेपाली काँग्रेस) र उपप्रमुख (उपमेयर) पदमा चिन बहादुर गुरुङ (नेकपा (एकीकृत समाजवादी) लाई प्रस्तुत गरेका छौँ ।

हाम्रा संकल्पहरु
(क) सार्वजनिक प्रशासन
(१) निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गरिनेछ । जनप्रतिनिधिहरुको सम्पत्ति विवरण वार्षिक रुपमा सार्वजनिक गरिने छ । जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गरिने छ ।
(२) सक्षम युवाहरुबाट राय सुझाव लिन मेयर्स युथ एड्भाइजरी बोर्ड को गठन गरिने छ ।
(३) बुटवल उपमहानगरपालिकासँग सम्बन्धित देश तथा विदेशमा रहेका बुद्धिजिवी तथा उच्च पेशागत क्षेत्रमा क्रियाशील अनुसन्धानविदहरु सम्मिलित ‘बुटवलका लागि प्रबुद्ध व्यक्ति परिषद्’ गठन गरिने छ ।
(४) सार्वजनिक सेवा प्रवाहलाई फेसलेस,क्यासलेस र क्यु फ्रि बनाइनेछ । विशिष्ट सार्वजनिक सेवामा द्रुत सेवा फास्टट्रयाक प्रणालीे अवलम्बन गर्दै सेवाको होम डेलिभरीको व्यवस्था गरिने छ ।
(५) सार्वजनिक प्रशासनलाई भ्रष्टाचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गरिने छ । सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजतजस्ता सेवाहरुलाई डिजिटलाइज र झन्झटमुक्त बनाइने छ ।
(६) राजनीतिक हस्तक्षेप र दलीय प्रभाव–दवावरहित नियुक्ति र काम कारवाही गरिने छ । सेवाग्राहीको गुनासो तथा समस्या सुनुवाइ गर्न डेस्क स्थापना गरिने छ । चौमासिक कार्यप्रगती विवरणसहित सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिने छ ।
(७) बुटवल उपमहानगरपालिकामा आर्किटेक, सहरी योजनाविद्लगायत उच्च प्राविधिक जनशक्तिको आवश्यक दरबन्दी सिर्जना गरी भवन तथा पूर्वाधार निर्माणमा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने छ ।
(८) नगरभित्रका सरकारी/सार्वजनिक जग्गाको पहिचान एवम् संरक्षण गरिने छ ।
(९) नगरपालिकाका काम कारवाहीका सूचनालाई सहजरुपमा जनतामाझ लैजानका लागि मिडिया डेस्क स्थापना गरिने छ ।
(१०) उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा सम्मान तथा पुरस्कृत गरिनेछ । जनप्रतिनिधिहरु शासक होइनन, असल सेवक हुन् भन्ने कुरालाई व्यवहारमै प्रमाणित गरिने छ ।
(११) नेपाल मेडिकल एशोसिएसन, रिजनल एन्ड अर्बन प्लानर्स सोसाइटी अफ नेपाल, नेपाल ईन्जिनिएर्स एशोसिएसन जस्ता उच्च पेशागत संघसंस्थासंग नियमित अन्तर्कृया गरी आवश्यक नीति तथा कार्यक्रम निर्माण गरिने छ ।
(ख) वित्त तथा सामाजिक सुरक्षा
(१) व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गरिने छ । पालिकाले लिदै आएको घरबहाल कर, ईरिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने छ ।
(२) जेष्ठ नागरिक, एकल महिला एवम् अपाङ्गता भएका नागरिकहरुका लागि थप आर्थिक सुविधा उपलब्ध गराइने छ । एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने छ ।
(३) सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गरिनेछ । सहकारीलाई विकास साझेदारका रुपमा काम गर्न नीति तर्जुमा गरिनेछ । सहकारीलाई नगर कार्यक्षेत्र बनाउने गरी सहकारी नीति ल्याइने छ ।
(४) श्रम संस्कृतिको सम्मानलाई स्थापित गर्दै श्रमजीवी वर्ग, रोजगारदाता र लगानीकर्तालाईलाई प्रोत्साहनको नीति लिइने छ । लगानी योग्य पूँजीलाई आकर्षित गरिने छ ।
(५) सहयोगापेक्षी सडक आश्रित नागरिकहरुका लागि जग्गाको प्रबन्ध गरी आश्रयस्थलको व्यवस्थापन गरिने छ ।

(ग) स्वास्थ्य
(१) हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिने छ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ ।
(२) बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।
(३) आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गरिने छ । लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नती गरिने छ ।
(४) जटिल स्वास्थ्य समस्या जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटु, मृगौला, दम, टी.बी., क्यान्सर तथा कलेजो रोगहरुको परीक्षण तथा उपचारका लागि विशेष प्रबन्ध मिलाइने छ ।
(५) आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ ।
(६) गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै ःयदष्भि ज्भबतिज ध्यचपभच समूह गठन गरिने छ ।
(७) रक्त सञ्चार केन्द्रका लागि आवश्यक जग्गाको प्रबन्ध गरी भवन निर्माण गरिने छ । उपचारका क्रममा विरामीलाई आवश्यक पर्ने रगतमा लाग्ने सेवा शुल्क नलिने व्यवस्था गरिने छ ।
(८) सम्पूर्ण नगरबासीलाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिने छ । नगरवासीको जीवन र दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याइने छ ।
(९) उपमहानगरपालिका कार्यालय परिसरमा २४ घण्टे स्वास्थ्य सेवा कक्ष सञ्चालनमा ल्याइने छ ।

(घ) खानेपानी तथा सरसफाई
(१) नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याइनेछ । उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराइने छ । झुम्सा खोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गरिने छ ।
(२) सामुदायिक भवन, पार्क, यात्रु प्रतीक्षालय जस्ता सार्वजनिक स्थानमा स्वच्छ खानेपानी धाराको निर्माण गरी पानीको नियमित गुणस्तर जाँच एवम् परीक्षण गरिने छ ।
(३) कोरियाली हान नदी सरसफाइ जस्ता सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको मौलिक अवलम्बन गरी तिनाउ नदीलाई प्रदूषणमुक्त बनाई नदी क्षेत्रको सौन्दर्यकरण गर्दै अन्तर्राष्ट्रिय पर्यटक समेत आकर्षित गरिने छ । सरोकारवाला निकाय र विभागहरुसँगको समन्वयमा राष्ट्रिय गौरवको एकीकृत विकास परियोजना तयार गरी कार्यान्वयन प्रकृया अगाडि बढाइने छ ।
(४) छ- अवधारणा अन्तर्गत फोहोर व्यवस्थापन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरिनेछ । फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ । घरेलु फोहोर संकलन वापत लिइदै आएको दस्तुर घटाइने छ ।
(५) बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।

(ङ) प्रकृति, पर्यटन र पूर्वाधार
(१) आवश्यक रंगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती, फराकिला पैदलमार्ग आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाइने छ ।
(२) सडक छेउमा उपयुक्त फूल, वनस्पती एवम् वृक्षरोपण गरी हरियाली बेल्ट निर्माण गरिने छ । पैदल यात्रुहरुको सुबिधाका लागि छहारीसहित कुर्सीहरुको व्यवस्था गरिने छ ।
(३) सहरी वन ९ग्चदबल ँयचभकतचथ० अवधारणा अन्तर्गत बजार एवम् आवासीय क्षेत्रका सार्वजनिक जग्गाहरु पहिचान गरी सहरी वन क्षेत्रका रुपमा विकास गरिने छ । पोखरी एवम् तालको निर्माण गर्दै जलसम्पदा र जैविक विविधताको संरक्षण गरिने छ ।
(४) प्रकृतिमैत्री अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत् ज्योतिनगर एवम् पाखापानी पहिरो नियन्त्रण गरी वस्तीलाई व्यवस्थित र सुरक्षित बनाइने छ । नदी कटान क्षेत्रहरुको कटान नियन्त्रण गरी नदीसंरक्षण गरिने छ । पर्यापर्यटन, फलफूल तथा जडिबुटी खेतीमार्फत् समुदायको जिविकोपार्जन एवम् आयआर्जनमा सहयोग पुग्नेगरी कृषि वन, निजी वन एवम् सामुदायिक वन प्रबर्धनका कार्यक्रमहरु संचालन गरिने छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसंगको सहकार्यमा वन तथा जलाधार क्षेत्रको संरक्षण गरिने छ ।
(५) त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी ब्ष्च त्तगबष्तिथ क्भलकयच सहित प्रदूषण मापन केन्द्र स्थापना गरिने छ ।
(६) वाल्मिकी आश्रम, त्रिवेणीधाम, रामग्राम, लुम्बिनी, तिलौराकोट, श्रीनगर, भैरवस्थान, रेसुङ्गा, सुपादेउराली, सिद्धबाबा मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरुको केन्द्र भागमा पर्ने बुटवल उपमहानगरपालिका क्षेत्रलाई पर्यटक विश्रामस्थलका रुपमा विकास गरिने छ ।
(७) ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन गर्दै यसको ऐतिहासिकतालाई चित्रण गर्ने वृत्तचित्र निर्माण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरि पर्यटक आकर्षित गरिनेछ । पुरानो वुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गरिने छ । आदिमानव रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कहरुको विस्तार तथा स्तरोन्नति गरिने छ । सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गरिने छ ।
(८) सद्धार्थराजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गरिने छ । तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्ति सहित पुर्नस्थापना गरिने छ ।
(९) बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवम् पहल गरिने छ ।
(१०) सार्वजनिक भवन एवम् पूर्वाधारहरु अपाङ्गतामैत्री बनाइने छ । बजार क्षेत्रका सार्वजनिक पार्कहरुलाई पर्खालरहित बनाइने छ । अव्यवस्थित ट्रान्समिसन लाइन र दूरसञ्चारका तारहरुलाई आवश्यक व्यवस्थापन गरिने छ ।
(११) महत्वपूर्ण सहरी पूर्वाधारहरुको नक्सा डिजाइन एवम् योजना अवधारणा खरिद गर्न सहभागितामूलक डिजाइन प्रतिस्पर्धाको नीति अवलम्बन गरिने छ । नेपालीपन झल्किने तथा उच्च कलात्मक ज्ञान र शैलीमा निर्मित निजी आवास तथा भवनहरुलाई कर छुट तथा विशेष सुविधाहरु प्रदान गरिने छ ।
(१२) दोभासेको व्यवस्थासहित पर्यटक सूचना र सहायता केन्द्रको स्थापना गरिने छ । बुटवल नगरपरिसर भित्र प्रजातान्त्रिक समाजवादका प्रणेता विपी कोइराला, पुष्पलाल श्रेष्ठ र सूर्यप्रसाद प्रधानको स्मृति पार्क निर्माण गरिने छ । बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ ।
(१३) अन्तर्राष्ट्रिय स्तरको एकीकृत डेटा सेन्टरको स्थापना गरिने छ ।
(१४) दिगो विकास लक्ष्य हाँसिल गर्ने कार्यमा योगदान पु¥याउन आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
(१५) बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक प्रकृया र आधारभूत पूर्वाधारका निम्ति सहयोग गरिने छ । नक्सा पास नगरी बनेका घरभवनहरुको अभिलेखीकरण गरी आवश्यक प्रक्रियामार्फत् निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गरिने छ ।
(१६) बुटवल, सैनामैना, शुद्धोधन, तिलोत्तमा, देवदह र सिद्धार्थनगरलाई समेटेर महानगर बनाउन प्राथमिकताकासाथ पहल गरिने छ । नवलपरासीको बर्दघाटदेखि कपिलबस्तुको शिवपुरसम्मका उपयुक्त पालिका र क्षेत्रहरुलाई जोडेर मेगासिटी बनाउन सम्भाव्यता अध्ययन गरिने छ ।

(च) शिक्षा तथा संस्कृति
(१) शिक्षण सिकाइ प्रक्रियालाई सरल, प्रभावकारी र गुणस्तरीय बनाउन सामुदायिक, संस्थागत तथा गुठीमार्फत् सञ्चालित विद्यालयका विषयविज्ञ शिक्षकहरुको रोस्टर बनाई तालिम, प्रशिक्षणको व्यवस्था गरिने छ ।
(२) निजी शैक्षिक प्रतिष्ठानहरुलाई लगानीको ग्यारेन्टी दिइने छ । निजी शिक्षण संस्थामा विपन्न, दलित, एकलमहिला परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने छ । निजी तथा सामुदायिक विद्यालयलाई नियमन र अनुगमन गरिने छ । सामुदायिक शिक्षाको सबलीकरण गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालयमा न्यायोचित भौतिक सुविधा र पूर्वाधारको विकास गरिने छ । स्थानीय रोजगार र सिपमूलक व्यावसायिक पठनपाठनको व्यवस्था मिलाइने छ ।
(३) बुटवल बहुमुखी क्याम्पसलाई यस प्रदेशकै उच्चस्तरीय शैक्षिक प्रतिष्ठान तथा अनुसन्धान केन्द्रका रुपमा स्तरोन्नति गरिने छ । नगर क्षेत्रमा रहेका सरकारी तथा सामुदायिक क्याम्पसमा सुविधा सम्पन्न प्राध्यापक कक्षको निर्माण गरिने छ ।
(४) बालसहजकर्ता र विद्यालय कर्मचारीहरुलाई उचित पारिश्रमिक र उपदान कोषको व्यवस्था गरिने छ । ‘एक कक्षाकोठा एक स्मार्टबोर्ड’ र ‘एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम सञ्चालन गरिने छ ।
(५) शैक्षिक क्षेत्रलाई राजनैतिक प्रभावमुक्त बनाइनेछ । कक्षा १२ सम्मको शिक्षा निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइने छ । आदिमानव रामापिथेकस, मणिमुकुन्द सेन, जीतगढी किल्ला लगायत विशिष्ट एवम् ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका विषयवस्तुलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरी लागु गरिने छ ।
(६) हरेक जाति र समुदायको भाषा, धर्म, सँस्कृति तथा विशिष्ट पहिचान स्थापित गर्दै मठ, मन्दिर, गिर्जाघर, गुम्बा, मस्जिदलगायत अन्य धार्मिक धरोहरहरुको संरक्षण गरिने छ । तिनाउ नदीलाई सम्पदा नदीका रुपमा विकास गरी सन्ध्याकालीन आरतीको व्यवस्था मिलाइने छ । तिनाउमै मधेशी समुदायको लागि छठ पूजा गर्ने स्थल बनाइने छ ।
(७) राष्ट्रिय आविष्कार केन्द्रलगायत अन्य अन्वेषण केन्द्रहरुसँग समन्वय गर्दै क्ष्ललयखबतष्यल ऋभलतचभ स्थापना गरिने छ ।
(८) बुटवल नगरक्षेत्रमा कला, साहित्य र संस्कृति अध्ययन अनुसन्धानकालागि प्रतिष्ठान गठन गरिने छ । जात–जातिका भाषा, सँस्कृति झल्कने गरी सास्कृतिक संग्रहालय स्थापना गरिने छ ।
(९) अटिज्म र सुस्तमनस्थिति भएका बालबालिकाहरु लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने छ । बालश्रम अन्त्यकालागि विशेष कार्यक्रम ल्याइने छ ।
(१०) सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकूद, प्रविधिलगायतका क्षेत्रहरुमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई ‘बुटवल रत्न’का रुपमा सम्मानित गरिने छ ।
(११) मैनावगरमा निर्माणाधिन अवस्थामा रहेको शवदाहगृहको निर्माण पूरा गरी यथाशिघ्र सञ्चालनमा ल्याइने छ । मुस्लिम समुदायका लागि कब्रस्तान र क्रिश्चियन समुदायका लागि समाधिस्थलको व्यवस्था गरिने छ ।

(छ) शान्ति सुव्यवस्था
(१) एक वडा एक प्रहरी चौकीको अवधारणा अन्तर्गत प्रहरी चौकीको आवश्यक विस्तार गरिने छ । आवश्यक सार्वजनिक स्थलहरुमा ऋऋत्ख् क्यामेरा जडान गरिने छ ।
(२) नगरप्रहरीलाई अङ्ग्रेजी भाषा, व्यक्तित्व विकास तालिम र आधुनिक युनिफर्मसहित आवश्यक सुधार र आधुनिकीकरण गर्दै जनउत्तरदायी बनाइने छ ।
(३) जातीय, साँस्कृतिक, लैङ्गिक, वर्गीय, सामाजिक विभेदको अन्त्य गर्न प्रहरी र समुदायको सहकार्य मार्फत् आवश्यक कार्यक्रम सन्चालन गरिने छ । घरेलु तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अख्तियार गरिने छ ।
(४) नगर प्रहरी भित्र एन्टी ह्यारेसमेन्ट स्क्वायड गठन गरिने छ ।

(ज) सडक तथा यातायात
(१) बुटवल नगरक्षेत्रका सम्पूर्ण सडकहरुलाई कालोपत्रे तथा स्तरोन्नती गरिने छ । बुटवल बजारका प्रमुख चोकहरुमा मानवीय दुर्घटना न्यूनीकरणका लागि आवश्यक पूर्वाधारको निर्माण गरिने छ ।
(२) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुटवल सहर आवत–जावतका लागि शटल बस व्यवस्था गरिने छ ।
(३) सार्वजनिक यातायातलाई सुरक्षित, सुविधाजनक, प्रविधियुक्त र भरपर्दो बनाइने छ । डिजिटल डिस्प्ले बोर्डसहितको सुविधा सम्पन्न प्रतीक्षालय निर्माण गरिने छ ।
(४) साइकल मैत्री सहर निर्माणका लागि डेडिकेटेड साइकल लेनको व्यवस्था गरिने छ ।
(५) अटो व्यवसायीसँग सहकार्य गर्दै नयाँ अन्तर्राष्ट्रियस्तरको अटो भिलेजको निर्माण गरिने छ । अटोभिलेजमा अटोमोबाइल सम्बन्धी प्राविधिक शिक्षालय स्थापना गरिने छ ।
(६) गोलपार्क–लक्ष्मीनगर–हिलपार्क–शिवनगर–धागोकारखाना–योगीकुटी–मगरघाट– मोतीपुर–सेमलार–तामनगर–बदेलपोखरी–फूलबारी–गोलपार्क जोड्ने चक्रपथको निर्माण गरिने छ ।
(७) वडा नं. १० को अभियान पथ र हरियाली पथलाई स्तरोन्नती सहित कालोपत्रे र सौन्दर्यकरण गरिने छ ।
(८) अन्तर्राष्ट्रिय विमानस्थल सेवालाई मध्यनजर गर्दै सुरक्षित रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालनको व्यवस्था मिलाइने छ ।

(झ) उद्योग, व्यापार, बजार र रोजगारी
(१) हाट बजारलाई व्यवसायी र उपभोक्ता मैत्री बनाइने छ । साना तथा स्थानीय उत्पादन प्रबद्र्धन गर्ने व्यापार व्यवसायमा लगाइएको कर घटाइने छ ।
(२) हाटबजारहरुलाई परम्परादेखि चलिआएको बजारका अतिरिक्त अन्य दिनहरुमा पनि विशिष्टीकृत वजारका रुपमा सञ्चालन गरिने छ ।
(३) वुटवल उपमहानगर क्षेत्र भित्र रहेका व्यावसायिक संघ÷संस्थाहरुको सहकार्यमा व्यवसायी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।
(४) उपमहानगरपालिका भित्रका सहायक सडकहरुमा साना व्यावसायीहरुलाई निश्चित समय व्यवसाय सञ्चालनको वातावरण बनाइने छ ।
(५) आइटी पार्क निर्माण गरी सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गरिने छ ।
(६) स्थानीय तथा राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न विशिष्टीकृत मेला महोत्सवको आयोजना गरिने छ ।
(७) अन्तर्राष्ट्रिय दातृ निकाय, संघ संस्था एवम् संसारका प्रमुख सहरहरुसँग सम्बन्ध स्थापित गरी प्रविधि र लगानी भित्र्याइने छ ।
(८) प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा २५÷३० वर्षदेखि स्थानीयको बसोबास तथा हकभोगमा रहेको करिव २५० बिगाहा जग्गा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरी बाँकी रहेको जग्गामा स्मार्ट औद्योगिक क्षेत्र स्थापना गरिने छ ।
(९) युवा स्वरोजगार केन्द्रको स्थापना गरी ‘एक घर एक उद्यमी’ कार्यक्रम सञ्चालन गरिने छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र प्राविधिक क्षमताको उपयोग गर्न विशेष कार्यक्रम ल्याइने छ ।
(१०) निश्चित स्थानहरुमा चौबिसै घण्टा व्यापार व्यवसाय सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाइने छ ।
(११) पार्किङ समस्या समाधानका लागि मुख्य बजारक्षेत्रमा उपयुक्त जग्गा पहिचान गरी बहुतले पार्किङ् भवन निर्माण गरिने छ ।
(१२) घरेलु तथा मझौला उद्योगलाई प्राथमिकता दिई लगानी मैत्री वातावरण निर्माण नीति अवलम्बन गरिने छ ।
(१३) गृहिणी उद्यमशीलतालाई प्रबद्र्धन गरी ‘एक गृहिणी एक उत्पादन, बुटवलको स्वाभिमान’ कार्यक्रम सञ्चालन गरिने छ । उत्पादित वस्तुलाई आर्थिक अनुदानसहित बजारीकरणको व्यवस्था गरिने छ ।

(ञ) अव्यवस्थित बस्ती तथा सुकुम्बासी समस्या
(१) सुकुम्बासी तथा अव्यवस्थित बसोवास गरिरहेका नागरिकलाई एक वर्षभित्र अल्पकालीन बसोबास प्रमाणपुर्जा र दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराईने छ ।
(२) उपयुक्त जग्गाको पहिचान गरी बाढी तथा पहिरोबाट प्रभावित एवम् अल्पसंख्यक, सीमान्तकृत, न्यून आय भएका, पिछडिएका, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी सुरक्षित र व्यवस्थित नगर आवास कार्यक्रम मार्फत वार्षिक ३०० सय घर निर्माण गरी हस्तान्तरण गरिने छ ।
(३) भूउपयोग नीतिमार्फत् साना क्षेत्रफल भएका जग्गाको उचित व्यवस्थापन गरिने छ ।

(ट) कृषि तथा पशुपालन
(१) बुटवल उपमहानगरपालिका भित्रका सम्भावित स्थानहरुमा आधुनिक तथा व्यावसायिक खेती प्रबद्र्धनका लागि कृषि विशेषज्ञसहितको विशेष सहुलियत कार्यक्रम सञ्चालन गरिने छ ।
(२) पशुपालक कृषकलाई लक्षित गरी पशुबिमा कार्यक्रम र भेटेरिनरी सेवासहित निःशुल्क औषधी उपलब्ध गराइने छ ।
(३) बुटवल उपमहानगरपालिका भित्र रहेका १४ देखि १९ वडासम्मका मोतीपुर÷सेमलार क्षेत्रलाई कृषि जोनका रुपमा विकास गरिने छ । सुविधा सम्पन्न कोल्ड स्टोर (चिस्यान केन्द्र) स्थापना गरिने छ ।
(४) कृषकहरुका लागि सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने ब्यवस्था मिलाइने छ । प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता दिइने छ । आधुनिक कृषि मण्डीको स्थापना गरी बुटवल नगरभित्र उत्पादित कृषिजन्य बस्तुलाई कृषि मण्डीसँग जोड्न उपयुक्त कार्यक्रम ल्याइने छ ।
(५) सिँचाई सुविधाका लागि व्यवस्थित पक्की तथा झरन कुलाहरुको निर्माण तथा व्यवस्थापन गरिने छ । चारतपाहा सिँचाई आयोजनाको स्तरोन्नती गरिने छ ।
(६) कृषि अनुदानमा हुनेगरेको अनियमितता र दुरुपयोग रोक्न नियमित अनुगमन सहितको बलियो संयन्त्र निर्माण गरिने छ ।
७) निर्माणाधिन पशु वधशालालाई आधुनिक र व्यवस्थित गर्दै मासुजन्य व्यवसायलाई प्रोत्साहन र गुणस्तरको नियमित परिक्षण गरिने छ ।

(ठ) खेलकुद
(१) प्रत्येक वडामा एक बहुउद्देश्यीय कवर्डहल र सामुदायिक व्यायामशाला निर्माण गरिने छ ।
(२) परम्परागत खेललाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम ल्याइने छ ।
(३) सामुदायिक विद्यालयहरुका लागि आवश्यक खेल प्रशिक्षकको व्यवस्था गरिने छ । खेल मैदानहरुलाई वर्गीकरण गरी स्तरोन्नती गरिने छ ।
(४) वडा नं. १३ मा अवस्थित प्रस्तावित राष्ट्रिय स्तरको उजिर सिंह रंगशाला यथाशिघ्र निर्माणका लागि प्रदेश÷संघीय सरकारसँग पहल गरिने छ ।
(५) वडा नं. ११ मा रहेको एन्फा टेक्निकल सेन्टरसँग रहेको क्षेत्रलाई अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई स्पोटर््स जोनका रुपमा विकास गरिने छ ।
(६) वडा नं. १६ डहरगाउँ स्थित खेल मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने छ ।

लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । मेयर उम्मेदवार कांग्रेस र उपमेयर एकीकृत समाजवादीका चिनबहादुर गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस्