सेमराबजारमा १५ शैंयाको अस्पताल बनाउने प्रतिवद्धता


appharu

२२ बैशाख २०७९, बिहीबार १५:२३ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । नेकपा एमालेलेतिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने भएको छ । स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने उल्लेख गरेको हो ।
जमिनको स्वामित्व प्राप्त नहुँदा अस्पताल निर्माणमा अलमल भैरहँदा अहिलेका जनप्रतिनिधिहरुको पहलमा स्वास्थ्य चौकीको नाममा १६ कठ्ठा ५ धुर जग्गाको लालपूर्जा २०७८ जेठ २७ गते प्राप्त भएको थियो । मन्त्रिपरिषद्को २०७७ चैत ३० को बैठकले सरकारको नाममा रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
अघिल्लो संघीय सरकारले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने नीतिगतनिर्णय गरेकोमा तिलोत्तमा नगरपालिकाले त्यसको कार्यान्वयनको लागि २०७८ साउन १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट निकासाका लागि पत्राचार गरेको थियो । डिपिआरअनुसार १५ शैंयाको अस्पताल निर्माणको लागि १४ करोड ४७ लाख बजेट लागत अनुमान गरिएको छ । तर, केपी ओली नेतृत्वको संघीय सरकार बिघटन भएसँगै अस्पताल निर्माणको प्रक्रिया अघि बढ्न नसकेको छैन । यहीँसन्दर्भमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धतामा जोड दिएको हो ।
एमालेको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार जागेश्वरी चौधरीले सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्ने विषयलाई पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो । संघीय सरकार परिवर्तनसँगै स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने काममा आलटाल भएको बताउँदै उहाँले नगरमा हाल दुई ठाउँमा अस्पताल निर्माणको क्रममा रहे पनि सेमरामा नयाँ अस्पताल बन्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्