अन्य पार्टी असफल भएकोले बैकल्पिक पार्टीलाई मत : जनमुक्ति उपाध्यक्ष बिरकट्टा


appharu

२३ बैशाख २०७९, शुक्रबार १८:५८ मा प्रकाशित

पालिकापत्र,बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अनुगमन तथा मुल्याङ्कन समिति संयोजक दलबहादुर बिरकट्टा मगरले अहिलेसम्म सत्ता सञ्चालन गरेका दलहरुको परीक्षण भैसकेकोले आगामि निर्वाचनमा जनताले नयाँ राजनीतिक दललाई सत्ता सञ्चालन गर्ने अवसर दिनुपर्ने बताएका छन् ।
कांग्रेस,एमाले,माअ‍ेवादी लगायतका दलहरुबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उनले यसपटकको निर्वाचनमा बैकल्पीक राजनीतिक शक्तिको रुपमा उदायको जनमुक्ति पार्टीका उम्मेदवारहरुलाई मत दिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिद्धारा शुक्रबार तिलोत्तमाको कान्छीबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टारको अन्त्य गरी मुलुकको समृद्धिका लागि जनमुक्ति पार्टीलाई जिताउन आग्रह गरेका हुन् ।
नेपालमा संघीयताको एजेण्डा उठाउने पहिलो पार्टी जनमुक्ति पार्टी भएको दाबी गर्दै बिरकट्टाले अहिले स्थानीय तहमा जुन अधिकार प्राप्त भएका छन् त्यसमा जनमुक्ति पार्टीको योगदान महत्वपूर्ण भएको बताए ।यद्यपी स्थानीय तहमा अहिले प्राप्त अधिकार भने पूर्ण नभएको उनको भनाई थियो ।
कार्यक्रममा जनमुक्ति पार्टीबाट तिलोत्तमा नगरपालिकामा मेयरका उम्मेदवार सुन्दर गुरुङले तिलोत्तमामा भ्रष्टाचार नियन्त्रण मात्रै नभएर निर्मूल गरी समृद्ध तिलोत्तमा निर्माणका लागि आफुहरुको उम्मेदवारी रहेको बताए ।
संघीय सरकारले विदेशी निकायको सहयोगमा बनेको राजमार्गलाई हेरेर तिलोत्तमालाई उत्कृष्ठ नगरपालिकाको दर्जा दिन नहुने भन्दै उनले नगरका भित्रि सडकहरुको दुरावस्था बारे सम्बन्धित निकाय बेखबर भएको बताए ।
उप मेयरकी उम्मेदवार गिता सारुले तिलोत्तमावासीलाई सहज,स्वतन्त्र र निस्पक्ष न्याय दिलाउन र सुशासन सहितको विकास निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।
राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ,जिल्ला अध्यक्ष प्रेमबहादुर थापा,राष्ट्रिय जनमुक्ति पार्टीबाट तिलोत्तमा वडा नं १० मा वडा अध्यक्षका उम्मेदवार महादेव थारु,जनमुक्ति युवा संघ लुम्बिनी प्रदेश सचिब इन्दु थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्