भ्रष्टाचार निर्मूल पार्न जनमुक्ति पार्टीलाई मत : कार्यकारी अध्यक्ष सुर्यवंशी


appharu

२५ बैशाख २०७९, आईतवार १९:२७ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीले भ्रष्टाचार नियन्त्रण मात्रै नभएर निर्मूल पार्न जनमुक्ति पार्टीका उम्मेदवारलाई मत दिनुपर्ने बताएका छन् ।
भ्रष्टाचार निर्मूल गर्ने एजेण्डा बोक्ने एकमात्र दल राष्ट्रिय जनमुक्ति पार्टी भएको दाबी गर्दै उनले भ्रष्टाचार निर्मूल गरी मुलुकको समृद्धिका लागि जनमुक्ति पार्टीका उम्मेदवारलाई मत दिनुपर्ने बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिद्धारा आज तिलोत्तमाको ड्राइभरटोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले तिलोत्तमाको समग्र विकासका लागि जनमुक्ति पार्टीका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे ।
स्वदेशका खेतियोग्य जमिन बाझो राखेर अर्बौको तरकारी तथा फलफुल आयात गर्नेहरुले मुलुकको समृद्धिको गफ चुट्ने गरेको भन्दै उनले पर्याप्त यात्रु नपाएर बसहरुले नम्बर मिस गर्नुपर्ने अवस्था रहेको मुलुकमा रेल र पानी जहाजको सपना देखाएर जनतालाई बेकुब बनाउने काम गरेको टिप्पणी गरे ।
जसको एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्र थिएन उसैले सरकारको नेतृत्व गरेकोले गणतन्त्र असफलतातर्फ गएको बताउदै कार्यकारी अध्यक्ष सुर्यवंशीले उनिहरुले गणतन्त्रलाई गनतन्त्रमा परिणण गरेको आरोप लगाए ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट तिलोत्तमा नगरपालिकाको मेयरका उम्मेदवार सुन्दर गुरुङले तिलोत्तमावासीको जिवनस्तर माथि उठाउने एजेण्डा सहित जनमुक्ती पार्टी चुनावी अभियानमा लागेको भन्दै तिलोत्तमाको शासन ब्यवस्था परिवर्तन र समृद्धिका लागि तिलोत्तमावासीहरु पनि परिवर्तन हुनपर्नेमा जोड दिए ।
आफुहरुसँग तिलोत्तमाको समग्र विकास र समृद्धिको योजना रहेको भन्दै उनले समृद्धिको सपना साकार पार्न यस पटक तिलोत्तमामा जनमुक्ति पार्टीका उम्मेदवारलाई मत दिन अपिल गरे ।
पार्टीका केन्द्रीय सचिब समेत रहेकी उपमेयरकी उम्मेदवार गिता सारुले तिलोत्तमावासी जनतामा सुशासनको प्रत्याभुती दिलाउन आफ्नो उम्मेदवारी रहेको बताउदै यसअघि जनजाती महिला उपमेयर भए पनि हिंसामा परेका तिलोत्तमाका महिला तथा जनजातीहरुको पिडामा मल्हम लगाउने काम नगरेको गुनासो गरिन् ।
पार्टीका तिलोत्तमा नगर बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर बलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ,जिल्ला अध्यक्ष प्रेम बहादुर थापा,जनमुक्ति युवा संघका प्रदेश सचिब इन्दु थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्