बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढाल्दै खेलराजको जित पक्का


appharu

३ जेष्ठ २०७९, मंगलवार ०८:५१ मा प्रकाशित

पालिकापत्र, बुटवल । २५ वर्षदेखि एमालेको एकछत्र राजलाई ढाल्दै यसपटक बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डेयले जित्ने करिब पक्का भएको छ । बुटवलमा २०५४ यताका सबै चुनावमा एमालेले जित्दै आएको थियो । र बुटवललाई देशभरकै सुरक्षित किल्ला दावी गर्दै आएको थियो ।
उपमहानगरका १९ मध्ये ८ वटा वडाको मत गणनाको परिणाम अनुसार नेपाली कांग्रेसका खेलराज पाण्डेय एमालेका उम्मेदवार भन्दा करिब ३५ सय मतले अगाडि छन् ।

१८ हजार ७ सय २६ मत गनिसक्दा खेलराजले ८ हजार ९ सय २६ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईले ५ हजार ९ सय ८० मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनले १७ सय ६४ मत पाएका छन् । यसमा वडा नंं ५ को मत परिणाम समावेश छैन । वडा नंं ५ मा पनि कांग्रेसले प्यानल सहित जितेको छ भने वडा नं १६ मा पनि अगाडि छ ।
अघिल्लो चुनावमा ३ वटा वडा मात्र जितेको कांग्रेसले ८ वटा वडाको नतिजा आउदा नै ३ वटा वडा भारी मतले जितिसकेको छ । अब गणना हुन बांकी ११ वटा वडामा पनि कांग्रेसले नै लिड गर्ने भएकाले मेयरमा जित पक्का भइसकेको कांग्रेस नेता कार्यकर्ताहरुले बताउन थालेका छन् ।
यो समाचार तयार पार्दासम्म वडा नं १, २, ३, ४, ५, १७, १८ र १९ को मत परिणाम आइसकेको छ । गणना भइरहेका वडा नं १६ मा पनि खेलराजको अग्रता देखिएको छ । ‘गणना भइरहेका वडाको अन्तिम नतिजा आउँदासम्म करिब ४ हजार मतले अगाडि हुन्छौं,’ कांग्रेस बुटवल नगर सचिव छांया पोखरेलले भने ।

बुटवलमा अब करिब ४० हजार मत गन्न बांकी छ । एमालेले जित्दै आएका वडामा कांग्रेसले प्यानलै सहित जित हासिल गर्नु र सबैभन्दा धेरै १० हजार बढी मत खसेको वडा नंं ११ मा कांग्रेसको संगठन मजबुद बनेकाले मेयर पदमा खेलराजको जित् करिब पक्का जस्तै भएको कांग्रेस रुपन्देही २ का क्षेत्रीय सचिव प्रजापाल गिरी बताउंछन् । ‘अहिलेसम्मको सिनारियो हर्दा हामी करिब ५ हजार मत अन्तरले जित्छौं भन्ने अनुमान छ, मतान्तर तल माथि होला तर जित निश्चित भइसक्यो’–पालिकापत्रसंग गिरीले भने –‘एमालेका साथीहरुले हार स्वीकार गरेर हारको कारण समीक्षा गर्न थालिसक्नुभयो ।’
एमालेका एक कार्यकर्ता बुटवलमा एमालेले हार्नु भनेको सोझै विष्णु पौडेलले हार्नु हो भन्छन् । अहिलेको परिणामले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने उनले बताए ।

उपमेयरमा भने एमालेकी सावित्रादेवी अर्यालको अग्रता कायमै छ । उनले ६ हजार ६२८ मत पाउँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५ हजार ४८ मत पाएका छन् । राप्रपाकी भगवती पाण्डेले २३ सय ६३ मत ल्याएकी छन् ।अघिल्लो चुनावमा झिनो मतले पछि परेपनि निरन्तर जनताको घरदैलोमा खटेर समास्या समाधानमा पहल गरेको, सबै दलसंग समन्वय र सहकार्य गर्ने सरल स्वभाव शैली र गठबन्धनको साथका कारण खेलराजको जित सहज भएको हो । खासगरी एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको राम्रै उपस्थिति एमालेको किल्ला भत्किनुको अर्को कारण भएको नेकपा एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष राजु गुरुण् बताउंछन् । ‘एमालेले हामीहरुलाई रुखबाट झरेका दुई चार पात भनेर जसरी अवमुल्यन गरेको थियो,दम्भ देखाएको थियो त्यसको शुरुवाती नतिजा हो यो, अब यसपछि एकीकेत समाजवादीको शक्ति र ताकत झन् देखिदै जानेछ ’ अध्यक्ष गुरुङले भने । एमाले नेतृत्वमा स्थानीयदेखि केन्द्र सरकारसम्म भएका तमाम आर्थिक घोटाला, असंवैधानिक ढंगले २ पटकसम्म संसद विघटन, एमालेकै तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको जोडबलमा प्रदेशको राजधानी बुटवलबाट सारेर दाङ पुराएको, मौतिपुर औद्योगिक क्षेत्र, तिनाउ दानव कोरिडोर, ज्योतिनगर पहिरो प्रभावित का समस्या र सुकुम्बासीलाई बारम्बार दिइएको आश्वासन एमालेले पूरा नगरेको र र चौराहा–गोलपार्क सडक निर्माणमा ढिलासुस्ती जस्ता कारणले एमालेले आफ्नो किल्ला गुमाउने अवस्था आएको राजनीतिक विश्लेषक मनिकर कार्की बताउंछन् ।

प्रतिक्रिया दिनुहोस्