तिलोत्तमामा मत गन्दा एमाले निकट गणकले धांधली गरेको आरोप, कांग्रेसद्वारा नाराबाजी


appharu

३ जेष्ठ २०७९, मंगलवार १०:४९ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बद्मासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध प्रदर्शन र नाराबाजी भएको छ । वडा नंंं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको १६६ मत आएकोलाई १९६ भनेर तथा कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर अभिलेख राखेको पाइएपछि विरोध भएको हो ।

विरोध र नाराबाजीका कारण मतदान स्थगित भएको छ । कांग्रेस कार्यकर्ताले गणकहरुले सरासर बद्मासी गरेको भन्दै धांधली गर्ने कर्मचारीमाथि छानवीन र कारवाहीको माग गरेका छन् । मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्नं लागेको नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१६ का वडाध्यक्ष उम्मेद्वार झविलाल भुसालले जानकारी दिए । निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले अभिलेख राख्नेक्रममा त्रुटी भएको स्वीकार गर्दै अबदेखि अभिलेखमा दुबै पक्षको हस्ताक्षर गराएर मात्र रुजु गरिने बताएका छन् । यो खबर तयार गर्दासम्म स्थगित मतगणना सुचारु गर्न सर्वदलीय वैठक बसिरहेको छ । तिलोत्तमामा कांग्रेसका रामकृष्ण खांण र एमालेका मोहन चापागाईबीच मेयर पदमा कडा टक्कर छ ।

प्रतिक्रिया दिनुहोस्