विदा हुंदै के भने बासुदेवले ?


पालिका पत्र

६ जेष्ठ २०७९, शुक्रबार २१:०४ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । ५ वर्षे कार्यकाल पूरा गरेर विदा भएपछि तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर बासुदेव घिमिरेले आफू जनप्रतिनिधि नभएपनि तिलोत्तमाकै विकासमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै उनले यस्तो लेखेका छन् :

घिमिरेको स्टाटस जस्ताको तेस्तै
२०७४ असार १४ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट नगर प्रमुख पदमा निर्वाचित म बासुदेव घिमिरेलगायत सम्पूर्ण जनप्रतिनिधिहरुको कार्यकाल पूरा भएको छ । यो सन्दर्भमा म लगायत हाम्रो टीमलाई निर्वाचित गराउन आफ्नो अमूल्य मत दिनुहुने सम्पूर्ण मतदाताहरु सहित पाँच वर्षको कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने उपप्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, शिक्षक—कर्मचारी, राजनीतिक दल, सचिवालय, संघ संस्था, निकाय, विकास साझेदारी, क्लव, आमा समूह, सञ्चार संस्था एवं सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न पेशाकर्मी लगायत सबै नगरबासीमा हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।
साविकका सात वटा गाविस मिलेर २०७१ सालमा बनेको यस तिलोत्तमा नगरपालिकामा हाम्रो टीमले पाँच वर्षको अवधिमा गरेका कामले नगरको समग्र विकासमा नयाँ आयाम ल्याएको यहाँहरुले महशुस गर्नुभएकैं छ । पाँच वर्षको अवधिमा सहरी पूर्वाधार, नीतिगत निर्णय, स्थानीय कानुन, आवधिक र दीर्घकालीन योजना निर्माण, महिला तथा आर्थिक—सामाजिक रुपमा पछि पारिएको वर्ग समुदायको उत्थान—सशक्तिकरण, सीप विकास, सचेतना अभिवृद्धिका क्षेत्रमा महत्वपूर्ण कामहरु भएका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, भौतिक पूर्वाधार, उद्यमशीलता, सहरी सौन्दर्य, सामाजिक उत्थान, खेलकुद, पर्यटन, सामाजिक सशक्तिकरण, बालबालिकाको सर्वोपरी हित, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा समाजमा पछि पारिएका वर्ग, समुदायको उत्थान लगायतका सबै क्षेत्रमा हाम्रो टीमले अल्पकालीन र दीर्घकालीन लक्ष्यका साथ काम अघि बढाएको यहाँहरुलाई जानकारी भएकैं विषय हो । यो अवधिमा हामीले चलाएका अभियान, गरेका असल अभ्यास, विकास निर्माणको कामको मूल्यांकनबाट तिलोत्तमा नगरपालिका लगातार दुई पटक उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भैसकेको छ ।
हाम्रो टीमले चलाएका अभियान, नीतिगत निर्णयको कार्यान्वयनमा तपाईं नगरबासीहरुले दिनु भएको साथ, सहयोगले हामीलाई निकैं हौसला मिलेको अनुभव यहाँहरु समक्ष साट्न चाहान्छु । यहाँहरुकैं साथ, समर्थनले नैं तिलोत्तमा नगरपालिकाले राष्ट्रिय रुपमा फरक पहिचान बनाउन सफल भएको कुरालाई हामीले मनन गरेका छौं । तिलोत्तमा नगरपालिका उत्कृष्ट बन्नुमा सरोकारवालाहरुको साथैं सबै नगरबासीको आ—आफ्नो योगदान छ ।
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु
तपाईंहरुले दिएको जिम्मेवारी अनुसार पाँच वर्षको अवधिलाई म लगायत हाम्रो टीमले पूर्णतः तिलोत्तमा नगरपालिकाको हीतमा लगायौं । हामीहरु तपाईं नगरबासीकैं सुख, दुःखमा एकाकार भयौं । जे सोच्यौं तिलोत्तमाकैं बारेमा सोच्यौं, जे गर्यों तिलोत्तमाकैं बारेमा गर्यौं । हाम्रो पाँच वर्षको अवधिमा जे जति कामहरु भए, गरिए त्यसमा नगरबासीहरुको साथ पाउँदा म लगायत मेरो टीम अत्यन्त उत्साहित रह्यो । यो अवधिमा हामीसँग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा काम गर्ने, विकास निर्माण, सामाजिक अभियानमा सहभागी हुने, नगरपालिकाले ल्याएका नीति नियमलाई कार्यान्वयन गर्ने, गराउने कार्यमा लाग्नु हुने तथा साथ, सहयोग र समर्थन जनाउनु हुने सम्पूर्णप्रति म हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।
जनप्रतिनिधिको रुपमा कानुनी जिम्मेवारीबाट अलग भए पनि तिलोत्तमा नगरपालिकाको समृद्धि र नगरबासीको सर्वोपरी हितको लागि म सदैव नगरबासीसँगै रहने प्रतिबद्धता यस अवसरमा जनाउँछु । नगरको विकासको लागि म सधैं क्रियाशील रहनेछु । नगरबासीको सुख, दुःखमा यसअघि जसरी नैं सहभागी हुने प्रण गर्दछु । तिलोत्तमा नगरपालिकालाई अझैं राम्रो बनाउन र नगरपालिकाले अघि सारेको समृद्ध तिलोत्तमा ः सुखी तिलोत्तमाबासीको लक्ष्यलाई साकार बनाउन आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ मेरो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्णप्रति पुनः हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।

बासुदेव घिमिरे निवर्तमान नगर प्रमुख
तिलोत्तमा नगरपालिका, रुपन्देही
मिति ः २०७९।०२।०६

प्रतिक्रिया दिनुहोस्