पांच दलीय गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनावसम्म : नेताहरु


appharu

७ जेष्ठ २०७९, शनिबार १९:३७ मा प्रकाशित

पालिकापत्र,बुटवल । पांच दलले बुटवलमा आयोजना गरेको विजय जुलुसपछिको सभालाई सम्बोधन गर्दै नेताहरुले पांच दलीय गठबन्धनलाई प्रदेश र प्रतिनिधिसभा चुनावसम्म मजबुद बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेले झुठा सपना देखाएर जनतालाई झुक्याएको बताउनुभयो ।
उहांले विकासको नाममा नेताको स्वार्थपुर्ति गर्ने, पैसा कमाउने प्रवृत्ति विकास भएको भन्दै जनताको चाहना, माग अनुसार काम गर्न सुझाव दिनुभयो । उपप्रमुखमा महिला उम्मेदवार नहुंदा गठबन्धनले धेरै ठाउंमा उपमेयरमा हारेको औंल्याउनुभयो ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले जनतालाई केन्द्रमा राखेर पांच दलबीच छलफल गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिनुभयो ।
उहांले ५ दलीय गठबन्धनलाई प्रदेश सभा र प्रतिनिधिसभा चुनावसम्म बलियो बनाएर लैजानुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बुटवलका मतदाताले प्रतिगमनको विपक्षमा र परिवर्तनको पक्षमा मत जाहेर गरेर नयां इतिहास रचेको बताउनुभयो ।
बुटवललाई सुशासनको नमूना बनाउन जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने नेता बरालले सुझाव दिनुभयो ।
नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बुटवलको स्थानीय चुनावको नतिजाले एमालेको अहंकार र दम्भको पहाडलाई भत्काइदिएको बताउनुभयो ।
सभामा माओवादी केन्द्रका वामदेव क्षेत्री,राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी,जनता समाजवादी पार्टीका बामदेव भुसाल,माओवादी केन्द्रका महेन्द्र भुसाल लगायतले चुनावी संकल्पपत्र अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्