वडा तहमा नेकपा एससंग मिलेको भए यसरी क्लीनस्वीप हुने रहेछ बुटवलमा एमाले


appharu

८ जेष्ठ २०७९, आईतवार १०:०७ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरको स्थानीय तह निर्वाचनमा वडा तहमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको भए वडा नं १४ वाहेक सबै वडामा एमाले क्लीन स्वीप हुने रहेछ भन्ने मत परिणामले देखाएको छ ।

नेकपा एससंग वडा तहमा तालमेल गरेको भए वडा नंं ११, १८ र १९ मा कांग्रेस वा गठबन्धनको जित सुनिश्चित हुने रहेछ भन्ने यी वडामा नेकपा एसका उम्मेदवारले पाएको मतले पुष्टी गरेको छ ।

बुटवलको सबैभन्दा धेरै मतदाता रहेको वडा नंं ११ मा कांग्रेस उम्मेदवार जितबहादुर मल्ल १११ मतले एमालेका रामचन्द्र क्षेत्रीसंग हारेका छन् । यो वडामा नेकपा एसका वडाध्यक्ष उम्मेदवार भीमबहादुर क्षेत्रीले १६३ मत पाएका छन् । एमालेका रामचन्द्र क्षेत्रीले ४३३२ र कांग्रेसका जितबहादुर मल्ले ४२११ मत पाएका छन् ।

वडा नंं १८ मा कांग्रेसका गोलेबहादुर चौधरी एमालेका गुरुप्रसाद पंगेनीसंग १९ मतले हारेका छन् । यो वडामा नेकपा एसका वडाध्यक्ष उम्मेदवार गोपाल नेपालले ९५ मत पाएका छन् ।

वडा नंं १९ मा कांग्रेसका भीमप्रसाद श्रेष्ठ एमालेका चन्द्रसिंह थापासंग ३२ मतले हारेका छन् । यो वडामा नेकपा एसका वडाध्यक्ष उम्मेदवार गौरवबहादुर रानाले ३१ मत पाएका छन् ।

यी तीन वटा वडामा नेकपा एसको मत जोड्दा तीनवटै वडामा गठबन्धनको सहज जित हुने पुष्टी हुन्छ ।

वडा नंं १० मा नेपाली कांग्रेसका किसनबहादुर थापा एमालेका बलु पुनसंग २ मतको अन्तरले हारेका छन् । यो वडामा नेकपा एसले उम्मेदवारी नदिएको भएपनि अरु वडामा तालमेल भएको भए त्यसको प्रभावले यो वडा पनि जित्न सकिने नेकपा एसका नगर सचिव लोकराज शर्मा बताउंछन् ।

वडा नंं १० कांग्रेसबाट राजीनामा दिएका हरि लम्सालको वडा हो । लम्सालकै कारण यो वडा गुमाउनुपरेको कांग्रेस कार्यकर्ताहरुको टिप्पणी छ ।

वडा नंं १४ मा भने एमाले उम्मेदवार दधिराम न्यौपाने २३५ मतको अन्तरले जितेका छन् । यो वडामा नेकपा एसका उम्मेदवार नुरबहादुर गाहाले ३६ मत पाएका छन् । ‘हामीले वडा नंं २ र १८ दिनुस् अरु वडामा उम्मेदवार दिन्नौं भनेका थियौं’–नेकपा एस बुटवलका सचिव लोकराज शर्माले भने–‘कांग्रेसले हामीलाई असाध्यै नजरअन्दाज गरेर एउटा वडा पनि दिन तयार नभएपछि एक्लै लड्यौं र २ नंं जित्यौं,बांकी वडा कांग्रेसले वा गठबन्धनले जित्ने रहेछ ।’ वडा तहमा तालमेल भएको भए गठबन्धनको पक्षमा बेग्लै माहोल र लहर आउने रहेछ र एमाले क्लीनस्वीप हुने रहेछ– शर्माले भने – ठूला दलका साथीहरुले यो कुरा बुझ्नु भएन, अब बुझ्नुहुन्छ कि भन्ने अपेक्षा मात्रै गरौं ।
बुटवलका १९ मध्ये वडा नं १ मा स्वतन्त्र, २ मा एकीकृत समाजवादी एक्लै लडेर विजयी, ३ मा माओवादी केन्द्रका विष्णु ढकाल रुख चिन्हमा लडेर कांग्रेसको समर्थनमा विजयी भएका छन् । यस्तै ४,५,६,७,८,९,१२,१३,१५,१६ र १७ मा कांग्रेस तथा १०,११,१४,१८ र १९ गरी ५ वटा वडामा एमाले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्