बुद्धभूमिका नगर प्रमुख श्रेष्ठ र उपप्रमुख थारुद्धारा पदभार ग्रहण


appharu

९ जेष्ठ २०७९, सोमबार १६:४८ मा प्रकाशित

पालिकापत्र, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ र उपप्रमुख मीरा थारुले पदभार ग्रहण गरेका छन् ।

सोमबार नगरपालिकामा आयोजित स्वागत कार्यक्रमबाट नवनिर्वाचित श्रेष्ठ र थारुले नगर प्रमुख र उपप्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुबै जना पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

श्रेष्ठले नेकपा (एमाले)का पीताम्बर खनाललाई हराउँदै पुनः नगर प्रमुख भएका हुन् । नगर प्रमुखमा निर्वाचित श्रेष्ठ र खनालको मतान्तर ७ सय ८८ थियो ।

१० वडा रहेको बुद्धभूमिमा श्रेष्ठले १४ हजार ३ सय ८४ मत पाए भने, खनालले १३ हजार ५ सय ९६ मत ल्याएर पराजित भए ।
दुई पटकसम्म बुद्धभूमिको नगर प्रमुखमा निर्वाचित भएका श्रेष्ठले आगामी दिनमा पनि सबैको साथ र सहकार्यबाट अगाडी बढ्ने बताएका छन् । सबैको सहकार्य बिना नगरको विकास सोचेजस्तो गर्न नसकिने भन्दै श्रेष्ठले निर्वाचित जनप्रतिनिधि बीचको सामुहिक निर्णयबाट अगाडी बढ्ने बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई मुख्य जोड दिएर काम गर्ने उनले बताए । नगरका गौरवका योजनालाई सम्पन्न गर्ने लक्ष्य लिएका श्रेष्ठले पूर्वाधार विकासमा उल्लेख्नीय काम गर्ने बताए ।

नगर प्रमुखको कार्यभार सम्हालेको पहिलो दिन उनले पाठेघरको समस्या भएका महिलालाई निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेका छन् ।

यता नेकपा (एमाले) मञ्जु थारुलाई लगातार दोस्रो पटक पराजित गर्दै मीराले बुद्धभूमिको यात्रा तय गरेकी हुन् ।

नेपाली कांग्रेसबाट उप प्रमुखमा विजयी मीरा र एमालेकी मञ्जु बीचको मतान्तर ५ सय ६८ छ । निर्वाचित मीराले १४ हजार २८३ मत ल्याउँदा दुवै पटक पराजित भएकी मञ्जुले १३ हजार ७१५ मत पाइन् ।

दोस्रो पटक उही पदमा वहाली भएकी थारुले अधुरा कामलाई पूर्णता दिने प्रतिवद्धता जनाइन् । पहिलो कार्यकाल अनुभवको अभाव, सिमित स्रोत साधन, कोरोना महामारी लगायतको समस्याले सोचेजस्तो हुन नसकेको भन्दै दोस्रो कार्यकालमा देखिने गरि काम गर्ने उनले बताइन् । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य जस्ता नगरबासीको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा आफुले उल्लेख्य काम गर्ने उनको इच्छा छ ।

सोमबार नै १० वटै वडाका वडाध्यक्षहरुले आ आफ्नो वडाको पदभार ग्रहण गरेका छन् । नगर प्रमुख श्रेष्ठसंग पद तथा गोपनियताको शपथ खाए लगत्तै निर्वाचित जनप्रतिनिधिहरुले आ आफ्नो कार्यभार सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्