शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोगार तालिम


appharu

१० जेष्ठ २०७९, मंगलवार १५:३८ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र तिलोत्तमा वार्ड नं १ को संयुक्त आयोजनामा महिलाहरुका लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । सामुदायिक वन क्षेत्र भित्र रहेका तिलोत्तमा १–४ का ५० जना गृहिणी महिलाहरुलाई प्रदान गरिएको तालिमबाट महिलाहरु आयआर्जन गर्नसक्ने र उद्यमशिलताको समेत विकास हुने भएकाले तालिम फलदायी भएको सहभागिको भनाई छ ।

तालिम समापन समारोहमा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकले कम लागतमा जुत्ता चप्पल बनाउने व्यवसाय सञ्चालन गर्न तालिम उपलब्धीमुलक भएको धारणा राखेका थिए ।

तालिमका प्रशिक्षक प्रतिमा पन्थले सीप सिकेर स्वरोजगार बन्नका लागि महिलाहरुमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले तालिम लिएका मध्ये १० प्रतिशतले मात्र व्यवसायिकरुपमा पेशा अंगालेमा तालिम फलदायी हुने धारणा राख्नुभयो । उहांले सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके महिला आत्मनिर्भर भई ब्यक्तित्व र नेतृत्वको समेत विकास हुने बताउनुभयो ।

शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतले महिलालाई उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिम समापन समारोहमा तिलोत्तमा वार्ड नं १ का निवर्तमान वडाध्यक्ष तामनाथ पाण्डे, वनकी उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, सहभागी दिपा थापा लगायतले सामुदायिक वनले वनको संरक्षण संगै उपभोक्ताहरुको आयआर्जन बढाउने काम पनि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्