बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५, कोपवामा २० रुपैयाँ बचतबाट सुरु भएको माउण्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वित्तीय तथा संस्थागत यात्रा थप मजबुत बनाउँदै लगेको छ । संस्थामा हाल ४ हजार ३०६ सदस्य आबद्ध छन् भने आर्थिक वर्ष २०८२/८३ मा ९८ लाख ७१ हजार ५ सय रुपैयाँ शुद्ध नाफा कमाउन सफल भएको छ ।
संस्थाको २८औँ साधारणसभा शनिबार बाणगङ्गा नगरपालिका–६, बैदौलीमा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले बाणगङ्गा नगरपालिकामा रहेका ६५ वटा सहकारीमध्ये माउण्ट एभरेस्ट बचत तथा ऋण सहकारी उत्कृष्ट संस्थाका रूपमा रहेको बताइन् । उनले संस्थाको वित्तीय अनुशासन र प्रगतिप्रति विश्वास व्यक्त गर्दै शेयर सदस्यलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरिन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका स्तरीकरण अधिकृत नारायण बेलबासेले सहकारी सञ्चालन, व्यवस्थापन तथा संस्थागत विकासका विषयमा निर्देशनात्मक प्रशिक्षण दिएका थिए। उनले संस्थाको थप सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै राष्ट्रिय सहकारी विकास बैंकका लेखा सुपरिवेक्षक युवराज पोख्रेल, चतुर्भुज पाण्डे, बाणगङ्गा नगरपालिका–५ र ६ का वडाध्यक्ष दुनिका प्रसाद भुसाल र करुण टण्डनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले सहकारी संस्थाले छोटो समयमै हासिल गरेको प्रगतिमा शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
४ हजारभन्दा बढी सदस्य, २६ करोडभन्दा बढी बचत
साधारणसभामा संस्थाकी कोषाध्यक्ष बिन्दु अर्यालले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थामा २ हजार २८३ महिला र २ हजार २३ पुरुष गरी कुल ४ हजार ३०६ जना सदस्य रहेका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा संस्थाको शेयर पुँजीमा ७० लाख ६३ हजार ३२८ रुपैयाँ वृद्धि भई २१ करोड ११ लाख ७ हजार १०९ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, संस्थाले उक्त आर्थिक वर्षमा २ करोड ५५ लाख १८ हजार ३८३ रुपैयाँ बचत निक्षेप संकलन गरेको छ। यससँगै संस्थाको कुल बचत निक्षेप २६ करोड ९६ लाख २० हजार ३५ रुपैयाँ पुगेको जनाइएको छ ।
लेखा समितिकी सदस्य दुर्गा खनालले प्रस्तुत गरेको लेखा प्रतिवेदनअनुसार संस्थाले ४ करोड ३६ लाख ३ हजार ५८५ रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा ३ करोड ७८ लाख ७१ हजार ९७१ रुपैयाँ खर्च भएको छ भने संस्थाले ९८ लाख ७१ हजार ५ सय रुपैयाँ शुद्ध नाफा कमाएको छ ।
२० रुपैयाँबाट सुरु भएको यात्रा
संस्थाले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार माउण्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था २०५६ साल असार ३० गते तत्कालीन डिभिजन सहकारी कार्यालय, तौलिहवा, कपिलवस्तुमा दर्ता भएको हो ।
२० रुपैयाँ बचतबाट आफ्नो यात्रा सुरु गरेको संस्थाले हाल बाणगङ्गा र कपिलवस्तु नगरपालिकालाई कार्यक्षेत्र बनाई सदस्यलाई विभिन्न वित्तीय तथा सामाजिक सेवा प्रदान गर्दै आएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश भुसालले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी सम्मानित
साधारणसभाको अवसरमा संस्थाले सात जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केटसहित सम्मान गरेको थियो ।
त्यस्तै, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।
संस्थाका शेयर सदस्य, पूर्वपदाधिकारी, स्थानीय समाजसेवी तथा शुभेच्छुकहरूको विशेष उपस्थिति रहेको कार्यक्रम माधव गैरेको स्वागत तथा पंकज पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

