लुम्बिनी प्रदेश सभा वैठकमा एमाले अवरोध अन्त्य


appharu

१० जेष्ठ २०७९, मंगलवार १६:४२ मा प्रकाशित

पालिकापत्र, बुटवल । लुम्बिनी प्रदेश सभाको गतिरोध ११ महिनापछि अन्त्य भएको छ । विपक्षी नेकपा एमाले सत्ताबाट बाहिरिएसँगै साउन १ गतेदेखि लुम्बिनीको प्रदेशसभालाई अवरोध गर्दै आएको थियो । मंगलबार विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दै प्रदेशसभाको गतिरोध अन्त्य भएको हो । २०७८ साउन २८ गते एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई विस्थापन भएपछि पाँच दलीय गठबन्धनको सरकार बनेको हो ।

गठबन्धनको सरकारमा सहभागी विमला वली र अजय शाहीले सूर्य चुनावचिन्हबाट निर्वाचन जितेकाले कारवाहीको माग गर्दै एमालेले ११ महिनादेखि सदनमा अवरोध गर्दै आएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले बजेट, निति तथा कार्यक्रमको तयारी लगायतका महत्वपूर्ण बिषयमा छलफल गर्नुपर्ने भएकाले सदन खुलाएको बताएको छ । तर, संघीय संसदको अवरोध खुलेपछि लुम्बिनीमा पनि गतिरोध अन्त्य गरेको हो । सांसद कारवाहीको माग गरेर संसद अवरुद्ध गरेपनि त्यसको औचित्य पुष्टि नभइकनै एमालेले अवरोध हटाएको हो । लुम्बिनीमा एमालेले सदन अवरोध गर्ने, त्यसपछि एमाले सांसद बाहिरिएपछि सदन चल्ने गरेको थियो । प्रदेशसभाको १० औँ अधिवेशनको दोस्रो बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यम व्यवस्था गर्न बनेको सदनमा विधेयक पेस गरेका छन् ।

गत वर्ष साउन २८ गते मुख्यमन्त्रीबाट राजीनामा दिएर सरकारबाट शंकर पोखरेल बाहिरिएका थिए । लुम्बिनीको मुख्यमन्त्रीबाट बाहिरिएसँगै पोखरेल बुटवल स्थित प्रदेशसभामा झुल्किएनन । मुख्यमन्त्रीबाट हटेदेखि दुई पटकमात्रै संसदमा पोखरेल छिरेका हुन । मंगलबार प्रदेश सभाको १० औं अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदम पछि हटेर संसद्को गतिरोध अन्त्य गरेको बताए । उनले लामो समयसम्म संसदको गतिरोध अन्त्य हुँदा नराम्रो सन्देश जाने भएकाले जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गरेको बताए ।

उनले सरकारमै रहेका दलले गरेको गलत राजनीतिक चरित्रले निर्वाचन पद्धतिमै शंका उत्पन्न गराएको बताए । पोखरेलले स्थानीय तहको निर्वाचनको परिणामलाई जनमतको हिसाबले पार्टीले स्विकार्नुको कुनै विकल्प नभएको बताए । निर्वाचनका लागि सत्तारुढ दल तथा सरकारबाट भएका गतिविधि लज्जास्पद भएको उनको भनाई छ ।

स्थानीय तहको निर्वाचनका लागि एमाले विरुद्ध बनेको गठबन्धनलाई अपवित्र भएको उनले बताए । पोखरेलले नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एमालेलाई हराउनकै लागि गरेको र सत्ता स्वार्थका लागि मात्रै भएकाले दिगो नहुने बताए । पोखरेलले नीति तथा कार्यक्रम र बजेट तयारीको छलफल तथा प्रदेश सभाको समीक्षाकै समय आएकाले सदन सुचारु गर्ने निर्णय गरेको बताए । एमालेले उठाएका मागप्रति सत्ता पक्षले कुनै ध्यान नदिएको र गतिरोध खोल्न जिम्मेवार नभएको आरोप लगाउँदै पोखरेलले जनताप्रति उत्तरदायी बनेर प्रदेश र देशमा आएको आर्थिक संकट समाधानका लागि सदन खोलेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्