नेपाल–चीन मैत्री समाजद्वारा मेयर उपमेयरलाई सम्मान


appharu

१२ जेष्ठ २०७९, बिहीबार १२:३६ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । छिमेकी मित्र राष्ट्र चीनका करोडौं बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्न रुपन्देहीका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल चीन मैत्री समाज लुम्बिनीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखलाई भैरहवामा गरेको सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले चीनका ५६ करोड बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्न सके जिल्लाको पर्यटन प्रवद्र्धन हुने कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख मोदम्मद इस्तियाक खानले सिद्धार्थनगरमा आफूले पाएको मत बराबर अर्थात करिब १० हजार बृक्षरोपण गरी स्वच्छ, हराभरा र नमूना बनाउने बताए । उनले नगरको फोहोर व्यवस्थापन गर्ने र विकास निर्माणमा राजनीति नगर्ने बताउंदै सिद्धार्थनगरमा पर्यटकहरु एक हप्तासम्म भुल्न सक्ने गरी पर्यटकीय पुर्वाधारहरु बनाउने बताए । उपप्रमुख उमा अधिकारीले सबैको साथ र सहकार्यबाट नगरको विकासमा अघि बढ्ने बताइन् ।
नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले लुम्बिनीको पर्यटन विकास र चीनका जनतासंग जनस्तरमा सम्बन्ध विस्तारका लागि समाज क्रियाशील गरेको जानकारी गराउंदै चीनमा रहेका ५६ करोड बौद्धमार्गीलाई लुम्बिनी भ्रमण गराई पर्यटनबाट लाभ लिन सकिने बताए ।
कार्यक्रममा समाजका उपाध्यक्ष गोविन्द रेग्मी,महासचिव मनिषकुमार जोशी,सदस्य डा. गितु गिरी लगायतले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्