तिलोत्तमामा एमाले नै बलियो,मेयर जितेको कांग्रेस कार्यपालिकामा अल्पमतमा ?


appharu

१६ जेष्ठ २०७९, सोमबार २१:१२ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको स्थानीय चुनावको नतिजाले यहां कांग्रेस भन्दा नेकपा एमाले बलियो सावित भएको छ । माओवादी केन्द्रसंगको गठबन्धनबाट मेयर पदमा कांग्रेसका रामकृष्ण खांणले चुनाव जितेपनि लोकप्रिय मत र जनाधारमा एमाले नै बलियो सावित भएको हो । मेयरमा झिनो मतले एमाले उम्मेदवार मोहन चापागाईं पराजित भएपनि उनले वडाअध्यक्षहरुले ल्याएको मतलाई विश्लेषण गर्दा उत्साहजनक मत ल्याएका छन् । नगरका १७ वटै वडामा एमाले र काँग्रेसका वडाअध्यक्षहरुले प्राप्त गरेको मतको अन्तर तीनहजार। ९२५ छ भने मेयरमा काँग्रेसबाट विजयी रामकृष्ण खाणको तुलनामा चापागाईंले ७६५ मत मात्र कम ल्याएका छन् । यस हिसाबले एमालेका वडाअध्यक्षहरुले भन्दा चापागाईंले धेरै मत हासिल गरेको देखिएको छ ।

१७ वटा वडाबाट एमालेका वडाअध्यक्षहरुले ल्याएको मत जोड्दा २२ हजार ४३४ हुन्छ भने काँग्रेसका १७ वटै वडाअध्यक्षहरुले ल्याएको मत जोड्दा २६ हजार ३५९ हुन आउँछ । यसको ठिक विपरित काँग्रेसबाट विजयी खाणले भने पार्टीका १७ वटै वडाअध्यक्षहरुले ल्याएको मत भन्दा कम मत मात्रै प्राप्त गरेका छन् । १७ वटै वडाका काँग्रेस वडाअध्यक्षका उम्मेदवारहरुले २६ हजार ३५९ मत ल्याउँदा खाणले भने २४ हजार ३९६ मत मात्रै पाएका छन् । वडाअध्यक्षहरुले ल्याएको मतलाई पार्टीको मत मान्ने हो भने एमालेले तिलोत्तमामा २२ हजार ४३४ मत ल्याएको छ । तर चापागाईंले भने २३ हजार ६३१ मत ल्याएका छन् ।

त्यस्तै काँग्रेसले तिलोत्तमामा २६ हजार ३५९ मत ल्याउँदा खाणले भने जम्मा २४ हजार ३९६ मत मात्रै पाएका छन् । करिव दुईहजार मत चापागाईंले काँग्रेसी मतदाताबाट चोरेको देखिएको छ । उता काँग्रेस उम्मेदवार खाण भने माओवादी केन्द्रसँगको गठबन्धनबाट उम्मेदवार थिए । यस हिसावले करिव तीनहजार मत खाणलाई माओवादीबाट थपिएको देखिन्छ । गृहमन्त्री बालकृष्ण खांणकै वडामा वडाध्यक्ष एमाले उम्मेदवारले जितेको छ ।

नगरपालिकामा एमालेले उपप्रमुख सहित वडा नम्बर १, ४, ७, ८, १०, ११, १२ र १५ गरी आठ वटा वडा जितेको छ भने काँग्रेसले प्रमुख सहित नौं वटा वडामा विजय हासिल गरेको छ । कतिपय जनमुक्तिको बाहुल्य रहेको वडाहरुमा जनमुक्ति पार्टीका उम्मेदवारको न्युन मत आएको समेत पाइएको छ । यस हिसावले जनमुक्तिको धेरै मत काँग्रेस उम्मेदवार खाणले प्राप्त गरेको देखिन्छ । मेयर उम्मेदवार मोहन चापागाईले गृह प्रशासनको चरम दुरपयोग गरेर प्राविधिक हिसाबले मेयर पदमा काँग्रेसले चुनाव जितेपनि तिलोत्तमामा नेकपा एमाले नै पहिलो शक्ति रहेको र आउदा चुनावमा यो पुष्टी हुने बताए । १८ गते हुने कार्यपालिका चुनावमा समेत कांग्रेस अल्पमतमा पर्ने एमाले नेताहरु बताउंछन् । १७ वडा मध्ये ९ वडामा अध्यक्ष कांग्रेस र ८ वडाध्यक्ष एमालेले जितेपनि सदस्य हरु एमालेकै धेरै निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्