बुटवलका मेयर खेलराजमाथि आरोप : पार्टीमा छलफल कम गर्छन्, अरुलाई विश्वास गर्दैनन्


appharu

१८ जेष्ठ २०७९, बुधबार ०९:५२ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवलका नवनिर्वाचित मेयर खेलराज पाण्डेयको सरल जीवनशैली र टोलटोलमा खटिने बानीको जति प्रसंशा हुन्छ,त्यति नै पार्टी कमिटीमा छलफल नगर्ने र आफू वाहेक अरुलाई विश्वास नगर्ने स्वभावका नेताका रुपमा पनि पाण्डेयको आलोचना हुने गर्दछ । लगातार तीन कार्यकाल नेपाली कांग्रेस बुटवल नगर सभापतिका रुपमा काम गर्दै आएका उनले यसपटक मेयरको टिकटका अन्य आकांक्षीको नाम नै सिफारिस नगरी आफ्नो नाम मात्रै सिफारिस गरेपछि पार्टीभित्र विवाद भएको थियो र उनी आलोचित पनि भएका थिए ।

सोही कारण क्षेत्र नं २ का क्षेत्रीय सभापति हरि लम्सालले पार्टी भित्र लोकतान्त्रिक अभ्यास र छलफल नै नभएको भन्दै पार्टी परित्याग गरेका थिए । खेलराज स्वयंले यदि मेयरका लागि नगर समितिले अरु नाम पनि सिफारिस गरेको भए आफूलाई टिकट नदिने अवस्था आउने भएकाले अरुको विश्वास नलागेर आफ्नो नाम मात्र सिफारिस गरेको स्वीकारेका छन् ।

उनलाई नजिकबाट संगत गरेका र एउटै समितिमा रहेर काम गरेका कांग्रेस नेताहरु पनि खेलराजको स्वभाव ‘बढ्ता एकलकांटे’ रहेको आरोप लगाउंछन् ।

‘दाईको स्वभाव पहिल्यैदेखि पार्टीका समितिमा, पार्टीका साथी र नेतासंग कम छलफल गर्ने,आफ्नै साथीहरुलाई विश्वास नगर्ने खालको बढ्ता एकलकांटे हो’– बुटवल कांग्रेसका एक जिम्मेवार नेताले भने–‘एउटा चुनाव त्यो पनि आफूले जित्नेसम्म हो भने अर्कै कुरा हो, अन्यथा उहाले आफ्नो बानी र स्वभाव बदल्नुपर्छ र संस्थागत हुनुपर्छ ।’
पाण्डेयलाई मेयरमा जिताउन अहोरात्र खटेका क्षेत्रीय समितिका एक नेताले मेयरमा चुनाव जितेपछि अब कसरी अगाडि बढ्ने भनेर छलफल त परको कुरा आफूलाई फोनसम्म नगरेको बताए । चुनाव जितेको एक हप्ता भन्दा बढी समयसम्म टोलटोलमा पुगेर अबीर लाउनु भन्दा नतिजा आएको अर्को दिन पार्टीका सबै वडाका नेतृत्व,भातृ संगठन,शुभेच्छुक संस्थालाई एकै थलोमा भेला गरेर धन्यवाद ज्ञापन र र आभार व्यक्त गरेर काममा खटिएको भए उपयुक्त हुने ती नेताको सुझाव छ ।

मेयर पाण्डेयले सचिवालय र प्रेस सल्लाहकारका विषयमा समेत पार्टीमा कसैसंग सल्लाह नगरेको उनको भनाइृ छ । ‘हाम्रो अपेक्षा सबैको सल्लाह सुझावमा योग्य व्यक्ति छनोट हुनुपर्छ भन्ने हो, तर कतै नातापाता र आफ्नो सांघुरो घेरा भन्दा बाहिर नजाने हुन् कि भन्ने डर छ’– ती नेताले भने–‘बुटवल रणनीतिक महत्वको थलो हो, यहां मेयरले गर्ने हरेक निर्णय र क्रियाकलापले सिंगो जिल्ला र प्रदेशलाई प्रभाव पार्ने भएकाले विवेकपूर्ण निर्णय हुनुपर्छ भन्ने पार्टीको चिन्ता हो ।’

पार्टीभित्र पाण्डेय संस्थापन इतर अर्थात विगतमा रामचन्द्र पौडेल र हाल डा. शेखर कोइराला पक्षका हुन् । उनीमाथि संस्थापन पक्षलाई समेट्ने सवालमा अनुदारता हावी हुने गरेको आरोप लाग्ने गरेको छ । यद्यपि यसपटकको चुनावमा भने उनलाई संस्थापन पक्ष र गठबन्धनमा आवद्ध चार दलको दरिलो साथले उनले चुनाव जितेका हुन् । यो जितलाई उनले आफ्नो कारणले मात्रै जितेको ठानेमा ठूलो भूल हुने र पार्टीले त्यसको मूल्य आउने संघ र प्रदेशको चुनावमै चुकाउनुपर्ने अवस्था आउन सक्ने कांग्रेस बुटवलका अर्का नेताले भने ।

अहिले पाण्डेयको जित कांग्रेसको मात्र नभई ५ दलीय गठबन्धनको जित भएकाले आफ्नो पार्टीको दुबै पक्षसंगै अरु चार दलसंग पनि छलफल गरेर विश्वास जितेर अघि बढ्नुपर्ने मेयर पाण्डेयलाई वाध्यता छ । उनकै पार्टीका नेताले भने जस्तै उनी अब पनि एकलकांटे ढंगले अघि बढ्छन् या सबैको राय सुझाव र समन्वयका आधारमा अघि बढ्छन् त्यो हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्