रुपन्देही उद्योग संघले भन्यो : वजेट स्वागतयोग्य


appharu

१८ जेष्ठ २०७९, बुधबार १८:२१ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देही उद्योग संघले संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७९।८०को वजेटको स्वागत गरेको छ । संघका अध्यक्ष माधवप्रसाद पौडेल र महासचिव हरिबहादुर खत्रीले विज्ञप्ति जारी वजेटको स्वागत गरेका हुन् ।

हेरौं विज्ञप्ति :

रुपन्देही उद्योग संघ सरकारले आईतबार ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटको स्वागत गर्दै वजेटमा उल्लेख गरिएका औद्योगिक विकास र उद्योगमैत्री कार्यक्रम सकारात्मक रहेको ठहर गर्दछ ।
वजेट भावनात्मक रुपमा सकारात्मक हुँदाहँुदै पनि त्यसमा समावेश गरिएका कार्यक्रम र हाम्रा वर्तमान अर्थतन्त्रको अवस्थाले कार्यान्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको संघको ठहर छ । ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा वजेट मार्फत हासिल गर्ने लक्ष्य राखिएको आर्थिक वृद्धि हासिल गर्न कठिनाई हुने देखिन्छ । त्यसैले संघ वजेटको कार्यान्वयनमा जोड दिदै संरचनागत सुधारमा जोड दिन्छ ।
वजेटमा औद्योगिक प्रयोजनको लागि ५० वर्षसम्म लिजमा जग्गा, औद्योगिक प्रयोजनको लागि जग्गाको हदबन्दी हटाउने जस्ता कदमहरु औद्योगिक प्रवद्र्धनको लागि सकारात्मक रहेको छ । तर कोभिड महामारीको प्रभावबाट पूर्ण रुपमा अझै तंग्रिन नपाएको निजी क्षेत्र वजेटको मुख्य आय श्रोतका रुपमा रहेको राजस्वको महत्वकांक्षी लक्ष्य पुरा गर्ने क्रममा चेपुवामा पर्ने आशंकालाई नजरअन्दाज गर्न सकिदैन । राजश्व लक्ष्य पुरा गर्ने नाममा निजी क्षेत्रलाई निशाना बनाउने काम नगरियोस् भन्न चाहान्छौं ।
मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समय सापेक्ष नीतिगत सुधार र कार्यक्रम जरुरी छ भन्ने कुरामा सबै सहमत छौं । सरकारले वजेट मार्फत उद्योग/व्यवसायलाई दिने भनेको सहुलियत एवं सुविधा शीघ्र कार्यान्वयनमा ल्याउन सकेमा औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भई आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्नेमा संघले विश्वास लिएको छ ।
रुपन्देही उद्योग संघको छाता संस्था नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ कार्यक्रमलाई विशेष महत्व दिएर बजेट बक्तव्यमा समावेश गरिएकोमा नेपाल सरकार र अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छौँ । वजेट मार्फत कर्मचारीको तलब बृद्धि र सामाजिक सुरक्षा कार्यक्रम लगायतका केही अनुत्पादक क्षेत्रमा गरिएको वितरणमुखि कार्यक्रमले मुल्यबृद्धी हुन सक्ने अवस्था प्रति संघ यसै विज्ञप्ती मार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छ ।
बजेटले स्वदेशी वस्तु उत्पादन र उपभोग दशक मनाउने विषय उल्लेख गर्र्दै कृषि क्षेत्रको रुपान्तरण, औद्योगिक विकास, आयात नियन्त्रण, पर्यटन उद्योगको पुनरुत्थान, नेपाली उत्पादन एवम् उपभोग बृद्धि कार्यक्रम सञ्चालन, एक स्थानीय तहमा एक विशिष्ट उत्पादन, निर्यातमा अनुदान दिने व्यवस्था लगायतलाई नीतिगत रुपमा उल्लेख गरि प्राथमिकतामा राखेकोमा स्वागत गर्दछौं ।
यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि संघले सरकार समक्ष पटकपटक सुझाव दिने क्रममा राख्दै आएका कार्यक्रम र आयोजनाहरु मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, वेलहिया बुटवल र बुटवल नारायणगढ सडकको स्तर उन्नती, कर्साघाट कृषि उपज केन्द्रको निर्माण कालिगण्डकी–तिनाउ डाईभर्सन आयोजना, तिनाउ–दानव कोरिडोर निर्माण, तिनाउमा सिगनेचर पुल, सैनामैनामा ट्रमा सेन्टर, बुटवलमा मेडिकल कलेज स्थापना, सिद्धबाबा झुम्सा सुरुङमार्ग निर्माण लगायत वजेटमा समावेश गरिएकोमा रुपन्देही उद्योग संघ आभारी छ । समग्रमा बजेट कार्यान्वयन प्रति सम्बन्धित निकायहरुको चासो हुनुपर्नेमा गम्भिर ध्यानाकर्षण गराउँदछौं ।

प्रतिक्रिया दिनुहोस्