योगिकुटीको देवस्थलमा दुर्गा मन्दिर पुन:निर्माण हुने, आकर्षक धार्मिक र पर्यटकीय स्थल बनाइने


appharu

१९ जेष्ठ २०७९, बिहीबार १७:१६ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल र तिलोत्तमाको संगमस्थल योगिकुटीस्थित प्राचीन र ऐतिहासिक देवस्थल मन्दिर परिसरमा दुर्गा मन्दिर पुन:निर्माण हुने भएको छ । पुरानो मन्दिर जीर्ण भएकाले नयां बनाउन बिहीबार मन्दिरको शिलान्याश गरिएको छ ।
बुटवलको वडा नंं ११ र १० तथा तिलोत्तमा वडा नंं ३ को संगमस्थल योगीकुटीमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले मन्दिर शिलान्याश गरेका हुन् ।
मन्दिर शिलान्याशपछि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले धार्मिक स्थलहरुको संरक्षण र विकासमा उपमहानगरले सक्दो सहयोग गर्ने र आगामी वजेटमा सक्दो वजेट छुट्टाउने प्रतिवद्धता जनाए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक गुरुङले आध्यात्मिक चिन्तन मनन् साथै थकाई बिसाउने शितल छहारीका रुपमा पुर्वजहरुले योगीकुटीमा दुरदर्शि सोंचका साथ देवस्थल मन्दिर निर्माण गरेको उल्लेख गर्दै यसलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताए । पहिलोचरणमा कलात्मक प्यागोडा शैलीमा करिब ६० लाख रुपैयां लागतमा मन्दिर निर्माण गर्ने र दोस्रो चरणमा वहुउद्देश्यीय सभा हल लगायतका संरचना बनाउने बताए । मन्दिरलाई आकर्षक धार्मिक र पर्यटकीय स्थल बनाउन करिब २ करोड रुपैयांको गुरुयोजना समेत बनेको अध्यक्ष गुरुङले जानकारी दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपािलकाका उपप्रमुख सावित्रा अर्याल,बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, जग्गादाताको तर्फबाट इन्जिनियर नारायणबहादुर गुरुङ ,मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्मा न्यौपाने,सचिव कमल नेपाल लगायतले नयां मन्दिर बनाउन सबैको साथ चाहिने बताएका थिए ।
मन्दिरको करिब ९ कठ््ठा क्षेत्रफल जग्गा रहेको छ ।
मन्दिर बनाउन बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा ८ लाख रुपैयां दिएको छ ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिले बुटवलका मेयर,उपमेयर तथा बुटवल १०,११ र तिलोत्तमा वडा नं ३ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्