बुटवलमा ८ जना कार्यपालिका सदस्य चुनावमा एमाले शुन्य, गठबन्धनको दुई तिहाई वहुमत


appharu

१९ जेष्ठ २०७९, बिहीबार १८:०६ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकाको ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमाले क्लीनस्वीप भएको छ । बिहीबार ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले ८ वटै सिटमा जित निकालेको छ । निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुको पक्षमा ६८ र एमालेका ७ जना उम्मेदवारहरुको पक्षमा २९ र एकजनाको पक्षमा ३० मत आएको थियो । योसंगै बुटवल उपमहानगरको २९ सदस्यीय कार्यपालिकामा गठबन्धनको दुई तिहाई वहुमत पुगेको छ । कार्यपालिकामा गठबन्धनका २३ जना र एमालेका ६ जना सदस्य रहेका छन् ।
बिहीबार भएको निर्वाचनबाट महिला सदस्यहरुमा हेमा थामी मगर,निलम गौतम,बसन्ती बिक,राधा पौडेल र रिना भुसाल निर्वाचित भएका छन् । उनीहरु सबै नेपाली कांग्रेसका हुन् । दलित र अल्पसंख्यकतर्फ नेकपा एकीकृत समाजवादीका यमबहादुर सुनार,जनता समाजवादी पार्टीका सुनिता खड्लुक र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार निर्वाचित भएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए । १९ वटा वडा रहेको बुटवलमा नेपाली कांग्रेसले नगर प्रमुखसहित ११ वटा वडामा वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले उपप्रमुख सहित ५ वटा वडाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादी,माओवादी केन्द्र र स्वतन्त्रले एक–एक वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्