तिलोत्तमा,सैनामैना र सिद्धार्थनगरमा कांग्रेसबाट बेइमानी : माओवादी रुपन्देही, ‘हाम्रो भोटले आफू जित्यो,हामीलाई हरायो’


appharu

२० जेष्ठ २०७९, शुक्रबार ०९:२३ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देहीका स्थानीय तह चुनावमा कांग्रेससंग गठबन्धन गरेको माओवादी केन्द्रले निर्वाचनमा कांग्रेसले बेइमानी गरेको ठहर गरेको छ । रुपन्देहीका सैनामैना, तिलोत्तमा, देवदह र सिद्धार्थनगरमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा उम्मेदवारी दिएर गठबन्धन गरेका थिए । चार मध्ये देवदह वाहेक तीननवटै नगरपालिकामा मेयरमा कांग्रेस उम्मेदवार विजयी हुंदा माओवादी केन्द्रका उममेदवारहरु भारी मतान्तरले पराजित भएका छन् । देवदहमा भने गठबन्धनका उम्मेदवार मेयर र उपमेयर दुबै पदमा पराजित भएका छन् । यसलाई माओवादी केन्द्रले कांग्रेसको बेइमानी भनेको छ । माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले कांग्रेसले बेइमानी गर्दा उपमेयरमा माओवादीका उम्मेदवार पराजित भएको बताए । ‘हामीले गठबन्धनलाई जसरी पनि जिताउनुपर्छ भनेर पुरै इमान्दारिताका साथ लाग्यौं र हाम्रै भोटका कारण कांग्रेसले जित्यो’– जीसीले भने–‘तर कांग्रेस हाम्रा उम्मेदवार जिताउन इमान्दार बनेन र हामीलाई हरायो, बेइमानी ग¥यो ।’ तिलोत्तमामा कांग्रेसका रामकृष्ण खांण एमालेका मोहन चापागाई भन्दा ७६५ मतको अन्तरले मात्रै मेयरमा विजयी भएका छन् । तर उपमेयरमा एमालेकी जागेश्वरदेवी चौधरी भन्दा माओवादीका हेमन्त पाण्डे दोब्बर मत अन्तरले पराजित भएका छन् । सैनामैनाको मेयरमा कांग्रेसका फणेन्द्र शर्मा एमालेका चित्रबहादुर कार्की भन्दा ५८२ मतको अन्तरले विजयी भएका छन् । तर उपमेयरमा माओवादी केन्द्रका नारायण महत एमालेकी विना मगर भन्दा २ हजार ४२ मत कम पाएर पराजित भएका छन् । क्षमता र व्यक्तित्वका हिसाबले एमालेकी विना भन्दा महत धेरै अगाडि रहेको मतदाताहरुको भनाई छ । महतको प्रभावशाली र आक्रामक भाषणशैली र व्यक्तित्वकै कारण फणेन्द्रले जित्न सफल भएको विश्लेषण छ । तर कांग्रेस नेतृत्वले इमान्दारिता नदेखाउंदा महत पराजित भएको माओवादीको बुझाई छ । सिद्धार्थनगरमा कांग्रेसका इस्तियाक अहमद खान राप्रपाका सागरप्रताप राणा भन्दा ९९७ मत बढी पाएर मेयरमा निर्वाचित भएका छन् । इस्तियाकले ९१३४ मत पाउंदा उपमेयरमा माओवादी केन्द्रकी कमला थापाले ४५९६ मत मात्र पाएर तेस्रो स्थानमा रहिन् । यहां एमालेकी उमा अधिकारी उपमेयरमा निर्वाचित भइन् । गठबन्धन गरेमध्ये माओवादी केन्द्रबाट कन्चन गाउपालिका उपाध्यक्षमा रुख चिन्हबाट लडेकी मौसमी थापा मात्रै विजयी भएकी छन् । पार्टीभित्र रुपन्देहीमा भएको स्थानीय चुनावको नतिजाको निर्मम समीक्षा गरि आगामी कदम चालिने जिल्ला संयोजक जीसीले बताए । नेपाली कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले माओवादीसंगको गठबन्धनमा कांग्रेसले बेइमानी नगरेको बरु प्राविधिक कमजोरी भएको बताए । अलग अलग चुनाव चिन्हमा लड्दा धेरै मत बदर हुंदा प्राविधिक रुपले पराजित हुनुपरेको काफ्लेले बताए । सैनामैना र तिलोत्तमामा उपमेयरमा महिला उम्मेदवार दिन नसक्दा पनि हार ब्यहोर्नुपरेको उनको तर्क छ ।
यी तीन नगरपालिकामा मात्र होइन बुटवल उपमहानगरपालिकामा पनि ५ दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मेयरमा एमालेलाई ८ हजार मत अन्तरले हराउंदा उपमेयरमा भने एकीकृत समाजवादीका चिनबहादुर गुरुङ ८ हजार मत अन्तरले पराजित भएका छन् । बुटवलमा पनि कांग्रेस नेतृत्व र कार्यकर्ताले इमान्दारितासाथ भोट नदिएको एकीकृत समाजवादीका नेताको बुझाई छ । गठबन्धन नभएको भए बुटवल उपमहानगर र तीनवटै नगरपालिकामा कांग्रेसले जित्न नसक्ने एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष राजु गुरुङ बताउंछन् । ‘बुटवलमा पनि राष्ट्रव्यापी गठबन्धनको ह्वीम र कांग्रेस वाहेक चार दलका मतदाताको भोटले मेयर जितिएको हो’–गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्