बुटवल कार्यपालिकाको पहिलो निर्णय : बीपी र पुष्पलालको शालिक सहित संयुक्त पार्क बनाउने


appharu

२५ जेष्ठ २०७९, बुधबार १३:३१ मा प्रकाशित

पालिकापत्र,बुटवल । स्थानीय चुनावपछि गठित कार्यपालिकाको पहिलो कार्यपािलका वैठकले बुटवलमा वीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिकसहित संयुक्त पार्क बनाउने निर्णय गरेको छ ।

वैठकमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवल–११ को वडा कार्यालयको उत्तर तर्फ सार्वजनिक जग्गामा प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ता वीपी र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको एकैथलोमा पूर्णकदको शालिकसहित पार्क बनाउने प्रस्ताव राखेका थिए । पाण्डेयको प्रस्ताव सर्वसम्मतिले पारित भएको नगर प्रमुख पाण्डेयले बताए । पार्क बुटवल उपमहानगरपालिकाको वजेटबाट बन्ने छ ।

कार्यपालिकाको वैठकले विभिन्न विषयगत समितिका संयोजकहरु चयन गर्ने निर्णय गरेको छ । जसमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजकमा वडा नं ७ का अध्यक्ष पदम गाहा,आर्थिक विकास समिति संयोजकमा वडा नंं १२ का अध्यक्ष डिल्लिराज शर्मा,सामाजिक विकास समिति संयोजका वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ,भौतिक पुर्वाधार विकास समिति संयोजकमा वडा नं १३ का अध्यक्ष नारायण पुन र वातावरण तथा विपद समिति संयोजकमा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री चयन भएका छन् ।

यस्तै राजस्व परामर्श समिति सदस्यहरुमा वडा नंं ४ का अध्यक्ष नरिश्वर शर्मा र बसन्ती विक तथा जांचपास तथा फरफारक समिति संयोजकमा वडा नंं ५ का अध्यक्ष हरि श्रेष्ठ चयन भएका छन् । वैठकमा वडा अध्यक्षहरुले आफ्नो वडाका समस्या जानकारी गराएका थिए । जसमा ज्योतिनगर पहिरो,चौराहा–गोलपार्क सडक,फोहोर व्यवस्थापन लगायतका समस्या छिटो समाधान गर्नुपर्ने आवाज उठेको थियो ।

यस्तै वैठकले नगर सभा असार ८ गते गर्ने निर्णय गरेको छ । कार्यपालिकाको वैठकले उपमहानगर भित्र रहेका करिव १६ हजार भुमिहिन सुकुम्बासीहरुलाई बसोबासको निस्सा दिने निर्णय गरेको छ। नगर प्रमुख पाण्डेले उपमहानगरको नवनिर्मित प्रशासनिक भवनको सरसफाई पुरानो प्रविधिबाट असम्भव देखिएको भन्दै भवन सरसफाईका लागि टेण्डर प्रक्रियाबाट कार्य अगाडि बढाउने निर्णय भएको पनि जनाए । उनले आफ्नो प्रतिवद्धता अनुरुप ज्योतिनगरको पहिरो नियन्त्रणको काम सुरु भइसकेको बताउँदै पानीको बहाव सिद्धबाबा तर्फ फर्काउने काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्