कमल थापाले भने– पारस शाहको सति जानलाई राजतन्त्रको एजेण्डा बोक्न सकिएन


appharu

२६ जेष्ठ २०७९, बिहीबार १२:५० मा प्रकाशित

पालिकापत्र,बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले परम्परागत संसदीय व्यवस्था असफल सिद्ध भइसकेकाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् । राप्रपा नेपालले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा नजांदासम्म राजनीतिक स्थिरता हुन नसक्ने बताए । ‘सांसद किनबेच, ६–६ महिनामा सरकार फेरबदल भइरहने जस्ता विकृति विसंगति यही शासकीय प्रणालीका कारण बारम्बार दोहोरिएका छन्’–थापाले भने–‘मिश्रित निर्वाचन प्रणाली पनि असाध्यै महंगो भयो, वडा अध्यक्षको चुनाव लड्नै पचास लाखसम्म खर्च गर्नुपर्ने स्थिति छ’–थापाले भने–‘यी सबै विकृति अन्त्य गर्न शासकीय स्वरुप र निर्वाचन प्रणाली फेर्नुपर्छ ।’
अध्यक्ष थापाले नेपालमा राजतन्त्र पुन:स्थापना हुने सम्भावना समाप्त भएकाले आफ्नो पार्टीले राजतन्त्रको एजेण्डा छाडेको बताए । थापाले पारस शाहको सति जानलाई राजतन्त्रको एजेण्डा बोक्न नसकिने बताए । ‘पारस शाह जस्ता मान्छेको सति जानलाई राप्रपा नेपालले राजसंस्थाको एजेण्डा बोकिरहनुपर्ने ?’ – थापाले भने–‘पुर्व राजा, निर्मल निवास र पारस शाहका गतिविधिले नै राजतन्त्रलाई बोकेर हिंड्ने स्थिति भएन ।’ अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषयमा जनमत संग्रह हुनुपर्ने माग समेत गरे । वर्तमान संघीय स्वरुपलाई परिमार्जन गरेर केन्द्र र स्थानीय तह गरी दुई तह मात्रै कायम गर्नु पर्ने उनको तर्क छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्नका लागि आफू जहिले पनि तयार रहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्