बहुमत हुँदा हुँदै जिसस कपिलवस्तुमा सत्तारुढ दल हार्नुका यस्ता छन् कारण


appharu

२८ जेष्ठ २०७९, शनिबार १६:३६ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
सत्तारुढ दल भित्र बहुमत हुँदा हुँदै जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा नेकपा (एमाले) को गठबन्धनले बाजि मारेको छ ।

शुक्रबार सम्पन्न जिसस चुनावमा अनपेक्षित जित निकाल्दै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनले प्रमुख, उप–प्रमुखसहितका सदस्य पदमा जित निकाल्न सफल भएको हो ।

सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले जिससको चुनावमा तालमेल गरेका थिए ।

कांग्रेसले प्रमुख, जसपाले उप–प्रमुखसहित माओवादी केन्द्रलाई सदस्य दिएर चुनावी गठबन्धन गरेपनि उनीहरु बीच मन मिल्न नसक्दा एमालेसहितको गठबन्धनले मौकामा चौका उठाएको छ ।

१० स्थानीय तह रहेको जिल्लामा जिससमा २० मतदाता रहेका थिए । जसमा सत्तारुढ गठबन्धनको ११ मत थियो भने एमालेसहितको गठबन्धनमा ९ मत थियो ।

यद्यपि शुक्रबार सम्पन्न निर्वाचनमा फ्लोर क्रस हुँदा प्रमुख पदमा समान १०/१० मत पर्न गयो । समान मत हुँदा गोलाप्रथाद्धारा विजेता घोषणा गर्नुपर्ने कानुनी प्रावधान अनुसार एमालेको पोल्टामा जिसस प्रमुख पर्न गएको हो ।

गठबन्धन दल भित्रबाटै चोट पाएको कांग्रेसलाई गोलाप्रथाले पनि ठग्न पुग्दा यस्तो स्थिति बनेको हो । जिसस प्रमुखमा एमालेका बाबुराम आचार्य विजयी हुँदा कांग्रेसका ज्ञान बहादुर कार्की पराजित बन्न पुगे ।

उप–प्रमुखमा भने लोसपाका उम्मेद्वार रमेश कुर्मी विजयी भएका थिए । उनले जसपाका विरेन्द्र प्रताप गडेरियालाई पराजित गर्न पुगे । चुनाव जितेका कुर्मीले यहाँप्रष्ट बहुमत पाएका थिए । यहाँ पनि गठबन्धनबाट जसपालाई घात भयो ।

मत संख्या बढी हुँदा हुँदै सत्तारुढ गठबन्धन कसरी हा¥यो यसको विभिन्न कोणबाट टिकाटिप्पणी उठ्न थालेको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे दर्जनौं सामुहिक तथा एक्ला एक्लै भएका वार्ता विफल भएको कपिलवस्तुमा जिससको चुनावमा त्यहीँ कारण परिणाम यस्तो आएको कतिपयको आकलन छ ।

कांग्रेसले एक्लै चुनाव जितेर देखाउँने घमण्ड गरेको कारण जिल्लामा गठबन्धन हुन नसकेको इतर दलका नेताहरुको गुनासो थियो ।

यद्यपि एक्ला एक्लै चुनावमा होमिदा पनि जिल्लामा जसपाले कपिलवस्तु नगरपालिकाको प्रमुख, उप–प्रमुख र माओवादी केन्द्रले शुद्धोधन गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भयो । यी तीन वटै पद कांग्रेसबाट जसपा र माओवादीले खोसेका हुन् ।

गएको ०७४ सालको निर्वाचनमा यी क्षेत्रमा कांग्रेस उम्मेद्वार विजयी भएका थिए ।

केन्द्रीय निती अनुसार जिससमा पनि मिलेर चुनाव लड्नुपर्ने बाध्यता कांग्रेस, माओवादी र जसपालाई कपिलवस्तुमा थियो ।

त्यसैको दबाब स्वरुप गठबन्धन भए पनि मन मिल्न नसक्दा नतिजा ठीक उल्टो आएको धेरैको बुझाई छ ।

गठबन्धन दल बीचकै अन्तर्घातका कारण नतिजा उल्टो आएको कांग्रेस नेताहरु बताउँछन् ।

‘पार्टी भित्र जिसस प्रमुखको टिकट वितरणमा देखिएको असन्तुष्टि र गठबन्धन दलभित्रबाटै भएको अन्तर्घातका कारण हामी चुनाव हारेका हौं, एक कांग्रेस नेताले पालिकापत्रसंग भने,’ ‘चुनाव हारियो त हारियो, अहिले टाउको छोपेर केहीँ हुँदैन् ।’

प्रतिक्रिया दिनुहोस्