जिसस चुनावलाई लिएर कांग्रेस नवलपरासी पश्चिममा आरोप–प्रत्यारोप,आरोप प्रमाणित गर्न कंडेल र कलवारको चुनौति


appharu

३ असार २०७९, शुक्रबार ११:४४ मा प्रकाशित

पालिकापत्र,बुटवल । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस नवलपरासी पश्चिममा आरोप–प्रत्यारोप शुरु भएको छ । जिसस सभापतिका उम्मेदवार बालिन्द्रविक्रम शाहीले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी दिएपछि कंडेल र जैसवालले आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । शाहीले अन्तरघात भएका कारण हार ब्यहोर्नु परेको दाबी गर्दै दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका छन् । शाहीको उजुरीपछि कंडेल र कलवारले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको निर्देशनमा मत बदर गराइएको भन्ने आरोप कपोलकल्पीत र भ्रामक रहेको दावी गर्दै आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । पाल्हीनन्दन गाउंपालिका कार्यपालिका चुनावमा माओवादी केन्द्रबाट धोका भएको उल्लेख गर्दै विज्ञप्तिमा जिसस चुनावमा पनि माओवादीबाट सहयोग भएकोमा शंका गरिएको छ । जिसस चुनावका सन्दर्भमा आफूहरुसंग जिल्ला पार्टी नेतृत्वले कुनै छलफल परामर्श समेत नगरी माओवादीसंग गठबन्धन गरेको सञ्चारमाध्यमबाट थाहा पाएको विज्ञप्तिमा उल्लेख छ ।
सात स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने आठ मत पु¥याएको कांग्रेसका उमेदवार शाही एक मतले पराजित भएका हुन् । प्रमुख बाहेक गठबन्धनका अन्य सबै उमेदवारले जितेका छन् ।
यता पाँच मत रहेको एमालेले एक मत रहेको राप्रपासँग गठबन्धन गरेको थियो । चुनावमा एमालेका प्रमुख पदका उमेदवारले सात मत ल्याएर विजयी भएका थिए । पराजित शाहीको ६ मत थियो । चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो । अर्को एक मतमा अन्य पदमा कांग्रेस–माओवादी गठबन्धनका उमेदवारलाई भोट दिएपनि प्रमुख र उपप्रमुखमा सूर्य चिन्हमा दिइएको थियो ।
अनुशासन समितिका जिल्ला संयोजक एंव पार्टी जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाएको उजुरी पत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्रका दुई जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित भएको दाबी गरिएको छ । नेता कँडेल र कलवारकै निर्देशनमा आफ्नै जनप्रतिनिधि मतदातालाई एमाले गठबन्धनका उमेदवारलाई भोट दिन लगाएकोले उनीहरुमाथि छानविनसहित कारबाही गर्न माग गरिएको हो ।
जिल्लामा रहेका कांग्रेसका दुई गुटका कारण हरेक पटक विवाद हुँदै आएको छ । एउटा गुट केन्द्रीय सदस्य कँडेलको छ भने अर्को गुट कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एंव संविधान सभा सदस्य विक्रम खनालको छ । स्थानीय निर्वाचनमा पनि कांग्रेसको वर्चस्व भएका पालिकामा गुटकै कारण हार व्यहोर्नु परेको जिल्लामा चर्चा छ ।
पछिल्लो पटक भएको जिसस चुनावमा पनि गुटकै कारण कांग्रेसले हारेको हो । जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उमेदवार बनाउन चाहेका थिए । तर खनाल गुटका उमेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै कांग्रेसकै मतदातामाथि निगरानी बढाउन थालिएको थियो । गुटकै कारण हार व्यहोर्नु परेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्धय कँडेल र कलवारप्रति आक्रोशित छन् ।

अल्पमतको एमाले विजयी

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको निर्वाचनमा अल्पमतमा रहेका नेकपा एमालेका उम्मेद्धारले प्रमुखमा जित हात पारेका छन् । नेपाली काग्रेस र माओवादीको गठबन्धनका उम्मेद्धार बालिन्द्र विक्रम शाहिलाई एक मत अन्तरले हराउदै एमालेका भगौति यादव रुदलले जित हात पार्नुभएको हो । यादवले ७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी शाहिले ६ मत पाउनुभएको छ । प्रमुख पदमा मात्र एक मत भने बदर भएको छ । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका राम दयाल तेलीले ७ मत प्राप्त गर्नुभएको छ । एमालेकि कुन्ति कुमारी चौधरी ६ मत प्राप्त गर्दे पराजित हुनुभएको छ ।

७ पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । भने एमालेले राप्रपासँग गठबन्धन गरेको थियो । गठबन्धनका आधारमा कांग्रेस–माओवादी केन्द्रको बहुमत संख्या ८ पुगेपनि एमालेका उमेदवारले प्रमुख पदमा जित हात पारेपछि नेपाली काग्रेस भित्र तरंग सृजना भएको छ । प्रमुख बाहेक सबै पदमा काग्रेस र राप्रपाका उम्मेद्धार विजयी भएका छन् । दलित वा अल्पसंख्यक मा राप्रपाकी लवाङदी देवी हरिजन विजयी भएकी छन् ।

महिला सदस्यमा राप्रपाकी शोभा चौधरी, नेपाली कांग्रेसकी शारदा परियार र कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन् । कांग्रेसको चुनाव चिन्हबाट उमेदवार बनेकी कार्की भने माओवादी केन्द्रकी हुन् । ९ सदस्यीय जिससको अन्य सदस्य पदमा नेपाली कांग्रेसको चुनाव चिन्हबाट उमेदवार बनेका धनिराम चौधरी विजयी भएका छन् । चौधरी माओवादी केन्द्रका हुन् । त्यस्तै राप्रपाका मकबुल मिया, र नेपाली कांग्रेसका यमबहादुर दर्लामी मगर अन्य सदस्यबाट विजयी भएका छन् ।

कांग्रेसमा आरोप–प्रत्यारोप शुरु

प्रतिक्रिया दिनुहोस्