रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी,चुनाव चिन्ह घन्टी


appharu

७ असार २०७९, मंगलवार १४:०२ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा आएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । पार्टीको चुनाव चिन्ह घन्टी रहेको र आजै निर्वाचन आयोगमा दर्ता गर्ने लामिछानेले बताए ।

उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।
उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।

यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उनले बताए । उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए ।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए ।

लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्