बुटवल मण्डपको नाम गिरिजा मण्डप राख्ने प्रस्तावको चौतर्फी आलोचना,एमाले कार्यकर्ताले भने – बुटवलमा एमाले ढलेको छैन


appharu

९ असार २०७९, बिहीबार १०:५१ मा प्रकाशित

पालिकापत्र,बुटवल । पांच दलीय गठबन्धनबाट मेयरमा निर्वाचित कांग्रेस नगर सभापति समेत रहेका खेलराज पाण्डेयले बुटवलको नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला मण्डप राख्ने प्रस्ताव गरेपछि यसको चौतर्फी आलोचना शुरु भएको छ ।

उपमहानगरको बुधबार बसेको एघारौ. अधिवेशनमा मेयर खेलराज पाण्डेयले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोइराला मण्डप राख्न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावप्रति नगर सभा वैठकमै एमालेका जनप्रतिनिधिले असहमति जाहेर गरेका थिए । वडा नंं ११ का वडा सदस्य नकुल शाही ठकुरीले वहुमतका आधारमा यस्तो प्रस्ताव पारित गरिए सैह्य नहुने र स्वीकार गर्न नसकिने बताएका थिए ।

एमाले मात्र होइन, स्वयं कांग्रेसकै सक्रिय कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत यो प्रस्तावको विरोध गरेका छन् । कांग्रेसका सक्रिय कार्यकर्ता हरि क्षेत्रीले बुटवल मण्डपको नामकरण नेताको नामबाट भन्दा स्थानिय संकृति, सम्पदा वा ऐतिहासिक पहिचान बाट राख्दा राम्रो हुन्छ भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसकै कार्यकर्ता कृष्ण नेपालले बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव निन्दनीय भएको बताएका छन् । उनले लेखेका छन् –बुटवल मण्डपको नाम परिबर्तन गर्नु निन्दनिय कार्य हो ।यो गलत छ ।कुनै नेता बिषेशको नाम कहि कतै नजोडियोस । यदि राख्नु नै छ भने ४ जना सहिदको नाममा राखियोस ।

एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले बुटवल मण्डपको नाम फेर्ने प्रस्तावको विरोध गर्दै नगर प्रमुख खेलराज पाण्डेयलाई काम गरेर बिकास निर्माण र समृद्धिले जनताको अवस्था बदल्न लाग्न सुझाव दिएका छन् । उनले लेखेका छन् – तर पण्डितले झै नाम फेर्न लाग्दा तिम्रो न्वारान पनि अर्कै पण्डितले गरिदेला र अस्तित्वको संकट पर्ला, सानो सुझाव प्रिय मित्र खेलराज पाण्डेय ।

पत्रकार डीआर घिमिरेले गिरिजा प्रसादको नाममा कुनै पार्क वा सडकको नाम राख्न सकिएला तर बुटवल मण्डपको राख्न नसकिने बताएका छन् ।
घिमिरेले बुटवल मण्डपको नाम धेरै सोंचविचार गरेरै राखिएको स्मरण गर्दै नाम फेरेर विवाद र मनमुटाव सिर्जना नगर्न सुझाएका छन् । मेयर पाण्डेयको प्रस्तावले उनको कथनी र करीनमा भिन्नता देखिएको घिमिरेले उल्लेख गरेका छन् । उनको भनाई यस्तो छ – बुटवल उपमहानगरपािलकाका प्रमुख खेलराज पाण्डेले बारम्वार यो कुरा भन्थे : मैले पक्ष प्रतिपक्ष सवैलाई संगै राखेर महत्वपूर्ण निर्णय लिन्छु । उहाँहरूलाई एउटा वैठक कक्ष वनाउँछु । सल्लाहमा काम गर्छु ।तर, कसैलाई सोधापुक्षी नै नगरी बुटवल मण्डपको नाम परिवर्तन गर्ने प्रस्ताव राखेछन् ।बुटवल मण्डपको जग्गा लिन जाँदा म नेपाल पत्रकार महासंघ रूपन्देहीको अध्यक्षका हैसियतले संगै थिएँ । नामाकरण त्यतिवेलै गरिएको हो । धेरै सोंचविचार गरेरै नाम राखिएको थियो । नामले भाव बोकेको हन्छ । सकेसम्म भावलाई समेट्ने प्रयत्न भएको हो । जे प्रयोजन हो, तदनुसारको नाम राख्दा राम्रो हुन्छ । गिरिजा प्रसादको नाममा कुनै पार्क वा सडक राख्न सकिएला तर प्रारम्भनै त्यहीँबाट गर्नुपर्छ । त्यसैले मेरो प्रस्ताब छ, नयाँ योजनालाई नामाकरण गरेर काम शुरू गरौ । भईरहेका वा प्रस्तावमा आई सकेका कुनैपनि नाम वा काममा मनमुटाव ल्याउने काम विल्कुल नगरौ । यसले राजनीतिक सस्कार वसाल्दैन । सहकार्यको वातावरण बनाउँदैन । त्यति मात्र हैन भोलि अर्को कुनै शक्ति सत्तामा आउँदा प्रतिशोध साँध्न सक्छ । गिरिजा प्रसाद कोईरालाजस्तो नायकलाइ यसरी विवादमा नपारौं ।

राप्रपा लुम्बिनी अध्यक्ष प्रदीपकुमार उदयले बुटवल मण्डपको नामाकरण काँग्रेसजनकै नाममा गर्नु पर्ने भए स्वर्गीय सुर्य प्रसाद प्रधानको नाममा गरे उचित हुने बताएका छन् । उनले फसबुकमा लेखेका छन् – “बुटवल मण्ड्पको नामाकरण स्व।गिरिजा प्रसाद कोइरालाको नाममा गर्ने भन्ने जानकारीमा आयो । बुटवल मण्ड्प स्थानीय तहको हो । यदि काँग्रेसजनकै नाममा नामाकरण नै गर्नु पर्ने भए स्थानीय स्व सुर्य प्रसाद प्रधानको नाममा नामाकरण गरे उचित हुने थियो । बुटवलमा‌ वहाँको धेरै योगदान छ ‌। स्व गिरिजा प्रसाद कोइरालाको नाममा नामाकरण गर्न धेरै राष्ट्रिय गौरवको योजनाहरु छन् ।’

बुटवल १३ का एमाले नेता शोभाखर पोखरेलले पनि बुटवल मण्डपको नाम फेर्ने प्रस्तावको प्रतिवाद गर्दै फेसबुकमा लेखेका छन् – बुटवलमा नेकपा एमाले ढलेको छैन । प्रविधिक कारणले चुनाव हारेको मात्र हो । चेतना भया मेयर साप ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश महासचिव जेपी कंडेलले बुटवल मण्डप कसैको पेवा होइन, बुटवलका सबै व्यवसायिक संघ संस्थाको गौरवको विषय हो भन्दै जनप्रतिनिधिलाई जथाभावी विवादित नहुन सुझाव दिएका छन् । उनले चौबिसै घण्टा रात हुंदैन चेतना होस भन्दै तीब्र बुटवल मण्डपको नाम फेर्ने प्रस्तावप्रति तीब्र असहमति जनाएका छन् ।

रुपन्देही उद्योग संघका सीईओ यादव भण्डारीले बुटवलमा पहिलोपटक रुपन्देही उद्योग संघले प्रदर्शनी आयोजना गरेको हुंदा उद्योग संघ मण्डप राख्ने पो हो कि भनेर ब्यङग्य गरेका छन् । उनले सामाजिक सजलमा लेखेका छन् –सबै अग्रज नेतृत्व प्रति सम्मान छ । तर कसको पालामा जग्गा पायो कसको पालामा बजेट आयो नाम राख्दै जाने हो भने ऐतिहासिक धरोहर र बिकास निर्माणमा नाम राख्ने होडबाजी चल्नेछ । कामको भन्दा नामको पछाडी लाग्ने प्रवृती हाबी हुने पो हो कि ? बुटवल मण्डपमा पहिलो राष्ट्रीय औद्योगिक प्रदर्शनी ईतिहास राख्ने संस्थाको नाम पो राख्ने कि ?

रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहराले बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव गलत भन्दै महाराजा प्रवृत्ति भनेर टिप्पणी गरेका छन् ।

तिलोत्तमाका रोशन कंडेलले पनि बुटवल मण्डपको नाम फेर्ने प्रस्तावमा असहमति जनाउंदै यस्तो लेखेका छन् –१० लाख दिएर सस्थाको सारा इतिहास मेटाएर बाउको नाम लेखाउन सक्ने देशमा गिरिजाको नाम आउनु कुनै ठुलो कुरा होईन तर जनताको सेन्टिमेन्टलाई सम्बोधन गर्न सकिएन भने गाह्रो हुन सक्छ ।

बुटवलका ऋषिराम ज्ञवालीले बुटवल उपमहानगरपालिकाकै नाम गिरिजा प्रसाद कोइराला उपमहानगर राखौं भनेर ब्यङ्ग्य गरेका छन् ।
बुटवलकै दिनेश आचार्यले ब्यक्तिका पुजारी हुनु राम्रो होइन , ऐतिहासिक नाम राख्दा राम्रो होला, बुटवल मण्डप नै सबै भन्दा राम्रो छ भनेका छन् ।

तर कांग्रेस निकट प्राध्यापक नुरजंग केसीले भने बुटवल मण्डपको नाम गिरिजा मण्डप बनाउने मेयर पाण्डेयको प्रस्तावको बचाउ गरेका छन् । उनले महेन्द्र पार्कलाई पुष्पलाल पार्क, हिलपार्क जाने गेटमा जिबराज पार्क, मदन भण्डारी लोकमार्ग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका आफ्नो नेताको नामा नामाकरण गर्दा मुखमा बुझो लगाउनेहरु लोकतन्त्र र शान्ति स्थापनाका लागि नेतृत्व गर्नुभएका, प्रधानमन्त्री हुँदा बुटवल मण्डपको स्विकृती दिइ कपाउण्ड वाल लगाउन रकम उपलब्ध गराउने पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको योगदानको स्मरणमा बुटवल मण्डपको अगाडि जिपी कोइराला थपेर नामाकरण गर्न प्रस्ताव गर्दा विरोध गर्नु हतास मनस्थिति भन्दै सम्हालिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्