बुटवलका नगर प्रमुख पाण्डेलाई रोटरीको मानार्थ सदस्यता


appharu

१० असार २०७९, शुक्रबार ०८:१६ मा प्रकाशित

पालिकापत्र,बुटवल । रोटरी क्लव अफ बुटवलको १४२० औं नियमित बैठक एवं धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले आफूले नेतृत्व गरेको वर्ष २०२१÷२२ को अन्तिम दिनको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका हुन् । धन्यवाद ज्ञापनसँगै अध्यक्ष उपाध्यायको कार्यकाल सकिएको छ ।
कार्यक्रमका अवसरमा रोटरी क्लव अफ बुटवलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई क्लवको मानार्थ सदस्यता प्रदान गरेको छ । बुटवलका नगर प्रमुख मानार्थ सदस्य बन्ने व्यवस्था अनुसार क्लवले मेयर पाण्डेलाई मानार्थ सदस्यताको पिन लगाइदिएर रोटरीमा स्वागत गरेको हो ।
कार्यक्रमको उदघाटन गर्दै उपमहानगरका प्रमुख पाण्डेले रोटरी जस्तो सामाजिक संस्थामा जोडिन पाउँदा खुशी लागेको बताए । उनले बुटवल उपमहानगरले अहिले नगरको विकासका लागि विभिन्न योजना तर्जुमा गरिरहेको भन्दै नगरले अगाडि बढाउने योजना तथा कार्यक्रममा सक्रिय सहभागिता जनाएर सहयोग गर्न पनि रोटरीयनहरुलाई आग्रह गरे ।
उनले सबैको साथ र सहयोगले मात्रै नगरको विकासमा महत्वपूर्ण सफलता हासिल गर्न सकिने भन्दे नगर प्रमुख एक्लैले केह ीगर्न नसक्ने बताए ।
रोटरी इन्टरनेशनल डिष्ट्रिय ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्रप्रसाद ध्वजूले रोटरीप्रतिको आकर्षण बढाउने गरी क्लवले आगामी कार्ययोजना निर्माण गर्नुपर्ने बताए ।
क्लवका एसिष्टेन्ट गभर्नर राजेन्द्र कार्कीले क्लवले गरेका सामाजिक कार्यहरुले यसको प्रतिष्ठा सधै उचो हुने गरेको भन्दै सामाजिक काममा सबैलाई साथमा लिएर अगाडि बढे सफलता हासिल गर्न सकिने बताए ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, सचिव खिमनारायण पराजुली, रोम शर्मालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै रोटरीको नेतृत्व आफ्ना लागि अविस्मरणीय बन्न पुगेको बताए । कार्यक्रममा क्लवका बोर्ड सदस्य र सहयोग गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्