बुटवल मण्डपको नाम लखन थापा मण्डप राख्न जनमुक्तिको माग


appharu

१७ असार २०७९, शुक्रबार ०७:३४ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगर का मेयर खेलराज पाण्डेयले यही असार ८ गतेको नगर सभा मार्फत बुटवल १० रामनगर स्थित बुटवल मण्डपको नाम परिवर्तन गरी गिरिजा प्रसाद कोईराला बुटवल मण्डप नामाकरण गर्न प्रस्ताव गरेको बिषय प्रति राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगर समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका तर्फबाट बुटवल नगर अध्यक्ष भेकबहादुर थापा र सचिव खिमा थापाले मेयर पाण्डेयलाई एक ज्ञापनपत्र बुझाउंदै हालसम्म साझा सहमतिको रुपमा कायम भएको बुटवल मण्डपको नाम सर्वदलिय तथा सर्वपक्षिय छलफल तथा सहमति बेगर हठात, बलजफ्ती र एकाङ्गी ढंगबाट परिवर्तन गर्न खोजिनु हुँदैन र पाईदैन भन्ने पार्टीको प्रष्ट अडान रहेको जानकारी गराएको छ । जनमुक्तिले सर्वदलिय, सर्वपक्षिय एवं जनस्तरमा पनि सर्वस्वीकार्य बनिसकेको बुटवल मण्डपको नामलाई गिजोल्ने, बिथोल्ने कार्य नगर्न र बुटवल मण्डप नै कायम राख्न माग गरेको छ । यदी उपमहानगर पालिकाले बुटवल मण्डपको नाम कुनै ऐतिहासिक ब्यक्तित्वलाई समर्पण गर्न चाहेको हो भने बुटवल मण्डपको नामाकरण प्रथम शहीद लखन थापाको सम्मानमा प्रथम शहीद लखन थापा बुटवल मण्डप नामाकरण गर्न जनमुक्तिले माग गरेको छ । राज्यले बि स २०७२ असोज ३ गते लखन थापालाई प्रथम शहीद घोषणा गरेता पनि उहाँको सम्मानमा यस्ता राष्ट्रिय स्तरका आयोजनाहरुको नामाकरण नभएकोले यस कार्यको शुरुवात बुटवल उपमहानगर पालिकाले गरोस भन्दै ज्ञापनपत्रमा गम्भिर ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्