तिलोत्तमालाई युवामैत्री पालिका बनाउंछौं : मेयर खांण


appharu

१७ असार २०७९, शुक्रबार १७:२८ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह बनाउने अभियानको शुरुवात गरिएको छ । राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपी र युनिसेफ नेपालले नगरपालिकासँग साझेदारी गरेर युवा तथा किशोर किशोरीमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम मार्फत अभियानको शुरुवात गरिएको हो ।

७ सय ५३ वटा स्थानीय तहमध्ये अहिले नमूनाका रुपमा सात प्रदेशक एक–एक स्थानीय तह छनौट गरि युवामैत्री स्थानीय शासन कार्यक्रम लागू गर्न खोजिएको छ । शुक्रबार तिलोत्तमा नगरपालिकामा नगरप्रमुख रामकृष्ण खाँणले अभियानको शुरुवात गरेका छन ।

जनप्रतिनिधि, सरोकारवालाहरुको सहभागितामा युवा तथा किशोर किशोरीमैत्री स्थानीय शासन सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमालाई युवामैत्री स्थानीय शासन प्रवद्र्धन नगर बनाउने पहिलो चरणको काम शुरु भएको हो । उक्त अवसरमा बोल्दै नगरप्रमुख खाँणले युवाहरुलाई रोजगारी सृजना गर्ने, शिक्षित र सचेत बनाउने गरि नीति कार्यक्रम र बजेट ल्याइएको बताए । उनले विदेशको ज्ञान, तिलोत्तमाको माटोमा योगदान भन्ने कार्यक्रम अघि सारिएको बताए ।

उनले तिलोत्तमा नगरपालिकाले युवामैत्री स्थानीय शासनका लागि अपनाउनुपर्ने र गर्नुपर्ने कामहरु गर्दै जाने तर, दीगो रुपमा काम गर्ने बताए । त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमा नगरपालिकाले युवाहरुको सवालमा थुप्रै काम गर्नुपर्ने बताउँदै स्थानीय सरकारलाई युवामैत्री बनाउन आफूहरुले काम गर्ने बताईन ।

उक्त अवसरमा अभियानकर्मी अधिवक्ता विष्णु खत्री, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका सभापती रवि सेन्चुरी, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तमा पौडेल लगायतले बोल्दै तिलोत्तमाले युवामैत्री स्थानीय शासन नगर बनाउनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय युवा परिषदले युवा विकासका लागि दीर्घकालिन रणनीति युथ भिजन बनाएको छ । दश बर्षे रणनीतिक योजना र कार्यक्रममा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्जनलाई आधारस्तम्भ बनाएको छ । शुक्रबारदेखि शुरु भएको युवा तथा किशोर किशोरीमैत्री स्थानीय शासन सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम आईतबार समापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्