कलश सहकारीको अध्यक्षमा धिरज मल्लिक


appharu

१८ असार २०७९, शनिबार १३:१९ मा प्रकाशित

पालिकापत्र,बुटवल । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले धिरज कुमार मल्लिकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा विनिता गुप्ता, सचिवमा दुर्गा प्रकाश गुप्ता र कोषाध्यक्षमा गिरिशचन्द्र त्रिपाठी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुदीश महासेठ, सन्तोष शुक्ला र कृष्ण प्रसाद अर्याल रहेको निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिकले बताए । त्यस्तै लेखा समिति संयोजकमा आशिष कर्ण, सदस्यमा दीपक कुमार मल्लिक, शिक्षा समितिको संयोजकमा मनोज कुमार अग्रहरी, सदस्यमा मोहम्मद बसीर मुसलमान, ऋण समितिको सदस्यमा विजय कुमार पाण्डे र राकेश कर्ण निर्वाचित हुुनुभएको मल्लिकले जानकारी दिए ।

साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले अर्थतन्त्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढे मात्र मुलुक समृद्ध हुन सक्ने बताए । पूर्वमन्त्री पाण्डेयले संस्थामा नेतृत्व गर्ने व्यक्तिले राम्रो गरे मात्र संस्था अगाडि बढ्न सक्ने बताए । उनले भने, ‘सहकारी संस्था धेरै अगाडि बढेको छ, व्यवस्थित ढंगले सञ्चालन गर्न सक्यौ भने अगाडि बढ्छ ।’

त्यस्तै सिद्धार्थनगर नगरपालिका सहकारी शाखाका बसन्त घिमिरेले सहकारीको मर्म बुझेर अघि बढ्नुपर्ने बताए । उनले केही सहकारीहरुले ऋण लगानी गर्ने तर जनजीवनमा परिवर्तन नआउने देखिएकाले परिवर्तन आउने गरी ऋण लगानी गर्नुपर्ने बताए ।

लेखापरीक्षक लक्ष्मण पौडेलले सहकारीमा अनिवार्य मासिक बचतलाई प्राथमिकता दिनुपर्ने बताए । उनले मासिक बचत नगर्ने व्यक्ति शेयर सदस्य बन्न नहुने बताए ।

सहकारीका सल्लाहकार अजय कुमार गुप्ताले संस्थामा सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले संस्था नाफामा जाने गरी अगाडि बढ्नुपर्ने बताए । सहकारीका अध्यक्ष अब्दुल रसीद पठानको अध्यक्षता, व्यवस्थापक सावित्री रानाको स्वागत तथा सचिव धिरज कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अब्दुल रसीद पठानले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विनित बेरिवालले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सन्तोष शुक्लाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०६४ सालमा स्थापना भएको श्री कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल ३०३ जना शेयर सदस्य रहेका छन् ।

पत्रकार गुप्तासहित संस्थाका कर्मचारी सम्मानित

साधारणसभाको अवसर पारेर संस्थाका प्रेस सल्लाहकार समेत रहेका गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिकका सह–सम्पादक रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका छन् । उनलाई सहकारीले नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो । कार्यक्रममा संस्थाकी व्यवस्थापक सावित्री राना, वरिष्ठ सहायक शोभा मिश्रा, बजार प्रतिनिधि खिर कुमारी क्षेत्री, सेफाली गुरुङ, लक्ष्मी वि.के. र कार्यालय सहायक अभिषेक गुप्तालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्