माओवादी र एकीकृत समाजवादी चुनाव अघि नै मिल्ने ?


appharu

२० असार २०७९, सोमबार १४:३२ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् ।

पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता सम्भव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’, श्रेष्ठले भने ।

छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको निष्कर्ष निकालेका थिए । ‘अहिले राष्ट्रियता धरापमा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ,’ बैठकको निष्कर्ष सुनाउँदै श्रेष्ठले भने,‘त्यसो गर्दा वामपन्थी शक्तिहरुले एकता, ध्रुवीकरण र मोर्चाबन्दीको प्रक्रिया अघि बढाउनुपर्छ र त्यो बढाउने हो भने तत्काल कमसेकम एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता गर्ने प्रक्रिया अघि बढाऔं र त्यसपछि अरुलाई आह्वान गरौं भन्ने निचोडमा पुगेका छौं ।’ उनका अनुसार यो चुनावमा वाम एकता सम्भव नभए वाम तालमेलको अवस्थासम्म पुर्‍याउनुपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनलाई कसरी अघि बढाउन चाहन्छ भन्नेबारेमा पहिल्यै निर्क्योल गर्नुपर्नेमा एकमत छन् । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भनेर नेपाली कांग्रेसले अन्तिममा केही ठाउँमा मात्रै गठबन्धन गरेको र त्यसले आफूहरुलाई घाटा पुगेको नेताहरुको निष्कर्ष छ ।

यद्यपि उनीहरुले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन या एकता दुबै नहुने निचोड निकालेका छन् । ‘एमालेसँग चुनावअघि नै तालमेल हुने संभावना छैन, ऊ आत्माआलोचित भएको छैन, निर्वाचनको सन्दर्भमा पनि सही ढंगले तालमेलमा जान्छ भन्ने देखिएको छैन,’ बैठकको निष्कर्षबारे श्रेष्ठले भने ।

यसअघि आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको संभावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुबीचको एकताको संभावनाबारे प्रतिवेदनमा उल्लेख गरेका छन्, तर विस्तृतमा व्याख्या गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले समेत अहिले एमालेसँग चुनावी तालमेलको संभावना नरहेको बताइसकेको छ । स्थानीय तह निर्वाचनमा अन्तिम अवस्थामा गठबन्धन हुँदा त्यसको परिणाम राम्रो नआएको भन्दै कांग्रेससँग पनि भर गर्न नसकिने यी पार्टीका नेताहरुले बताइरहेका छन् ।
( विनु सुवेदीको बाइलाइनमा छापिएको यो खबर अनलाइनखबरबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्