गिरिजालाई प्रधानमन्त्री मैले बनाएको हो : माधव नेपाल


appharu

२५ असार २०७९, शनिबार १४:०७ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएको बताएका छन् ।
समाजवादी प्रेस संगठनले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले गिरिजाप्रसादले पनि आफूलाई २०६६ सालमा प्रधानमन्त्री बनाएको बताए ।
‘जनआन्दोलनपछि म प्रधानमन्त्री हुने सहमति थियो । तर, मैले उहाँलाई बनाएँ । त्यसको गुन उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो’, नेपालले भने, ‘उहाँमा राजनीतिक इमानदारी थियो ।’

उनले पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा त्यो निरन्तर रहने जनाए । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको तर आफूहरुमाथि षड्यन्त्र भएको समेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं । गठबन्धन माध्यम थियो । निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए । हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्